विदेशमा अभिभावक गुमाएका रामेछापका २४ विद्यार्थीलाई छात्रवृत्ति

 जेठ ३१, २०७६ शुक्रबार १६:३३:३९

रामेछाप – वैदेशिक रोजगारीको क्रममा अभिभावक गुमाएका रामेछापका २४ जना विद्यार्थीले छात्रवृत्ति पाएका छन् । 

निमावि तहका २१ र मावि तहका ३ जना विद्यार्थीको छात्रवृत्ति वापतको २ लाख १६ हजार रुपैयाँ शिक्षा विकास तथा समन्वय इकाईले बालबालिकाहरुका संरक्षकलाई उपलब्ध गराएको हो । 

वैदेशिक रोजगारीमा अभिभावक गुमाएका निमावि तहका विद्यार्थीलाई वार्षिक ८ हजार रुपैयाँ र मावि तहका विद्यार्थीलाई वार्षिक १२ हजार रुपैयाँका दरले छात्रवृत्ति दिने गरिएको छ । 

वैदेशिक रोजगार बोर्डले  वैदेशिक रोजगारीको क्रममा श्रम अवधि भित्रै कामदारको मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा उनीहरुको छोराछोरीहरुलाई शिक्षामा सहयोग पुर्‍याउन २०७३ सालदेखि छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

अघिल्लो आर्थिक वर्षमा जम्मा २६ जना बालबालिकाका संरक्षकले शिक्षा विकास तथा समन्वय इकाई मन्थलीमार्फत बोर्डमा निवेदन दिएका थिए ।

जसमध्ये २४ जना बालबालिकाहरुले छात्रवृत्ति पाएका हुन् । आप्रवासी स्रोत केन्द्र मन्थलीले आवश्यक कागजात बनाउन सहजीकरण गरेको थियो । केन्द्रले जिल्लाबाट वैदेशिक रोजगारीमा जानेलाई सूचना दिनेदेखि समस्यामा पर्नेलाई उद्धार र राहतमा सहयोग गर्दै आएको छ । 
 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया