डडेल्धुरा सुत्केरी मृत्यु प्रकरण: छानबिन र क्षतिपूर्तिकाे सहमतिपछि विवाद साम्य

 जेठ ३२, २०७६ शनिबार २०:१५:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

डडेल्धुरा - डडेल्धुरा अस्पतालमा सुत्केरीको मृत्यु भएपछि उत्पन्न भएको तनाव तीन बुदे सहमतिपछि साम्य भएको छ ।

मृतकका आफन्तसँग तीन बुँदे सहमति भएपछि शनिबार दिउँसोबाट जिल्ला सदरमुकाम खलंगामा भएको प्रदर्शन रोकिएको छ । तीन बुँदे निर्णयमा सहमति जनाइ घटनाबारे आवश्यक सहयोग गर्न प्रशासन कार्यालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र पठाएपछि उग्र बनिरहेको प्रदर्शन शान्त भएको हो ।

अप्रेशन गरी शिशु जन्माएकी अमरगढी नगरपालिका–६, छचोडाकी २६ वर्षीया गीता ताम्राकारको शुक्रबार दिउँसो डडेल्धुरा अस्पतालमा मृत्यु भएपछि अस्पताल, जिल्ला प्रशासन कार्यालय र सडकमा मृतकका आफन्तले प्रदर्शन गर्दै सडक अवरुद्ध पारेका थिए ।

गृह मन्त्रालय, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखा, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सुदूरपश्चिम प्रदेश, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशलाई बोधार्थ गरी पत्र पठाइपछि प्रदर्शन रोकिएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिनुभयाे ।

प्रशासन कार्यालय र मृतकका आफन्तबीच भएकाे सहमतिमा घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन टोली खटाउने, मृतकको पोष्टमार्टम जिल्ला बाहिरका चिकित्सकबाट गर्ने र मृतकका आफन्तलाई नियमनुसार राहत उपलब्ध गराउने बुँदाहरु समेटिएका छन्।  

दिउँसो अवस्था चिन्ताजनक रहेको बताउँदै हेलिकोप्टरबाट काठमाण्डौ लैजान सल्लाह दिँएर खर्चको जोहो गर्न आफन्तलाई भनिएकाे र साँझ साढे पाँच बजे गीताको मृत्यु भएकाले आवश्यक छानबिन गरिनुपर्ने सहमति पत्रमा लेखिएको छ । 

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले दुई पक्षबीच घटनाबारे छानबिन गरेर दोषीमाथि कारबाही गर्ने सहमति भएकाे जानकारी दिनुभयाे । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया