भारतद्वारा पुनर्निर्माणका लागि थप १६० करोड सहयोग

 जेठ २७, २०७६ सोमबार १३:१६:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - छिमेकी देश भारतले नेपालको भूकम्पपछिको पुनर्निर्माणका लागि दोस्रो किस्तावापतको रकम १ अर्ब ६० करोड उपलब्ध गराएको छ ।  

सोमबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच अर्थमन्त्री डा. युवराज खतिवडालाई नेपालका लागि भारतीय राजदूत मंजीवसिंह पुरीले भूकम्पपछिको पुनर्निर्माणका लागि दोस्रो किस्तावापतको रकम १ अर्ब ६० करोडको चेक हस्तान्तरण गर्नु भएको हो ।

भारतले नेपालको निजी आवास पुनर्निर्माणका लागि दोस्रो किस्ता वापत १ अर्ब ६० करोड रुपैयाँ उपलब्ध गराएको अर्थ सचिव राजन खनालले जानकारी दिनु भयो । भारतले नेपालको पुनर्निर्माणका लागि पहिलो किस्तावापत यसअघि नै २ अर्ब १० करोड रुपैयाँ उपलब्ध गराइ सकेको छ ।

कार्यक्रममा नेपालका लागि भारतका राजदूत सिंहले नेपालको भूकम्पपछिको पुनर्निर्माणको काममा सहकार्य गर्न पाएकोमा भारत सरकार खुसी भएको बताउनु भयो । उहाँले नेपालको विकास, निर्माणको काममा भारत सरकारको सदा साथ रहने पनि बताउनु भयो ।

२०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पले नेपालमा ठूलै धनजनको क्षति भएपछि भारतलगायतका देशहरुले त्यसको पुनर्निर्माणमा सघाउने समझदारी गरेका थिए । कार्यक्रममा नेपालका लागि भारतीय राजदूत पुरीले नेपालको निजी आवास पुनर्निर्माणको काम झण्डै ७० प्रतिशत भन्दाबढी सम्पन्न हुनु आफ्नो देशका लागि सुखद् समाचार भएको पनि बताउनु भएको थियो ।

 

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया