खाजाले बढ्यो विद्यार्थीको संख्या

 जेठ २८, २०७६ मंगलबार ११:४:१ | विमल बिष्ट
unn.prixa.net

डोटी – आदर्श गाउँपालिका– ६ गरीचौकामा रहेको कपिलास आधारभूत विद्यालयमा शिक्षाका लागि खाद्य कार्यक्रम लागू भएपछि विद्यार्थीको संख्यामा वृद्धि भएको छ ।

यो विद्यालयमा शिक्षाका लागि खाद्य कार्यक्रमले विद्यार्थीलाई दिवा खाजा दिन सुरु गरेपछि विद्यालयमा आउने विद्यार्थीको संख्या वृद्धि हुँदै गइरहेको हो । यो कार्यक्रम सुरु हुनुभन्दा पहिले विद्यालय उमेर समूहका धेरै बालबालिकाहरु घरमा नै बस्ने, विद्यालयमा भर्ना भएका विद्यार्र्थीको पनि नियमितता नहुने जस्ता समस्या थिए । दिवा खाजा कार्यक्रम सुरु भए पश्चात् बालबालिकाहरुको नियमितता हुनुका साथै विद्यालय उमेर समूहका सबै बालबालिकाहरु विद्यालयमा आउन थालेको प्रधानाध्यापक बलबहादुर बोहराले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘पहिले विद्यालय आउने उमेर समूहका विद्यार्थी विद्यालय आउन मान्दैनथे । आएका पनि नियमित बस्दैनथे । अहिले यस्तो समस्या हटेको छ । विद्यार्थीको विद्यालयमा उपस्थिति पनि बढ्दै गैरहेको छ । नयाँ बालबालिका पनि भर्ना भएका छन् ।’ 

दिवा खाजा सुरु भएपछि वडाका कम्तीमा पनि तीन सय जनाभन्दा बढी बालबालिकाहरु अहिले विद्यालयमा निमित आउने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, ‘दिवा खाजाले विद्यालयमा विद्यार्थीहरुको संख्या त बढ्यो तर विद्यार्थीको अनुपातमा शिक्षकको दरबन्दी कम हुँदा पढाउनमा केही समस्या देखिन थालेको छ ।’ 

त्यस्तै विद्यालयको भौतिक संरचना समेत पुरानो हुँदा समस्या देखिएको उहाँले जानकारी दिनुभयो । कक्षा ५ सम्मको अध्यापन गराइने यो विद्यालयमा जिल्ला शिक्षाको अनुदानमा एउटा दुई कोठे भवन रहेको छ भने विद्यालयमा रहेको एउटा मात्र पुरानो भवन पनि जीर्ण अवस्थामा रहेको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया