दन्ते–मामा

 जेठ ३२, २०७६ शनिबार १४:१८:४८ | प्रमाेद प्याकुरेल
unn.prixa.net

हम्मेसी कसैलाई केही दिइहाल्ने मान्छे होइन लिखे । तर त्यस दिन अचम्मै भयो । “ला !चकलेट खा!” भेट हुनासाथै ज्ञानेलाई र मलाई एकएक वटा ‘कच्चा म्याङ्गो’ दिँदै भन्यो ।

जुनेले दुवैले हातले कपाल कन्याउँदै अँध्यारो मुख लगाएर दाजु लिखेलाई हेरी । त्यसपछि उसले एउटा जुनेलाई पनि दियो । मुखमा हाल्न नपाई कुरुङ्कुरुङ् चपाई । 

“..तँलाई कस्ले दियाे नि चकलेट ?” मैले सोधेँ । सोध्न नपाई एकै सासमा फुर्तीसाथ भन्यो, “तैँले यो नेपालको कच्चा म्याङ्गो भन्ठान्या ? सिङ्गापुरको हो, बुझिस् ! हाम्रा दन्ते मामा आ’खन् सिङ्गापुराँट ।” भनिसक्दा नसक्दा लिखेको अनुहारमा धाक भरिएको थियो ।

जुनेले दुवै नाकबाट तलतर्फ झुण्डिएका सिँगानका लत्काहरूलाई माथिल्लो ओठ र नाक  जोडिने गरी खुम्च्याउँदै स्याँक्क तानी । नाक र ओठबीचको सेतो छालामा सिँगानले बनाएको ओसिलो रातो डोब मात्र बाँकी रह्यो । घाँटीसम्मै पुगेको धेरथोर सिँगान घुटुक्क निली ।

लिखे, ज्ञाने र म दौँतरी थियौँ । जोरपाटी नयाँ बस्तीमा हामी सबैको डेरा थियो । लिखेकी र मेरी आमा एउटै ठेकदारको ठेक्कामा मजदुरी गर्थे । बिहान नौ बजे काममा निस्किसक्थे । साँझ अबेर फर्कन्थे । आमाहरूलाई केटाकेटी विद्यालय भर्ना गर्नुपर्छ भन्ने थाहा थियो। एउटै सामुदायिक विद्यालयमा भर्ना भएका थियौँ हामी ।

विद्यालय भर्ना गरेपछिका अन्य धेरै दायित्वप्रति भने बेखबर थिए आमाहरू । विद्यालयका मास्टरहरूले पनि आफ्नाे कर्तव्य बिर्सिएका थिए । विद्यालय नगएको भोलिपल्ट कसैले केरकार गर्दैनथ्यो । मन लागे हामी तीनै जना,अझ भनौँ ज्ञानेकी बहिनी जुने समेत चारै जना विद्यालय जान्थ्यौँ, नत्र टोलमै बरालिन्थ्यौँ ।

जुने एक्लै विद्यालय गएको वा अन्य कुनै कारणले पिछा छोडाउन पाएका बेला हामी पशुपतितिर पुग्थ्यौँ । मृगस्थली, कैलाश वा विश्वरूप आसपास प्रेमिल जोडीहरूका क्रियाकलापहरू अवलोकन गर्न पाउँदा छुट्टै रमाइलो हुन्थ्यो । अझ पैसाको जोहो भएका बेला सस्ता हाइभिजन हलहरूमा पुगेर सिनेमा हेर्न पाउँदा खुशीको सीमा नै हुन्नथ्यो ।

यसरी बरालिन निस्कँदा बहिनीलाई पुच्छर लगाउनु लिखेको बाध्यता थियो । उमेर र हैसियत दुवैमा समानता भएका एकै छिमलका साना केटीहरू टोलमा थिएनन् । त्यसैले टोलमा जुनेका साथी नै थिएनन् । हामी बरालिएर हिँडेको कुरा जुनेले आमालाई फुस्काउँछे कि भन्ने डर सधैँ रहन्थ्यो ।

हाम्रा बाबुहरू वैदेशिक रोजगारीमा थिए । अरूका बाबु त कुन देशमा थिए कुन्नि । मेरा बाबु चाहिँ मलेसियामा थिए । एक वर्षअघि मलेसियाबाट छुट्टीमा आएका थिए । उनले पनि चकलेट लिएरै आएका थिए । नाम त के थियो कुन्नि ? तर लिखेको मामाले सिङ्गापुरबाट ल्याएको कच्चा म्याङ्गोभन्दा धेरै मिठो थियो ।

एक बिहान विद्यालय जान निस्किएका हामी साविकझैँ बौद्ध पिपलबोटमा ज्ञानेलाई कुर्दै थियौँ । सडकको पारिपट्टि हेर्दै लिखेले बोलायो, “..दन्ते मामाऽऽऽ...!” हामी सबै हुर्रिँदै सडकपारि पुग्यौँ । 

मैले दन्ते मामाको रूप जस्तो कल्पना गरेको थिएँ, उनीे बिल्कुलै उल्टो थिए । अति सामान्य लुगाहरू लगाएका थिए । दायाँ घुँडाले राम्रो काम नगरेको देखिन्थ्यो । उभिँदासमेत सिधा नभई अलिकति दोब्रिएकै थियो । शरीर दायाँतर्फ झुकेको थियो । दन्ते मामाले सबै खल्ती छामे । एउटा खल्तीबाट बल्लतल्लपाँचको नोट निस्कियो । भने, “ऐले यत्ति राख् है भान्जा । मेरो कामको सेटिङ मिलेपछि पाँच सय दिन्छु तँलाई ।”

त्यसपछि मामा खुट्टा खोच्याउँदै बाटो लागे । हातका औँला अँजुली पारेर घुँडामा भर दिएपछि बल्ल दायाँ खुट्टा अगाडि चल्थ्यो ।

बल्ल ज्ञाने आइपुग्यो । उसले हातमा चाबी बोकेको थियो । चाबी झोलाभित्र राख्दै भन्यो, “अस्ति संविधान दिवसको दिन सर्खारले थुप्रै कैतीहरू छोड्या ख । दशैँ पनि आउन लागो । अब चोरी बड्ख रे । आमाले भन्या । त्यै भर नयाँ ताला मार्‍या ।” त्यसअघि ज्ञानेका कोठामा लगाउने तालालाई चाबी नै चाहिन्नथ्यो ।  अलि बल गरेर तान्दा आफै खुल्थ्यो ।

मामाले दिएको पाँच रूपैयाँको लिखेले पाँचवटा कच्चा म्याङ्गो किन्यो । तीनवटा आफूले राख्यो । दुइटा बहिनीलाई दियो । एउटाको बोक्रा छोडाएर क्वाप्प मुखमा हाल्दै भन्यो, “नेपालको कच्चा म्याङ्गोमा सिङ्गापुरको जस्तो स्वादै छैन ।”

“तेरो मामा सिङ्गापुरमा के काम गर्थे ?.. अनि खुट्टा के गरी त्यस्तो भा नि?” मैले सोधेको थिएँ । “खोई, थाखैन । आमा र मामा पनि सिङ्गापुरको क्यै कुरै गर्दैनन् । आमा त खालि पहाड घर गैहाल् भनेर मामालाई गालीमात्रै गर्छिन्”, लिखेले अनविज्ञता प्रकट गरेको थियो ।

त्यसै दिन बेलुका लिखेले सोधेछ, “मामा तपाईँ सिङ्गापुरमा के काम गर्नुहुन्थ्यो ?” आमाले गाली गरिछिन्, “जे काम गरे नि किन चाहियो तँलाई ?” तर मामाले भान्जाकै पक्ष लिएछन्, “... आ दिदी हुन्देउ न तिमी पनि? केटाकेटी मोरालाई जान्न मन लाग्यो ।.. के भयो त?” आमाले उल्टै आँखा तरिछन् मामालाई । 

मामाले आमाको वास्ता नगरी सबै कुरा लिखेसँग गरेछन् । लिखेले भोलिपल्ट जस्ताको तस्तै हामीलाई सुनायो ।

मामा सिङ्गापुर पुलिसमा काम गर्थे । सिङ्गापुरमा पहिले  डरलाग्दा टोले गुन्डाहरू थिए । असाध्यै मसुर । दिउँसै खुकुरी देखाएर लुटपाट गर्थे । तिनीहरूको एउटा नाइके थियो । त्यसले छिटोछिटो खुकुरी नचाउँथ्यो । परिआए बजाइ पनि दिन्थ्यो । तेज कुद्न र मोटरसाइकल हुँइक्याउन पनि सक्थ्यो । तिनीहरूलाई पक्रने जिम्मा मामालाई दिइएको थियो । 

मामाले तिनीहरूलाई पक्राउ गर्ने योजना बनाए । सबै काम योजनाअनुसार नै हुँदै थियो । जसरी हुन्छ नाइकेको घुँडाको पाङ्ग्रा फुक्लने गरी गोली ठोक्ने योजना मामाको थियो ता कि त्यो जेलबाट छुटेपछि फेरि उसैगरी भाग्न र मोटरसाइकल हुँइक्याउन सक्ने अवस्थामा नरहोस् । तर भैदियो, ठ्याक्कै उल्टो ।

गुन्डाको नाइकेले सप्पै चाल थाहा पाएर उल्टै मामाको घुँडाको पाङ्ग्रो धुलो पिठो पारिदिएछ । अनि त मामालाई लङ्गडो नेपाली भन्दै हेपेर सिङ्गापुरमा पुलिसको जागिरबाट पनि निकालिदिएछन् । पैसा जति सप्पै उपचार गर्दैमा सकिएछ । त्यै भएर मामाले सिङ्गापुरबाट आउँदा पनि कच्चा म्याङ्गो मात्रै ल्याएको रे । तर, धन्दा मान्नुपर्दैन रे । मामा आफ्ना पुराना साथीहरू खोज्दैछन् । चाँडै सेटिङ् मिल्छ रे । अनि मामाले यहीँ बसेर मालामाला पैसा कमाउँछन् ।

कुरा सुन्न सुरु गर्दा हामी सबै च्वँच्वँ गर्दै थियौँ । पछि मामाले मालामाल पैसा कमाउँछन् भन्ने सुन्दा धेरै खुशी भयौँ । त्यतिखेरै लिखेले भीष्मप्रतिज्ञा ग¥यो, “मामाको सेटिङ मिलेपछि तिमीहरू दुवैजनालाई गोपिकिस्नहलाँ फिलिम देखाउँछु ।”

आखिर ज्ञानेकी आमाले गरेको भविष्यवाणी मिल्यो । सामान्य चोरी र लुटपाटका घटनाहरू सुनिन थाले । “ज्ञानेले फुर्तीसाथ भन्यो, “हाम्रो दन्ते मामालाई गुन्डाले खुनी नबनाको भए सबलाई ठिक पारिसक्थे । नेपालको पुलिसजस्तो हो र ? सिङ्गापुरको पुलिस पो त ।”

दन्तेमामा र लिखे वचनका पनि पक्का रहेछन् । लिखे हातमा पाँच सयको नोट हल्लाउँदै आयो । हामी तीनैजना चाबहिलको गोपिकृष्णमा सिनेमा हेर्न जाने भयौँ । खर्च जोगाउन हामी हिँड्दै जाने भयौँ । 

लिखेले बहिनी जुनेलाई फकाउँदै भन्यो, “त्यति टाढा तँ जान सौदिनस् जुने ..... पछि फेरि लैजाम्ला तँलाई ।” जुनेले आफ्नो अनुहार बिगार्दै सबैका अनुहारमा पालैपालो हेरी । एक्कासि डाँको छोडेर रुदै भुइँमा लडिबुडी गर्न लागी । नाकका सिँगान गालातिर लत्पतिए । आँखाबाट झरेका आँसु र मुखबाट बगेको र्‍यालले पनि गालाका सिँगानलाई भरपुर साथ दिए । भुइँको माटो र जुनेका गालामा लत्पतिएका सिँगान पिरती गाँस्दै एकअर्कामा समाहित भए । लडिबुडी गर्दा जुनेको घाँगर माथितिर फर्कियो । कहिल्यै कट्टु नलगाउने जुनेले त्यस दिन पनि लगाएकी थिइनँ ।

“....तेरो पाँच रुप्पे दे त ज्ञाने” लिखेले बहिनीतिर हेर्दै भन्यो । कैयौँ दिनदेखि खर्च गर्न लोभ गरेर राखेको पाँच रुपैयाँ दिन ज्ञाने अन्कनायो ।

“...तँ मुर्दारको पाँच रुप्पे खान्नँ के ! तिरम्ला” लिखेले पैसो खान्न भने पनि ज्ञानेलाई चैखाउँलाझैँ गर्‍यो । हुन पनि लिखे त्यसदिनकाे सिनेमाको प्रायोजक थियो । डाँको ठूलो त हुने नै भयो ।

“... लाऽऽ !” ज्ञानेले पाँचको नोट जुनेतर्फ मिल्कायो । जुने रुन छोडेर जुरुक्क उठी । नोट टिपी र घाँगर मिलाई । दाहिने हातको नाडी उचालेर नाकको सिँगान पुछी । सिँगानमा मुछिएको माटो गालाको एकातर्फ सोरियो । गोरो छालामा माटोको कालो घेरा बन्यो । जुने पसलतिर दौडिई ।

एकैछिनमा जुने चुइँगम चपाउँदै आई । गालाको सिँगान सुकेर कटकटिएको थियो । चुइँगम फुकेर ठूलो फोका बनाई । अझै फुकिरही । प्याट्ट आवाजमा फोका फुट्यो । पातलो पत्र ओठ, नाक र गालामा टाँसियो । टाँसिएको चुइँगम औला चिम्टी पारेर सप्पै सोहोरी । गालाको सिँगान र माटोको पाप्रो पनि उप्किएर चुइँगमसँगै मुछियो । पाप्रो उप्किएको गोरो गालाको भुइँ सफा देखियो । हातका  दुई हत्केलाबीचमा घुमाउँदै डल्लो पारी । चुइँगमको डल्लो क्वाप्प मुखमा हालेर फेरि चपाइ ।

चुइँगमको गुलियो त अलिअलि बाँकी नै हुँदो होे । सिगाँनको नुनिलो पनि थपियो । चिरपरिचित स्वाद सिँगानले केही फरक परेको त होइन । तर माटो चपाइँदा दाँतलाई पक्कै सहजता भएन । थुकिदिइ । ज्ञानेले भुईँको चुइँगमको डल्लोलाई निकै घोरिएर हेर्‍यो । घरमा कुरो नखुस्काउन हामीले जुनेलाई राम्रैसँग करायौँ । लिखेले बहिनीलाई घर पठायो । हामी चाबेलतिर लाग्यौँ ।

हामीले सबैभन्दा सस्तो टिकेट किनेर सिनेमा हेर्‍यौँ । लिखेसँग अझै पचास रुपैयाँ बाँकी नै थियो । तर ज्ञानेको पाँच रुपैयाँ भने तिरेन । ज्ञानेले पनि माग्ने हिम्मत गरेन । 

हामी फर्कँदै गर्दा प्रहरीको एउटा भ्यान अघि लाग्यो । भ्यानको पछाडि अरू प्रहरीहरूसँगै दन्ते मामा पनि उभिएका थिए । लिखे जोडले चिच्यायो, “...दन्ते मामाऽऽऽ !” भ्यान नरोकिई अघि लाग्यो । मामाले पनि सुनेनन् । 

“पुलिस्सँग तेरो मामाकाँ जान ला?” मैले सोधेँ । “यत्रा चोरी र लुटपाट बढ्याख । चोर कसरी समात्ने भनेर सल्ला गर्न लग्या होलान् नि । मामा त सिङ्गापुरको पुलिस पो हुन् त । नेपालको पुलिसले हाम्रो दन्ते मामासँ सिक्ने कुरा कति ख कति !”

त्यस दिनपछि दन्ते मामा कहिल्यै देखिएनन् । लिखेको कोठामा पनि आएनन् । आमालाई मामा खै भनेर सोध्दासोध्दा लिखे हैरान भयो । जवाफै दिइनन् । तै पनि ज्याद्रो लिखेले सोध्न छोडेन । एकदिन झर्कँर्दै भनिछन्,“....तेरो दन्ते मामा फेरि मामा घर पुग्यो ।”

“काँऽऽ ? पाहाड?” 

“हैन, जाँबाट आको त्यै ।”

“सिङ्गापुऽऽर?”

“हो !” 

“अब कैले आउँछन्?” 

“अब तेस्को घरबार सबै त्यै हो । उतै बस्छ अब । कुनै दिन फर्केर आउँदा पनि नआओस् ।” 

“सिङ्गापुराँ मामाको घरै ख?” 

“........ ” 

त्यस दिनबाट लिखेको घमण्ड झनै बढ्यो । आजकल सबैलाई फुर्ती लाउँदै हिँड्छ, “तेरो मामाघर काँ हो भन् त ? मेरो त सिङ्गापुर !”
 

अन्तिम अपडेट: असार १०, २०७६

तपाईको प्रतिक्रिया