सगरमाथाको ट्राफिक जामबारे अध्ययन गर्न पाँच सदस्यीय समिति

 जेठ २९, २०७६ बुधबार १९:३०:१२ | भाेजेन्द्र बस्नेत
unn.prixa.net

काठमाण्डाै - सगरमाथामा ट्राफिक जामका कारण आरोहीको ज्यान गएको बिषयमा छानबिन गर्न पाँच सदस्यीय समिति गठन भएको छ । 

ट्राफिक जामको समाचार अन्तराष्ट्रिय सञ्चारमाध्ययममा समेत चर्चा भएपछि गएको शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जनशक्ति व्यवस्थापन तथा पर्यटन प्रबर्द्धन महाशाखाका प्रमुखको संयोजकत्वमा पाँच सदस्यीय अध्ययन तथा सुझाव समिति गठन गरेको हो । 

समितिले अध्ययन गरेर सगरमाथामा भएको जामको यथार्थ, आरोहणका क्रममा ज्यान गुमाएका तथा हराइरहेकाहरु, आरोहण सम्बन्धी नीतिगत समस्या लगायतको विषयमा सुझाव दिने र आउँदा दिनमा सुधार गरिने पर्यटन विभागले जनाएको छ । 

विभागले विज्ञप्ति जारी गर्दै सन् २०१७ मा ३६६, सन् २०१८ मा ३४६ र यस वर्ष ३८१ जनाले आरोहण अनुमति लिएको भन्दै धेरैलाई अनुमति दिएका कारण सगरमाथामा समस्या आएको कुरा तथ्यसंगत नभएको बताएको छ । 

मंगलबार यूरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बीबीसीसँगको अन्तरवार्तामा सगरमाथा आरोहणका लागि अनुमति लिनेको संख्या बढेपछि हिमालमा ज्यान गुमाउनेको संख्या बढेको भन्ने चर्चा हल्ला गरिएअनुसारको समस्या नभएको दावी गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले आरोहणमा देखिएका केही समस्या समाधान गर्न नेपालले आरोहणसम्बन्धी नियमावलीमा आवश्यक परिवर्तन गरिरहेको पनि बताउनुभएको थियो । 

लगत्तै बुधबार पर्यटन विभागले विज्ञप्ति जारी गर्दै पाँच सदस्यीय समिति गटन गरेर अध्ययन थालेको जानकारी दिएको हो । 

विभागले जारी गरेको विज्ञप्तिमा यस वर्ष सगरमाथा आरोहणका लागि ३८१ जनाले अनुमति लिएकोमा २ सय १ जनाले सफल आरोहण गरेको उल्लेख छ । यस्तै आरोहीका सहयोगी ३७ जना समेत गरेर यस वर्ष ६ सय ५९ जना सगरमाथाको शिखरमा पुगेका छन् । जसमा ६५ जना महिला र ५९४ जना पुरुष रहेका छन् । 

याे वर्षको वसन्तकालीन मौसममा सगरमाथामा ८ जनाले ज्यान गुमाएका र एक जना हराइरहेको पनि विज्ञप्तिमा उल्लेख छ । 
 

अन्तिम अपडेट: चैत २२, २०८०

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया