शीतल हत्याकाण्ड : प्रेममा शंका लागेपछि हत्या, पक्राउ परेकालाई थुनामा राख्न अदालतको आदेश

 जेठ ३२, २०७६ शनिबार ९:२७:१ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – जिल्ला अदालत पाँचथरले १५ वर्षीया किशोरी शीतल योङहाङका हत्यामा संलग्नलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

जिल्ला न्यायाधीश मनोजकुमार केसीको इजलासले हिलिहाङ गाउपालिका–४, पञ्चमिकी १५ वर्षीया किशोरी शीतलको हत्यामा संलग्नलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

शीतलको गएको वैशाख २९ गते साँझ घाँटी रेटी विभत्स हत्या गरी घर नजिकैको सडक छेउमा शव भेटिएको थियो । हत्यामा आरोप लागेका फाल्गुनन्द गाउँपालिका–२, पात्लेभञ्ज्याङका पदम गोले तामाङ, भगिरथ बाँस्तोला र कर्ण तामाङलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको अदालतले जनाएको छ ।

थुनामा राख्न  आदेश दिइएकामध्ये पदम र भगिरथ घटनामा प्रत्यक्ष संलग्न रहेका थिए भने कर्णले हत्यामा संलग्न दुई जनालाई गाडीभाडा दिएर सहयोग गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

तीनजनामध्ये बाँस्तोला घटना भएको अर्काे दिन वैशाख ३० फिदिमबाट पक्राउ परेका थिए भने कर्ण तामाङ नौ दिनपछि फिदिमबाट नै पक्राउ परेका थिए । घटनाका मुख्य योजनाकार पदम गोले तामाङ भने घटना भएको २१ दिनपछि गएको जेठ १८ गते झापाको दमकबाट पक्राउ परेका थिए ।

पदम हत्या गरिएकी शीतलको प्रेमी रहेको वताइएको छ । आफूबाट टाढिएर अर्कै युवकलाई प्रेम गर्न थालेको आशंकामा तामाङले शीतलको हत्या गरेको स्वीकार गरेको पाँचथर प्रहरीले जनाएको छ ।

स्थानीय सिद्ध माध्यमिक कक्षा–१० मा अध्यय्नरत शीतलको पदमले बाँस्तोलाको सहयोग लिएर वैशाख २९ गते साँझ शीतलको घर नजिकै रहेको मान्छे नबस्ने अर्काे घरमा बोलाएर घाँटी रेटी हत्या गरेका थिए । अदालतको आदेशबमोजिम तीन जनालाई कारागार चलान गरिसकिएको पाँचथर प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख १, २०८१

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया