अझै पूरा भएन दिपायल विमानस्थलकाे काम

 जेठ २९, २०७६ बुधबार १७:११:३ | विमल बिष्ट
unn.prixa.net

डोटी – दिपायल विमानस्थलको कालोपत्रेको काम तोकिएको समयमा सम्पन्न नहुने भएको छ ।

सँगै काम सुरु गरिएको अछामको साँफेबगर विमानस्थलको निर्माण कार्य सम्पन्न भएर  परीक्षण उडान भैसक्दा पनि दिपायल विमानस्थलको निर्माण कार्य भने अझै सकिएको छैन । 

विसं २०५८ सालदेखि बन्द भएको यो विमानस्थल फेरि सञ्चालनका लागि काम सुरु भएको थियो तर दास्रो पटक म्याद थपिँदा पनि कालोपत्रेको काम नसकिने अवस्था देखिएपछि स्थानीयहरु आक्रोशित हुन थालेका छन् । १५ महिनामा निर्माण कार्य सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि साउन महिनासम्मका लागि म्याद थप हुँदा समेत दिपायल विमानस्थलको कालोपत्रेको काम पूरा हुन नसकेको हो । 

विसं २०७३ साल कात्तिकमा काम सुरु गर्नुपर्ने भए पनि फागुनबाट मात्रै काम सुरु गरिएको थियो । विमानस्थल कालोपत्रेको ६० प्रतिशत काम भएको दावी गरिए पनि अहिलेसम्म कालोपत्रको काम सुरु नै भएको छैन । विमानस्थल निर्माण कार्यका इन्जिनियर बालकृष्ण रेग्मीले निर्माण व्यवसायीले विभिन्न बहाना देखाउँदै काममा लापरवाही गरिरहेको आरोप लगाउनुभयो । 

चार सय ९० मिटर लामो विमानस्थलको कालोपत्रे गर्नका लागि करिब साढे ५ करोड बराबरको बजेट विनियोजन गरिएको छ । डेढ दशकदेखि ओझेलमा परेको विमानस्थल कालोपत्रे गर्ने योजना आएपछि डोटेली जनता खुशी भएका थिए ।

तर निर्धारित समय सकिएर ६ महिनाको समय थप्दा पनि कालोपत्रेको कार्य सकिने छाँटकाँट नदेखिएको दिपायल सिलगढी नगरपालिका-२ का वडा अध्यक्ष राजेन्द्र खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, ‘काम पहिले नै सकिनुपर्ने हो तर निर्माण व्यवसायीहरुले विभिन्न बहाना बनाउँदा काम लम्बिएको हो, समयमै काम नसक्ने ठेकेदार कम्पनीलाई कारबाही हुनुपर्छ ।’

लामो समयदेखि गौचरणमा परिणत भएको दिपायल विमानस्थल सञ्चालनमा आउँदा सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको आर्थिक समृद्धिसँगै पर्यटन प्रबर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ । 

चार सय ९० मिटर लामो धावनमार्गको स्तरोन्नति गर्न एक हजार मिटर लम्बाइको धावन मार्ग बनाउने माग पनि हुँदै आएको छ । जग्गा अधिग्रहणका लागि सहमति भए पनि आगामी अर्थिक वर्षको लागि प्रदेश र संघीय सरकारले बजेट विनियोजन नगर्दा त्यो योजना पनि अलपत्र पर्ने देखिएको छ ।

आफ्नै पहलमा विमानस्थलको काम सुरु भएको दावी गर्दै आउनुभएका नेकपाका प्रतिनिधि सभा सदस्य प्रेम आले मगरले विमानस्थलको स्तरोन्नतिका लागि बजेट विनियाेजन हुने बताउनुभयाे। 

दिपायल विमानस्थलमा काम गर्दै आएको ठेकेदार कम्पनी 'सप्नाग्याल्भा जेभी' ले काम गर्न बन्द गरेको छ । यति मात्र नभइ विमानस्थल पिच गर्न ल्याइएका उपकरण पनि ठेकेदारले अन्यत्रै लगेको स्थानीय कमल माझीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पिचको कुरो त छोडौँ, ठेकेदारले पिच गर्न ल्याएका उपकरणसमेत अन्तै लगिसकेका छन्, कहिले होला र पिच ?’ 
 

अन्तिम अपडेट: चैत १२, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया