भारतसँगको हारपछि पाकिस्तानकाे आलाेचना, शोएब अख्तरले भने : सरफराज 'ब्रेनलेस' कप्तान

 असार २, २०७६ सोमबार १६:८:१८ | एजेन्सी
unn.prixa.net

आईसीसी विश्वकप क्रिकेट २०१९ अन्तर्गत भारतसँग पराजित भएपछि पाकिस्तानी खेलाडीहरु आफ्नै देशमा आलोचनाको शिकार भैरहेका छन् । 

तर सबैभन्दा धेरै आलोचना शोएब मलिकको भैरहेको छ । उनी खेलको पहिलो बलमा नै आउट भएका थिए । हार्दिक पाण्ड्याको बलमा उनी बोल्ड आउट भए ।

पाकिस्तानमा सामाजिक सञ्जाल ट्विटरमा शोएब मलिकलाई ट्रेण्ड गरिएको छ । कसैले उनलाई भारतीय भनेका छन् भने कसैले दोहोरो शतक बनाउनबाट दुई सय रनले चुकेको बताइरहेका छन् । 

ट्विटरमा एउटा भिडियो भाइरल भैरहेको छ । जसमा पत्नी सानिया मिर्जासँगै शोएब मलिकलाई पनि देख्न सकिन्छ । भिडियोमा टेबलमा बोत्तल देख्न सकिन्छ र एक व्यक्ति हुक्का तानिरहेका छन् । रिसले चुर भएका एक पाकिस्तानी प्रशंसकले लेखेका छन्, ‘भारतसँगको खेल अघि कडा मेहनत गर्दै शोएब मलिक ।’

पाकिस्तानी क्रिकेट टिमका पूर्व कप्तानसमेत रहेका शोएब मलिकको यो नै अन्तिम अन्तर्राष्ट्रिय खेल भएको चर्चा पनि सुरु हुन थालेको छ । 

आईसीसी विश्व कप २०१९ मा शोएब मलिकले तीन खेल खेलिसकेका छन्, जसमा उनको प्रदर्शन सम्झनलायक छैन । उनले इंग्ल्याण्डविरुद्ध आठ, अष्ट्रेलियाविरुद्ध शून्य र भारतविरुद्ध पनि शून्य रन बनाए । यद्दपि शोएब मलिकले विश्व कपपछि एकदिवसीय अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिने घोषणा गरिसकेका छन् । 

भारतविरुद्धको खेलमा पाकिस्तानी प्रशंसकहरुले नै पाकिस्तान टिमको खुलेर मजाक उडाइरहेका छन् । 

पाकिस्तानी पत्रकार रेहान-उल-हक ट्विटरमा लेख्छन्, ‘कोहलीले एकदिवसीय क्रिकेटमा ४१ शतक बनाएका छन्, जब कि पूरै पाकिस्तानको ४१ शतक छ । म जान्छु कि पाकिस्तान टिमका लागि यो मुश्किल छ तर भारतीय टिम नै श्रेष्ठ छ ।’

भारतसँगको खेलमा टस जितेर पहिला फिल्डिङ गर्ने पाकिस्तानी कप्तान सरफराज अहमदको फैसललाई लिएर पनि धेरैले सवाल उठाइरहेका छन् । 

पूर्व पाकिस्तानी खेलाडी शोएब अख्तरले भनेका छन्, ‘यस्तो ब्रेनलेस कप्तान कोही कसरी हुनसक्छ ? पाकिस्तानको ब्याटिङ कमजोर छ भन्ने कुरा सरफराजलाई थाहा हुनुपर्ने हो ।’

‘बाबर आजम म कोहलीको प्रशंसक हुँ भन्छन् तर कोहलीबाट केही पनि सिक्दैनन् । इमामसँग पनि कुनै कला छैन । पाकिस्तानी टिमको कप्तान व्यवस्थापनको अघि कार्टुनजस्तै छन्,’ शोएब अख्तरले भने । 

उता पाकिस्तानी क्रिकेट टिमका पूर्व कप्तान वसीम अकरमले पनि बर्सेनि भारतको खेल सुधारिँदै गएको र पाकिस्तानको खेल भने खस्कँदो अवस्थामा रहेको बताए । ‘भारतले आफ्नो प्रथम श्रेणीको क्रिकेटमा राम्रो लगानी गरेको छ । पाकिस्तानी प्रथम श्रेणीको क्रिकेट केही जान्ने मान्ने पत्रकारहरुले चलाइरहेका छन् ।’

भारतसँगको हारपछि पाकिस्तानी क्रिकेट टिमको भविष्यलाई लिएर पनि बहस हुन थालेको छ । धेरैले यही अवस्था रहे पाकिस्तानको घरेलु क्रिकेट नै समाप्त हुने बताइरहेका छन् ।  
 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया