विश्वकप क्रिकेट : भारतले रोक्न सक्ला अस्ट्रेलियाको विजयी यात्रा ?

 जेठ २६, २०७६ आइतबार ८:३७:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतियोगितामा विजयी सुरुवात गरेका दुवै टोली भारत र अष्ट्रेलिया आइतबार सुरुवाती चरणको अग्रताका लागि आँखा लगाइरहेका छन् । विश्वकपको १४ औं खेल द ओभलमा नेपाली समय अनुसार दिउँसो सवा ३ बजेदेखि खेल सुरु हुनेछ । 

अष्ट्रेलियाली टोली विश्व क्रिकेटमा आक्रामक छबिका लागि चिनिन्छ । उसले वेष्ट इण्डिजविरुद्ध बिहीबार भएको खेलमा पनि यस्तै पुनरागमनसहितको सानदार प्रदर्शन गर्न सफल भयो । 

नाथान कल्टर नाइल, जसको एकदिवशीय औषत बिहीबार अघिसम्म १२.८३ थियो, उनले ६० बलमा ९२ रनको विष्फोटक पारी खेलेपछि ३८/४ को दयनीय स्थितिमा रहेको अष्ट्रेलियाले एकाएक सुरक्षित अवस्थामा पुगेको थियो । उनीसँगै स्टिभ स्मिथ र एलेक्स क्यारीले पनि उल्लेख्य योगदान गरेका थिए ।

त्यसपछि विश्वकपको गएको संस्करणका उत्कृष्ट खेलाडी मिचेल स्टार्कले ५ विकेटका साथ डटेर जवाफी ब्याटिङ गरेको वेष्ट इण्डिज धरापमा परेको थियो । अष्ट्रेलियाले त्यस खेलमा १५ रनको जित निकालेको हो ।

अब अष्ट्रेलिया त्यस्तो प्रतिस्पर्धीसँग आमने सामने हुँदैछ जसले यसै वर्षको सुरुवातमा सानदार एकदिवशीय श्रृंखला पूरा गरेको थियो । बल टेम्परिङ प्रकरणपछि अष्ट्रेलियाको पुनरागमन सिरिज थियो त्यो ।

यता भारत पहिलो खेलमा दक्षिण अफ्रिकाविरुद्ध सहज जित हासिल गरेपछि अधिक आत्मविश्वासी देखिन्छ । दक्षिण अफ्रिकाका ५ ब्याट्सम्यानलाई पेविलियन पठाएका कुलदीप यादव र युजवेन्द्र चहल नै आइतबार अष्ट्रेलियाविरुद्ध निर्णायक बन्न सक्नेछन् । रोहित शर्माले एकल प्रयासमा भारतीय टिमले ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेको थियो ।

तर, आइतबार चौथो नम्बरका केएल राहुलको प्रदर्शन टिमको ब्यवस्थापनका लागि अहम् हुनेछ । 

मध्याह्नकोे समयमा ओभलको मौसम बदली हुने अनुमान गरिएको छ । यस प्रतियोगितामा अहिलेसम्म दोस्रो ब्याटिङ सफल भएको छैन । सुख्खा पिच र फराकिलो आउटफिल्डका कारण फास्ट बलरको तुलनामा स्पिनर प्रभावशाली हुनेछन् ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया