तीन महिनामा बनिसक्ला त दशरथ रंगशाला ?

 जेठ २६, २०७६ आइतबार १२:७:४५ | मदन पौड्याल
unn.prixa.net

काठमाण्डौ – दशरथ रंगशालामा खेलकुद गतिविधि नभएको ६ वर्ष हुनै लाग्यो । रंगशालामा खेलाडीले खेल खेल्न तथा समर्थकले खेल हेर्न र मनोरञ्जन लिन पाएका छैनन् । 

२०७२ सालको भूकम्पभन्दा झण्डै २० महिनाअघि दशरथ रंगशालामा साफ च्याम्पियनसिप भएको थियो । २०७० साल भदौ २४ गते नेपाल र अफगानिस्तानबीच खेल भएको थियो ।

त्यसको तीन दिनपछि २७ गते भारत र अफगानिस्तानले फाइनल खेल खेलेका थिए । घरेलु दर्शकले त्यतिबेला उत्साहका साथ यो रंगशालामा खेल हेरेका थिए । त्यसयता नेपाली फुटबल टोलीले दशरथ रंगशालामा खेलेको छैन । अनि यो रंगशालामा घरेलु लिग पनि हुन सकेका छैनन् ।

भूकम्पअघि सुरु भएको काम झन् भद्रगोल

काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालाको मर्मतका लागि भूकम्प जानुअघि नै काम थालिएको थियो । तर भूकम्प गएपछि रंगशाला थप भताभुंग भयो ।

नेपालको एक मात्र अन्तर्राष्ट्रिय रंगशाला अहिले पुनर्निर्माणको चरणमा छ । रंगशाला छिरेपछि एथ्लेटिक ट्रयाक र हरियो दुबोसहितको मैदान झलक्क देखिन्छ । तर अरु काम बाँकी जस्तै छ । पीएल प्रतिष्ठा किराँतेश्वर जेभीले मुख्य भागको काम गरिरहेको छ । रंगशालामा अहिले ढलान, प्लास्टर गर्ने, सिँढी राख्ने, रंगरोगन जस्ता काम आफूहरुले गरिरहेको कामदार उमाशंकर शाहले बताउनुभयो ।

१४ महिनादेखि कामदार निरन्तर काममा खटिएका छन् । रंगशालामा प्याराफिट, लाइट, स्कोर बोर्ड, ध्वनी प्रविधिको काम पनि सँगसँगै भैरहेको छ । नयाँ सिट राख्ने, भुईं बनाउने, भित्र टालटुल गर्ने जस्ता काम भने बाँकी नै छन् । काममा खटिएका कामदारका अनुसार रंगशालाको सबै काम सक्न यो वर्ष लाग्नेछ । तर राष्ट्रिय खेलकुद परिषद्ले भने काम अन्तिम चरणमा पुगेको दावी गरेको छ ।

दशरथ रंगशाला पुनर्निर्माणको काम थालिएको ६ वर्ष भए पनि पछिल्ला दुई वर्ष यता कामले केही गति लिएको छ । भूकम्पपछि रंगशालाको पुनर्निर्माणका लागि खर्च भएको समय एउटा नयाँ रंगशाला बनाउन लाग्ने भन्दा बढी नै भैसक्यो । राष्ट्रिय खेलकुद परिषद् राखेपले रंगशाला पुनर्निर्माणमा ढिलासुस्ती गरेको खेलाडी तथा दर्शकको गुनासो छ । काठमाण्डौ बनस्थलीबाट रंगशाला हेर्न पुगेका विजय खनाल रंगशाला देख्दा राम्रै देखिए पनि काम भने निक्कै ढिला भएको गुनासो गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ,  ‘कामलाई छिटो गरेर खेल सुरु गर्न सरकारले नै बढी ध्यान दिनुपर्ला जस्तो छ ।’

रंगशालामै भेटिएका गोरखाका रेशम नेपालीले रंगशाला ढिलासुस्ती हुनुमा सरकारले खेल क्षेत्रलाई चासो नराखेको प्रष्ट झल्किने बताउनुहुन्छ । ‘भूकम्पले धेरै नै तहसनहस बनाइदियो तर समय र खर्च धेरै लाग्यो । योभन्दा अगाडि नै बनाउन सकेको भए यतिबेला रंगशालामा खेल गतिविधि सुरु भैसकेका हुनेथिए ।’

१३ औं सागका लागि तयार हुने

२०१३ सालमा बनेको रंगशालामा २०३८ सालमा पहिलो वृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो । यसको दुई वर्षपछि यही रंगशालामा दक्षिण एसियाको पहिलो दक्षिण एसियाली खेलकुद प्रतियोगिता साफ सुरु भयो । नेपालले आठौं साफ आयोजना गर्ने भएपछि चीन सरकारले आधुनिक रंगशाला निर्माणका लागि पुनः सहयोग गरेको थियो ।

गतिलो रंगशाला नभएका कारण १३ औं दक्षिण एसियाली खेलकुद साग सार्नुपरेको छ । सन् २०१८ भित्र हुनुपर्ने साग यसै वर्ष मंसिर १५ गतेदेखि २४ सम्म हुँदैछ । सागका लागि रंगशालाको काम धमाधम भैरहेको राष्ट्रिय खेलकुद परिषद् राखेपको दाबी छ । आउँदो भदौसम्म रंगशाला तयार भइसक्ने राखेपका सदस्य सचिव केशबकुमार विष्ट बताउनुहुन्छ । ‘सुरुका दिनमा काम सुरु गर्न अन्यौल थियो, भत्काउने कि यसैलाई मर्मत गर्ने निर्णय गर्न दुई वर्ष लाग्यो तर अब भदौसम्म सक्नेगरी काम भैरहेको छ’ उहाँले भन्नुभयो ।

१३ औँ सागको उद्घाटन र समापन समारोह, फुटबल र एथ्लेटिकका लागि पनि रंगशाला तयार पारिसक्नुपर्ने बाध्यता नै छ । विष्टले भन्नुभयो, ‘रंगशाला पुनर्निर्माणमा भैरहेको ढिलासुस्तीले खेलाडी र समर्थकमा निराशा छ तर अब ढिलो हुने छैन, यसले पक्कै उत्साह थप्नेछ ।’


 

अन्तिम अपडेट: बैशाख ७, २०८१

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

1 Comments

  • मनाेज दाहाल

    June 9, 2019, 2:41 p.m.

    नेपालको एक मात्र अन्तराष्ट्रिय स्तरको खेल मैदानको रुपमा रहेको दशरथ रंगसालाको पुनर्निमाण गत फागुनमै सकिने भनिएता पनि हाल सम्म सकिएको छैन । आसन्न १३ औं दक्षीण एसियाली खेलकुदको उद्घाटन लगायतका धेरै खेल सोही मैदानमा हुने भएकाले स्वदेसी तथा विदेसी खेलप्रेमी दर्सकको मन लोभ्याउने गरीको आकर्षक रंगसाला चाडै बनोस । शुभकामना ।

  •  0 Reply

तपाईको प्रतिक्रिया