विश्वकप क्रिकेट : भारत र पाकिस्तानबीच प्रतिस्पर्धा आज

 असार १, २०७६ आइतबार ८:३०:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

म्यानचेस्टरको विशाल सडक र ओल्ड ट्राफोटको स्ट्याण्ड, आईसीसी एकदिवशीय विश्वकप क्रिकेटको बहुप्रतिक्षित खेलमा समर्थकको उत्साहसँगै सानदार हुनेछ । यो खेल विश्व क्रिकेटकै रंगशालामा हाउसफुल र विश्वभर टेलिभिजनमार्फत करोडाैँले प्रतिक्षा गरिरहेको खेल हो ।

वर्षाका कारण रद्ध भएको न्यूजिल्याण्डविरुद्धको पछिल्लो खेलसँगै विराट कोेहलीको नेतृत्वमा रहेको भारतले परम्परागत चीर प्रतिस्पर्धी पाकिस्तानसँग म्यानचेस्टरको मैदानमा प्रतिर्पर्धा गर्दैछ । यस खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि सुरु हुनेछ ।

गएको फेब्रुअरीमा भारत प्रशाशित कास्मिरमा आतंकबादी हमलामा ४० भारतीय सैनिकको मृत्यु भएपछि भारत पाकिस्तान तनावले झण्डै युद्धको रुप लिएको थियो । क्रिकेटको मैदानमा लामो समययता यी दुईबीचको खेललाई युद्धकै रुपमा तुलना गरिन्छ ।

सन् २००८ को मुम्बई हमलामा पाकिस्तानको संग्लग्नता आरोप लगाउँदै भारतले क्रिकेटमा द्वीपक्षीय सम्बन्ध तोडेको थियो । सन् २०१२–१३ मा एकदिवशीय र ट्वान्टी २० श्रृंखलाका लागि पाकिस्तानले भारतको भ्रमण गरेको थियो । भारत र पाकिस्तान अन्तर्राष्ट्रिय प्रतियोगितामा मात्र आमने सामने हुँदै आएका छन् ।

प्रतियोगिताको सुरुआती दुई खेलमा दक्षिण अफ्रिका र अष्ट्रेलियाबिरुद्ध भारतीय पक्षको प्रदर्शन सबै क्षेत्रमा उत्कृष्ट थियो । तर, शिखर धवनको अनुपस्थिति र पाकिस्तानी फाष्ट बलर मोहम्मद अमिरको सानदार लयका कारण भारतीय ओपनिङमा सहज नहुन सक्छ ।

भारतको सुरुआत रोहित शर्मासँग केएल राहुलले गर्नेछन् । तर, खाली रहेको चौथो नम्बरमा दिनेश कार्तिक या विजय शंकरलाई जिम्मा दिनेबारे निर्णय भइनसकेको बताइएको छ ।

पाकिस्तानले इंग्ल्याण्डविरुद्ध अविश्वसनीय जित हासिल गरेको थियो । त्यसपछि उसले टाउनटनमा अष्ट्रेलियासँग ४१ रनले पराजित भयो । अष्ट्रेलियाबिरुद्धको खेलमा पाकिस्तानी बलरहरुले पारीको बीचबाट उत्कृष्ट पुनरागमन गरेका थिए । तर, ब्याट्सम्यानको कमजोर प्रदर्शन नै उसको हारको कारक बन्यो ।

अरफराज अहमदले अनुभवी सोएव मलिकको स्थानमा ह्यारिस सोहेललाई सुरुआती ११ मा सामेल गर्नेबारे बिचार गर्न सक्नेछन् । मलिकले प्रतियोगिताका ३ खेलमा फ्लप छन् ।

विश्वकपको हेड टू हेडको कुरा गर्ने हो भने भारत पूर्ण हावी छ । सन् १९९२ यता यी दुईबीच विश्वकपमा ६ पटक भिडन्त भएकोमा पाकिस्तानले अहिलेसम्म जित्न सकेको छैन । एकदिवशीय अन्तर्राष्ट्रियमा भने यिनीहरुले १३१ पल्ट खेलेकोमा पाकिस्तानले ७३ पल्ट जितेको छ ।

सरफराज अहमदको नेतृत्वमा रहेको पाकिस्तान जुनसुकै टिमलाई हराउने क्षमता राख्छ । सन् २०१७ मा इंग्ल्याण्डमै भएको च्याम्पियन्स ट्रफी फाइनलमा भारतविरुद्ध निकालेको १ सय ८० रनको जितको आत्मविश्वासलाई कायमै राखेर मैदानमा उत्रनेछ । पछिल्लो समय भारत र पाकिस्तान एसिया कपमा खेलेका थिए, जहाँ भारत विजयी भएको थियो ।

बहुप्रतीक्षित खेलमा सबैभन्दा चिन्ताको विषय वर्षा हो । बिहानको समयमा घाम लागे पनि मध्याह्नपछि म्यान्चेस्टरमा भीषण वर्षाको सम्भावना छ । दोस्रो ब्याटिङ गर्ने टिमले म्यान्चेस्टरको पछिल्लो पाँचमध्ये ४ खेलमा जित हासिल गरेको छ ।

वर्षाको सम्भावना भएकाले यस खेलमा पनि त्यस्तै नतिजा आउन सक्छ, त्यसैले टस जित्ने कप्तानले सम्भवतः फिल्डिङ रोज्नेछन् ।
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया