अनुमति बिना भारतीय प्रहरी अछाममा

 असार ३, २०७६ मंगलबार ११:३०:१० | चन्द्र थापा
unn.prixa.net

अछाम – अनुमति बिना नै सादा पोसाकका तीन जना भारतीय प्रहरी अछाम आएका छन् । जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकाका एक युवकले भारतबाट केटी भगाएर ल्याएपछि भारतको कोरवा जिल्ला छत्तीसगढ़बाट तीन जना प्रहरी बिना अनुमति अछाम पुगेका हुन् ।

उनीहरूका साथमा कोरवा प्रहरीको पत्र रहेको जनाइएको छ । सोमबार दिउँसो अछाम पुगेका भारतीय प्रहरीलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको तर नियन्त्रणमा भने नलिइएको अछाम प्रहरीले जनाएको  छ । भगाएर ल्याएकी केटी र केटालाई पनि आफूसँगै राखिएको जिल्ला प्रहरी कार्यालय अछामका निमित्त कार्यालय प्रमुख कलेन्द्रविक्रम शाहीले बताउनुभयो । भारतीय प्रहरी जयगढ पुगेपछि गाउँमा नगएको र पहिला प्रहरीको सम्पर्कमा आएको उहाँको भनाइ छ ।

कोरबा छत्तीसगढ शान्तिनगर ७ भारत बस्ने वर्ष ३८ की उर्मिला राठोरको काइँली छोरी कुमारी काजोल राठोरलाई अछामका केशव सोनीले भागाएको भन्ने उजुरी दिएको र त्यसको सहयोग र समन्वयका निम्ति भारतीय प्रहरी अछाम आएको शाहीको भनाइ छ ।

प्रहरी निरीक्षक शाहीले संघीय प्रहरी इकाइ कार्यालय धनगढीलाई पत्र लेख्दै आवश्यक समन्वयको व्यवस्था गरिदिन भन्ने व्यहोरा आएको भन्दै यही कुरा अवगत गराएका छन् । सादा पोसाकमा अछाम आउने भारतीय प्रहरीमा अशोक पाण्डे, हवल्दार खगेश राठोर र जवान लक्ष्मी पटेल रहेका छन् ।

सादा पोसाकका भारतीय प्रहरी अछाम आएको जानकारि पछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य एवं पूर्व गृहमन्त्री भीम रावलले तत्काल गृह सचिव प्रेम राई र अछाम जिल्लाका प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठलाई ती प्रहरीलाई तत्काल नियन्त्रणमा लिन आग्रह गर्नुभएको थियो ।

घटनाको जानकारी पाए लगत्तै अछामका प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले तीनै जना भारतीय सुरक्षाकर्मीलाई जयगढबाट जिल्ला प्रहरी कार्यालय अछाममा ल्याइएको र प्रहरीसँगै राखिएको जानकारी दिनुभयो । ‘जुन उद्देश्यले भारतीय प्रहरी अछाम पुगेका छन्, त्यसका लागि नेपालको अनुमति लिनुपर्ने हुन्थ्यो’ प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भन्नुभयो ‘उनीहरुको प्रक्रिया पुगेको  छैन ।’  भारतीय प्रहरीले खोजिरहेका बान्नीगढी जयगढ गाउँपालिकाका केटा र उनले ल्याएकी भारतीय केटी पनि अहिले जिल्ला प्रहरी कार्यालयमै रहेको श्रेष्ठले जानकारी दिनुभयो । केटा र केटी आफैँ प्रहरीकहाँ आएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठको भनाइ छ ।

भारतीय  प्रहरी र केटाकेटीलाई सुरक्षित रुपमा प्रहरी कार्यालयमा राखिएको र अगाडिको प्रक्रियाका लागि छलफल भैरहेको अछाम प्रशासनले जनाएको छ । भारतीय प्रहरी र उनीहरुले खोजेको केटा केटीका विषयमा अब के हुन्छ ? भन्ने जिज्ञासामा प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले भन्नुभयो ‘आवश्यक प्रक्रिया बारे परामर्शमा छौँ, भारतीय केटीलाई लिन उनका आफन्त कोही आएमा सबै प्रक्रिया पुगाएर पठाउने हो, प्रहरीसँग पठाउने होइन।’ 
 

अन्तिम अपडेट: चैत १४, २०८०

चन्द्र थापा

अछामका उज्यालो सहकर्मी चन्द्र थापा रेडियो रामारोशनमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया