पानीको चरम अभावपछि कम्पनीले कर्मचारीलाई भन्यो : अफिसमा पानी छैन, घरमै बसेर काम गर्नुस्

 जेठ ३०, २०७६ बिहिबार १५:४९:३७ | एजेन्सी
unn.prixa.net

तस्बिर - इण्डिया टुडे

सुख्खायाम सुरु भएसँगै भारतमा पानीको हाहाकार मच्चिएको छ । पानीको जोहो गर्नकै लागि अहिले मानिसहरु निकै टाढा पुग्नुपर्ने बाध्यता छ । 

पानीको संकट बढेपछि चेन्नईको ओल्ड महाबलिपुरम रोड (ओएमआर) मा रहेको (सूचना तथा प्रविधि) आईटी कम्पनीहरुले कर्मचारीहरुलाई घरमै बसेर काम गर्न भनेका छन् । यसको पछाडिको कारण पानी नै हो । 

रिपोर्टका अनुसार, झण्डै दुई सय दिनदेखि शहरमा वर्षा भएको छैन र आगामी तीन महिनासम्म पानीको संकट टार्ने कुनै उपाय नै छैन । यही अवस्थालाई ध्यानमा राख्दै कम्पनीहरुले कर्मचारीको सुविधामा ध्यान राख्दै जहाँबाट भए पनि काम गर्ने सल्लाह दिएका  छन् । 

आईटी कम्पनीहरु यतिखेर पानी खपत गर्नका लागि पहल गरिरहेका छन् । यसका लागि उनीहरुले जल प्रबन्ध बोर्डसँग कुरा गरिरहेको बताएका छन् । 

भारतीय सञ्चारसंस्था टाइम्स अफ् इण्डियाका अनुसार, १२ वटा कम्पनीमा काम गर्ने झण्डै पाँच हजार प्राविधिक कर्मचारीहरुलाई घरमै बसेर काम गर्न भनेका छन् ।

ओएमआरमा गर्मीयाममा प्रति दिन तीन करोड लिटर पानी आवश्यक हुन्छ । जसमध्ये धेरै पानी बाहिरबाट ल्याइन्छ र ६० प्रतिशतभन्दा बढी पानी आईटी कम्पनी र अन्य कार्यालयमा खपत हुन्छ । 

पानीको चरम अभाव देखिएपछि अहिले मानिसहरु ट्याङकर आउँदा पनि खुशी हुने गरेका छन् ।  
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया