विकासमा साझा एजेण्डा बनाएर अघि बढ्न स्थानीय तहहरुलाई सरोकारवालाहरुको सुझाव

 असार २१, २०७५ बिहिबार १८:४६:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – छिटो विकास गर्न र ठूला आयोजनाहरु सम्पन्न गर्न भक्तपुरका सबै नगरपालिकाहरुको समन्वय आवश्यक रहेको सरोकारवालाहरुले जोड दिएका छन् ।

क्रियाशील पत्रकार मञ्च, भक्तपुरले नगरकोटमा आयोजना गरेको ‘जनप्रतिनिधिहरुको क्षमता अभिबृद्धि एवं भक्तपुरको विकासमा नगरपालिकाहरुको समन्वय’ विषयक दुईदिने अन्तरसम्वाद कार्यक्रममा विज्ञहरुले जिल्लाभरका स्थानीय तहहरुले समन्वय गर्नुपर्ने बताएका हुन् ।

बिहीबार सम्पन्न भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं पूर्व मन्त्री महेश बस्नेतले जनप्रतिनिधिले नेतृत्व, संगठन, विधि तथा प्रक्रिया अनुसार अगाडि बढ्नु पर्ने बताउनुभयो । 

जिल्लाको विकासमा नगरपालिकाहरु बीच समन्वय हुन नसके ठूला विकासको आयोजनाहरु प्रभाव पर्ने बताउँदै उहाँले आवश्यक ऐन, नियम, कानून सच्याएर जान सकिने बताउनुभयो । कार्यक्रममा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाले उत्पादनमुखी, ठूला र राम्रा कार्यक्रमहरु नगरपालिकाहरु बीच समन्वय गरेर अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो । 

उहाँले भन्नुभयो, ‘जिल्लाका नगरपालिकाहरुले अन्तर–नगरपालिकाबीच अन्तरसम्बन्ध विस्तार गर्दै साझा लगानीमा ठूला उत्पादनमुखी विकासका कार्य गरे सरकारले ५० प्रतिशतसम्म अनुदान दिन्छ, यसका लागि यहाँका सबै नगरपालिकाहरु मिलेर संयुक्त समिति बनाएर अगाडि बढे विकासले गति लिन्छ ।’

एउटा नगरपालिकामा आएका पर्यटकले सबै नगरपालिका घुम्ने गरी पर्यटकीय विकासको प्याकेज बनाएर साझा एजेण्डाका साथ नगरपालिका अगाडि बढे सरकारले सघाउँने बताउनुभयो । कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रले स्थानीय तहका अधिकारहरु दिनदिनै काटिँदै गएको बताउँदै संघीयतामा अधिकार केन्द्रीकृत गरिने अभ्यास तिब्र हुँदै गएको बताउनुभयो । उहाँले संघीय व्यवस्थाको परिचालनमा दुरुपयोग भइरहेको भन्दै संघीयता कार्यान्वयन चुनौती देखा परेको बताउनुभयो । 

सूर्यविनायक नगरपालिकाका उप–प्रमुख जूना बस्नेत, मध्यपुरथिमि नगरपालिकाको उपप्रमुख अञ्जना मधिकर्मीले विकासमा नगरपालिकाहरुको समन्वय र साझेदारीको नीति लिँदै एउटै जिल्ला भित्रको विकासका अवधारणा समान हुनुपर्ने बताउनुभयो । 

कार्यक्रममा प्राकृतिक श्रोत तथा वित्त आयोगका सहसचिव गोपी खनालले नगरपालिकाहरुले विकासमा अपनाउनु पर्ने अवधारणा, प्रारुप, गतिविधि कस्तो हुनुपर्छ भन्नेबारेमा प्रशिक्षण दिनुभएको थियो । 

कार्यक्रममा गैरसरकारी संस्था महासंघ, भक्तपुरका अध्यक्ष एवं पत्रकार सोम शर्मा (बजगाई), नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी, क्रियाशील पत्रकार मञ्च, भक्तपुरका अध्यक्ष एवं कार्यक्रमका सभापति रमेश गिरी, मञ्चका उपाध्यक्ष मकर श्रेष्ठ, सचिव जितेन्द्र श्रेष्ठले पाँच वर्षपछि जनप्रतिनिधिले बिदा लिँदा प्रंशसा र ताली पाउने गरी नागरिकको काम र विकास गर्नुपर्ने बताउँनुभयो । 
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया