हावाहुरी पीडितहरुलाई तीन तहका सरकारको अनुभूति भएन: ६ दिनसम्म पनि भोकै छन् सुत्केरी र बच्चाहरु

 जेठ २९, २०७६ बुधबार २०:४१:३२ | सीताराम ओझा
unn.prixa.net

कैलाली - धनगढी उपमहानगरपालिका वडा नम्बर-१२, सी गाउँकी कल्पना नेपालीले छोरा पाएको दुई महिना पनि भएको छैन । गएकाे वैशाख ६ गते तेस्रो सन्तानको रुपमा छोरालाई जन्म दिनुभएकी उहाँले केही दिनदेखि केही पनि खान पाउनु भएको छैन ।

एक्लै घर चलाउँदै आउनुभएकी उहाँको एक महिना २३ दिन भएको छोरा पनि बिरामी अवस्थामै छ । हावाहुरीले झण्डै उडाएका एक छोरी र एक छोरालाई समातेर बचाउनु भएकी उहाँले भरखरै जन्मिएको छोरालाई काखमा च्यापेर बचाउनु भएको थियो । घटनापछि डेढ महिनाको छोरा दुई दिनसम्म बेहोस नै थियो । अहिले होस त आए पनि पूर्ण रुपमा ठीक भएको छैन । खान, सुत्न पनि पाएका छैनन्, बच्चाहरु नाङगै भोकै छन् ।

कल्पनाले भन्नुभयो, ‘आज बिहानको पानीले अझ समस्या पारेको छ । एक दुई छाक दिदीको घरमा गएर खाएँ । बच्चाहरु पनि अरुसँग मागेर खाइरहेका छन् । कसैबाट केही पाइएको छैन । कसरी बाँच्ने हो अब ?’

 हावाहुरी आउनुभन्दा पाँच दिन अगाडि मात्रै कल्पनाका श्रीमान नर नेपाली रोजगारीका लागि भारत जानु भएको थियो । भारतमा श्रीमानले काम नपाएको खवर सुनाइरहँदा गएकाे बिहीबार आएको हावाहुरीले उहाँको दुई कोठे घरको छानाेलाई पुरै क्षति पुर्‍याएको छ । उडाएका केही कपडाहरु संकलन गरेर लगाउने जोहो भएको छ । सुत्नका लागि खाट पनि छैन, घरको माथि पाल पनि छैन।

कल्पनाको मात्रै होइन, धेरै सुत्केरी र महिलाहरुको हावाहुरीपछि बिजोग नै भएको छ । विनाशकारी हावाहुरीले कैलाली र कञ्चनपुर जिल्लामा करोडौँको क्षति भए पनि पीडितलाई तीन वटा सरकार भएको अनुभूति हुन सकेको छैन।

देशमा तीन तहको सरकार भए पनि विपत्तिको समयमा सरकारहरु नै उदासीन बनेको गुनासो पीडितहरुले गरेका छन्।

धनादेवी ढोली आफू अपाङ हुनुहुन्छ, काखमा ८ महिने छोरा छ, साथमा अरु दुई छोरा छोरी छन् । उहाँका श्रीमान कामका लागि भारतमै हुनुहुन्छ । घरका सबै सामान उडाएर लगिसकेको छ । घरको तल पुरै उडाएपछि खाली आकाशमुनि नै बास छ ।

‘कसैले खा' भनेपछि खान पान्छु, नत्र भोकै बस्नुपरिहेको छ । बच्चा बाेकेर कहाँ कहाँ जाउँ ? आफैँ अपाङ छु, कतै जान पनि सक्दिन, धनादेवीले भन्नुभयो, बचेको ५ सयले छोराछोरीलाई चामल किनेर खुवाएँ । अब त्यो पनि सक्किहाल्यो । कसरी खुवाउने हो? गाउँ–गाउँमा सिंहदरबार आयो भन्थे नेताहरु कहाँ आया रैछ ?’

अहिले तत्काल आवश्यक राहतको व्यवस्थापनमा भने कसैको ध्यान गएको छैन । पीडितहरुले राहतका नाममा त्रिपाल पनि नपाएको गुनासो गर्दै आएका छन्। खाद्यान्न सामाग्री पनि कसैलाई वितरण नगरेको जिल्ला विपद व्यवस्थापन समितिले जानकारी दिएको छ । पीडित विन्द्रा कोलीले केही पनि नपाउँदा धेरै समस्या भएको सुनाउनुभयो ।

‘अहिलेसम्म केही पनि पाएका छैनौँ, कोही पनि आएका पनि छैनन्’, उहाँले भन्नुभयो, ‘कति दिन मागेर खाने हो ? अरुले माग्दा दिँदा पनि दिँदैनन् । उधारो पनि मान्दैनन् । राहतको नाममा हालसम्म दुई हजार चार सयभन्दा बढी त्रिपाल वितरण भएको छ । तर वडाध्यक्षको जिम्मा लगाइएका ती त्रिपालहरु पीडितको संख्या बढी र त्रिपाल कम हुँदा वितरण हुन सकेका छैनन् ।’

‘सुरुमा एक सय ४० पाल रेडक्रसबाट ल्यायाैँ तर पीडितहरुको संख्या अढाई सयभन्दा बढी भयो । कस्लाई दिने, कस्लाई नदिने भनेर धेरैलाई पालसमेत वितरण गर्न सकेका छैनौँ’, धनगढी उपमहानगरपालिका वडा नम्बर १० का अध्यक्ष गणेशराज जोशीले भन्नुभयो,‘धेरै पीडितलाई सबै सरोकारवालाको साथमा बाँड्याैँ । रेडक्रसले पाल दिएकाे बाहेक अन्य कुनै पनि निकाय, स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले सहयोग गरेको छैन ।’

अन्य प्रदेशमा प्राकृतिक प्रकोप पर्दा सुदूरपश्चिम सरकारले सहयोग गरेपनि कैलाली र कञ्चनपुरमा हावाहुरीले जनधनको क्षति गर्दा कतैबाट पनि सहयोग प्राप्त नभएको हावाहुरी पीडितको दुखेसो छ । संघीय सरकार, अन्य ६ वटा प्रदेश सरकार र प्रदेशभित्रै रहेका स्थानीय तहले पनि पीडितलाई राहतको व्यवस्था गर्न सकेका छैनन्।

सुदूरपश्चिम प्रदेश सरकारले भने राहतका लागि ११ करोड २९ लाख खर्च गर्ने भनेको छ  तर अहिलेसम्म केही गरेको छैन । स्थानीय सरकारहरुले पनि पटक पटक अनुगमन गरेका छन् तर केही काम गरेका छैनन् । संघीय सरकारको त अझ अहिलेसम्म बाेली समेत सुनिएकाे छैन ।

‘बारा, रौतहटका पीडितहरुलाई यहाँका स्थानीय सरकार प्रदेश सरकारले राहत दियौँ तर कैलाली कञ्चनपुरका पीडितका लागि कसैले केही पनि नगर्नु दुःखद हो’, धनगढी उपमहानगरपालिका मेयर नृपबहादुर ओड भन्नुहुन्छ, ‘हामी समन्वय र सहकार्य गर्न तयार छौँ। हामीले पनि केही दिन नसकेका होलाउँ तर तीन वटै सरकारले कैलाली कञ्चनपुरका हावाहुरी पीडितका लागि लाग्न आग्रह र आह्वान गर्न चाहन्छु ।’

स्थानीय र प्रदेश सरकार घर आगनमै आएको भए पनि कैलाली कञ्चनपुरका हावाहुरी पीडितहरुले अहिलेसम्म त्यसको अनुभूति गर्न पाएका छैनन् । देशका अन्य भागका हावाहुरी पीडितलाई तत्काल राहत स्वरुप सहयोग गर्ने घोषणा गरेको प्रदेश सरकारले आफ्नै प्रदेशवासीका लागि निर्णय गर्न तीन दिन लगाएको तर पाउने आशा समेत नरहेको हावाहुरी पिडितहरुको गुनासो छ ।

सुस्त प्रदेश सरकार र हेपिएको सुदूरपश्चिम भएकै कारण केन्द्र तथा अन्य प्रदेश सरकारले राहतको घोषण समेत नगरेका प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता डा रणबहादुर रावलको आरोप  छ । 

अन्तिम अपडेट: चैत ७, २०८०

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया