भूकम्प पीडितहरुकाे छुट तथा पुनः जाँच सर्वेक्षणको म्याद १५ दिन थपियाे

 जेठ ३२, २०७६ शनिबार १६:३३:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले छुट तथा पुनःजाँच सर्वेक्षण अन्तर्गत स्थलगत लगत संकलनकाे म्याद १५ दिन थपेकाे छ ।

म्याद गप गरिएपछि लगत संकलन कार्य असार १५ गतेसम्ममा सकाउन सकिने भएकाे छ । यसअघि जेठ मसान्तसम्म सर्वेक्षण गरिने तय भएको भए पनि सबै जिल्लामा लगत संकलन कार्य सम्पन्न हुन नसकेकाले १५ दिन म्याद थपिएको हो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले भूकम्प पीडितहरुलाई ध्यानमा राखी म्याद थप गरिएको बताउनु भयो । २०७६ जेठ मसान्तभित्र दर्ता गरी कार्यविधिअनुसार सिफारिस प्राप्त भएका गुनासाहरुको सर्वेक्षणका लागि समय थप गरिएको हो ।

हालसम्म प्राधिकरणको केन्द्रीय सूचना प्रणालीमा जिल्लाहरुबाट ६० हजार गुनासोकर्ताको विवरण प्राप्त भएको छ । प्राधिकरणले याे समयावधिभित्र आआफ्नो क्षेत्रमा खटिएका प्राविधिकहरुमार्फत् लगत संकलन कार्य गराउन सबै गुनासोकर्तालाई आग्रह गरेको छ । वास्तविक पीडितहरुको यथार्थपरक लगत संकलन कार्यमा सहयोग गर्न र वैकल्पिक बासको व्यवस्था भएकाहरुलाई सर्वेक्षणमा समावेश नगर्न भूकम्प प्रभावित स्थानीय तहका पदाधिकारीहरुलाई प्राधिकरणले अनुरोध पनि गरेको छ ।

प्राधिकरणले गैरपीडितलाई सिफारिस गरिएको पाइएमा सिफारिसकर्तालाई कारबाही हुनेमा सचेत पनि गराएको छ । निजी आवास पुनर्निर्माण लाभग्राहीमा सूचीकृत हुन पाउँ भनी गुनासो दर्ता गराइ गुनासो सम्बोधनअन्तर्गत पहिलेको मुख्य सर्वेक्षणमा छुट भएका गुनासोकर्ताहरु, सर्वेक्षणबाट थप यकिन गर्नुपर्ने भनी तोकिएका गुनासोकर्ताहरुको हकमा मात्र सर्वेक्षण भइरहेको छ ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया