जुम्ला-मुगु सीमा विवाद : समाधान गर्न घुच्चीलेकमा बैठक

 असार २, २०७६ सोमबार १५:२८:४९ | नेत्र शाही
unn.prixa.net

जुम्ला – मुगु र जुम्लाको सीमा विवाद समाधान गर्न झण्डै चार हजार मिटर उचाइमा रहेको घुच्चीलेकको सिम्पाटीचौरमा दुई जिल्लाका जनप्रतिनिध, सुरक्षा प्रमुख र स्थानीयको सहभागिता बृहत् छलफल सम्पन्न भएको छ ।

मुगु जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर रोकाया, छायानाथ रारा नगरपालिकाका उपमेयर सुन्तला रोकाया, कनकासुन्दरी गाउँपालिका जुम्लाका अध्यक्ष नरविर रावतसहित जुम्ला र मुगुका सुरक्षा प्रमुखहरु तथा स्थानीयको उपस्थितिमा दुई जिल्लाकोे सीमाको विषयमा स्थानीय स्तरमा छलफल भएको छ ।

दुई वर्ष अगाडि मुगुको छायानाथ रारा नगरपालिकाले गेट हालेपछि जुम्लाका स्थानीयले भत्काएर सीमासम्बन्धी विवाद चर्किएको थियो । भोगचलनको आधारमा जुम्ला कनकासुन्दरी १ र छायानाथ रारा नगरपालिका १ ले गेट हालेको स्थान र सिम्पाटीचौर आ–आफ्नै दाबी गर्दै आएका थिए ।

आइतबार दुई जिल्लाको घुच्चीलेकको सिम्पाटीचौरमा स्थानीयको दाबी र मागको विषयमा के कस्तो हो ? समस्या सामाधान गर्न दुवै जिल्लाका नापी कार्यालय प्रमुखसहितको टोली सुरक्षा निकाय र जनप्रतिनिधिहरु घुच्ची लाग्ना पुगेका थिए ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेको अध्यक्षतामा घुच्ची लाग्नामा सम्पन्न दुई जिल्लाको सर्वपक्षीय वैठकले सीमासम्बन्धी भएको विवादका विषयमा सीमाको निर्धारण सम्बन्धमा नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई नापी नक्साको आधारमा सीमा विवाद टुंगो लगाउन अनुरोध गर्ने निर्णय गरिएको छ । गाई चराउने, भेडा चराउने लेक साझा भएकाले आफूहरुसँग समन्वय नगरी जुम्लाको सीमामा गेट लगाउने काम भएकाले आवाज उठाइएको कनकासुन्दरी वडा नम्बर १ का अध्यक्ष हरिबहादुर भण्डारीले बताउनुभयो । उ

ता छायानाथ रारा नगरपालिका वडा नम्बर ७ का अध्यक्ष हरिजंग शाहीले लगाएको गेट भत्काइएको हुँदा विवाद बढेको बताउनुभयो ।  छलफल वैठकमा नापी कार्यालय जुम्लाका प्रमुख भरत बुढ्थापा र मुगुका प्रमुख हरिहर चौलागाईले नापी नक्साकै आधारमा विवाद टुंगो लाग्नेमा जोड दिएका थिए । यसैगरी दुव ैजिल्लाका सीमाका वडाहरुले आ–आफ्नै जग्गा भएको दावी गर्दै आएका छन् । कनकासुन्दरी गाउँपालिका अध्यक्ष नरवीर रावतले भोगचलन दुवैको भए पनि सीमा निर्धारण विषयमा नेपाल सरकार र नापी नक्साकै आधारमा निर्धारण हुनुपर्नेमा जोड दिनुभयो । 

अन्तरजिल्ला सुरक्षा समन्वय बैठक  

यसैगरी जुम्ला र मुगु जिल्लाको सीमामा जुम्ला र मुगु जिल्लाको सुरक्षा प्रमुखहरुको उपस्थितिमा समन्वयात्मक सुरक्षा बैठक सम्पन्न भएको छ । 

जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे र मुगुका प्रमुख जिल्ला अधिकारीको जयकुमार घिमिरे, दुवै जिल्लाका नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानलगायतका सुरक्षा प्रमुखसहित सुरक्षा प्रमुखहरुको उपस्थितिमा घुच्ची लाग्ना सिम्पाटीचौरमा अन्तर जिल्लाको सुरक्षा समन्वयात्मक बैठक बसेको जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुई जिल्लाकोे शान्ति सुरक्षा र वर्तमान सुरक्षा अवस्थाका विषयमा सेयरिङ तथा समन्वयात्मक छलफल तथा निर्णय भएकोे छ । 
   
  
 

अन्तिम अपडेट: चैत १५, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया