बुकीको यार्सागुम्बामा स्थानीयको कब्जा, राज्यको बेवास्ता

 जेठ २९, २०७६ बुधबार १२:२८:३४ | राजु लामिछाने
unn.prixa.net

रुकुम पूर्व – पुथा उत्तरगंगा गाउँपालिकामा गएको शुक्रबारदेखि यार्सागुम्बा संकलन खुला गरिएको छ । पुथा उत्तरगंगा गाउँपालिका १ र २ नम्बर वडाका विभिन्न ठाउँमा पाइने बहुमूल्य जडिबुटी यार्सा संकलनका लागि सरकारी निकायको अनुमति भने आवश्यक पर्दैन । 

कहिले यार्सा टिप्ने र यार्सा संकलक तथा व्यापारीबाट कति शुल्क उठाउने भन्ने निर्णय स्थानीयले नै गर्ने गर्दछन् । यार्सा संकलनका लागि विभिन्न ठाउँबाट बुकी पुग्नेहरुले यार्सा व्यवस्थापन समितिले गरेको निर्णयअनुसार नै शुल्क बुझाउनुपर्छ । हरेक वर्ष यार्सा संकलनको नाममा उठाइने लाखौँको राजश्व भने सरकारी राजश्वमा आउँदैन ।

स्थानीय, प्रदेश तथा केन्द्र सरकारको पहुँचभन्दा बाहिर रहेको बुकीको यार्सा यहाँका स्थानीयको पहुँचमा छ । बुकीमा पाइने यार्सामा स्थानीयको सिण्डिकेट कायमै रहेको प्रष्ट देखिन्छ । 

बुकी पाटनमा रहेको यार्साको सुरक्षा दिन भन्दै यहाँका प्रत्येक घरबाट दुई/दुई जना युवाहरू एक महिना पहिलेदेखि नै यार्सा पाइने पाटनमा बस्दै आएका छन् । यहाँका बासिन्दाले पहिले नै यार्सा संकलन गरेपछि मात्र अरुका लागि खुला गर्ने गरेको जिल्ला बाहिरबाट यार्सा संकलन गर्न जानेहरुको आरोप छ ।

‘सुरक्षाको नाममा एक महिना पहिले त्यहाँका मान्छे बुकीमा पुगेर यार्सा संकलन गर्न थाल्छन्,’ विगत ४ वर्षदेखि यार्सा टिप्न बुकी पुग्ने गरेका एक व्यक्तिले भने, ‘बुकीमा यार्सा संकलनका लागि कुनै पनि सरकारी निकायबाट अनुमति लिनु पर्दैन । यो वर्ष मात्रै होइन, यहाँ हरेक वर्ष यार्सा संकलनका लागि व्यवस्थापन समितिले नै निर्णय गर्ने गर्दछन् ।’ 

हरेक वर्ष यार्सा संकलनका लागि सर्वसाधारण तथा व्यापारीबाट लाखौँ रुपैयाँ जम्मा हुने गरे पनि त्यो कहाँ जान्छ भन्ने कुराको कुनै जानकारी नहुने गरेको स्थानीय सुरेन्द्र बुढाले बताउनुभयो । स्थानीयका अनुसार, व्यवस्थापन समितिका केही सीमित मान्छेले नै निर्णय गर्छन् र जम्मा भएको रकम पनि कहाँ खर्च गर्छन्, कुनै जानकारी हुँदैन । 

एक सिजनमा कति रकम जम्मा हुन्छ भन्ने समेत कुनै जानकारी नहुने स्थानीयको गुनासो छ । व्यवस्थापन समितिले भने व्यापारी तथा सर्वसाधारणबाट जम्मा भएको रकम गाउँको विकासमा लगाउँदै आएको बताउने गरेको छ । विशेषगरी विद्यालयमा निजी स्रोतबाट राखिएका शिक्षकको तलब-भत्ता र विद्यालयको भौतिक संरचना निर्माणमा यार्साबाट संकलित रकम खर्च हुँदै आएको समितिका अध्यक्ष अमरधन पुन मगरले बताउनुभयो ।

यो वर्ष यार्सा संकलन गर्न आउने सर्वसाधारणका लागि १ हजार ५ सय र व्यापारीका लागि १८ हजार शुल्क निधार्रण गरिएको उहाँले बताउनुभयो । स्थानीयलाई भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको अध्यक्ष पुनको भनाइ छ । जथाभाबी चोरी निकासी बढ्दै गएकाले यार्सा संरक्षण, संकलन र व्यापार गर्न स्थानीयलाई मात्र अनुमति दिने निर्णय भएको उहाँले बताउनुभयो । बाहिरका व्यापारीले स्थानीयसँग मिलेर व्यापार गर्न पाउने गरी निर्णय भएकाले बाहिरकालाई पनि बञ्चित नगरिएको उहाँको दावी छ । 

प्राकृतिक स्रोत–साधनमाथि स्थानीयको अग्राधिकार हुने भए पनि यार्सा संकलनको लागि व्यवस्थापन समितिको नाममा गरिएका केही निर्णय वन ऐन, कानुन विपरीत रहेको डिभिजन वन कार्यालय रुकुमकोटका सहायक वन अधिकृत वेदप्रसाद भण्डारीले बताउनुभयो । अन्तर्राष्ट्रिय रूपमा नै जुनसुकै ठाउँमा पनि व्यापार गर्न पाउने अधिकारलाई कुण्ठित गरेर यार्सा व्यवसायमा रोक लगाउने कार्य गलत भएको उहाँको भनाइ छ । 

भौगोलिक विकटता र प्राप्त जनशक्तिको अभावका कारण आफूहरूले बुकीमा भएका सबै निर्णय तथा घटनाका बारेमा भने जानकारी लिन असमर्थ भएको सहायक वन अधिकृत भण्डारीले बताउनुभयो । यार्सा पनि जंगलमा पाइने जडिबुटी भएकाले संकलनको लागि डिभिजन वन कार्यालयबाट राजश्व बुझाएर रसिद लिनुपर्ने उहाँ बताउनुहुन्छ । वन कार्यालयले यार्सा संकलनका लागि प्रतिकिलो ३० हजार रुपैयाँ राजस्व निर्धारण गरेको छ ।

यार्सा संकलन गर्नका लागि विशेष गरेर पुथा उत्तरगंगा गाउँपालिका १, २, ३ र ४ का स्थानीयहरु गाउँ नै खाली गरेर पाटन पुगेका छन् । यार्सा संकलनका लागि भूमे र सिस्ने गाउँपालिकालगायत छिमेकी जिल्ला रुकुम (पश्चिम), जाजरकोट, सल्यान, रोल्पा, बागलुङलगायतका जिल्लाबाट पनि सर्वसाधारणहरू पनि आउने गरेका छन् । 

रुकुम पूर्वको पुपाल, अरबिजा, जंगला, पूर्वाङ, भित्रिवन, उङला, ङिम्कु, पानीढल, सुनदह, सांग्रेई, चौरीखर्कलगायत बुकीमा यार्सा पाइने गर्छ ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया