लोक सेवाको तयारी गरिरहेका विद्यार्थी सोध्छन् : १० लाख डिप्रेसनको शिकार भए कसले जिम्मा लिन्छ ?

 जेठ ३१, २०७६ शुक्रबार १७:३६:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  लोक सेवा तयारी विद्यार्थी संघर्ष समितिले रिपोर्टर्स क्लब नेपालमा शुक्रबार पत्रकार सम्मेलन गर्दै ८७ हजार विद्यार्थीको भविष्यमाथि खेलबाड गरिए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

स्थानीय निकायमा कर्मचारी भर्नाका लागि लोक सेवा आयोगले प्रकाशित गरेको विज्ञापन रोकिए १० लाख युवा डिप्रेसनको शिकार हुने भन्दै परीक्षाको तयारी गरिरहेका विद्यार्थीले बताएका छन् ।

लोक सेवा तयारी विद्यार्थी संघर्ष समितिका संयोजक मंगल थापाले राजनीतिक स्वार्थका लागि लाखौंको भविष्य बर्बाद पार्ने चलखेल विगतदेखि नै हुँदै आएकाले यसपटक चुप नलाग्ने बताउनुभयो ।

देशभरबाट आन्दोलन सुरु गरिने तयारी भइसकेकाले तत्काल विज्ञापन रोक्ने निर्देशन फिर्ता लिन उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘देशमा सधैँ युवाको भविष्यमाथि खेलबाड गरियो, अब असह्य भयो ।’ योग्यता र क्षमतालाई पन्छाएर चाटुकारहरुलाई भर्ना गर्ने नियतका साथ विज्ञापन रोक्न खोजिएकाले आम युवा विद्यार्थीहरु सडक संघर्षमा ओर्लन सक्ने अवस्था आउन लागेको थापाले बताउनुभयो । 

समितिका सहसंयोजक विजय लुइँटेलले करारमा कर्मचारी नियुक्ति गर्ने खेलमा रोकिएको लोकसेवाको विज्ञापनले देशमा दुरगामी असर पार्न सक्ने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, ‘यस्ता कदम युवाविरोधी हुन् ।’

अभियन्ता पदमबहादुर खत्रीले आफूहरु समावेशी व्यवस्थाको विरोधी नभएको तर समावेशीको नाममा युवाको भविष्य अन्धकार बनाउन खोजिएको आरोप लगाउनुभयो । देशमा यस्तै अवस्था बनिरहे आन्दोलनको आँधीबेहरी आउने उहाँले चेतावनी दिनुभयो । 

अन्तिम अपडेट: चैत १३, २०८०

1 Comments

  • प्राकाश लिम्बु

    June 14, 2019, 5:52 p.m.

    मुलुक्को झन्डै सभा २ करोड जनसन्ख्य २५० बर्स देखि यता डिप्रेसनको सिकार हुदाइ आइरहेको चाहिँ कसले जिम्मा लिने हो ?

  •  0 Reply

तपाईको प्रतिक्रिया