संसदमा दिएकाे अभिव्यक्तिकाे विराेध, का‌ंग्रेस सांसद बडू माफी माग्न बाध्य

 असार ३, २०७६ मंगलबार १३:२:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले संसदमा दिएको अभिव्यक्तिले फरक क्षमता भएका व्यक्तिलाई चोट पुग्न गएको भन्दै माफी माग्नु भएको छ । 

संसदमा प्रस्तावित गुठी विधेयकका बारेमा आफ्नो धारणा राख्ने क्रममा कांग्रेस सांसद बडूले सरकारको आलोचना गर्न फरक क्षमता भएका व्यक्तिलाई होच्याउने शब्द प्रयोग गर्नु भएको थियो ।

बडूको अभिव्यक्तिप्रति पत्रकार गजेन्द्र बुढाथोकीले सामाजिक सञ्जालमै आलोचना गर्दै बडूले प्रयोग गरेका आपत्तिजनक शब्दहरु संसदको रेकर्डबाट हटाउन माग गर्नु भएको थियो । त्यसपछि कांग्रेस सांसद गगन थापाले पत्रकार बुढाथोकीको माग जायज भएको भन्दै त्यसलाई सम्बन्धित ठाउँसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

पछि कांग्रेस सांसद बडूले आफूले कुनै समूहलाई चोट पुर्‍याउन नखोजेको भन्दै माफी माग्नु भएको छ । उहाँले पत्रकार बुढाथोकीको ट्वीटमा जवाफ दिँदै लेख्नु भएको छ, ‘प्रस्तुत गुठी विधेयककोविरुद्ध बढ्दो आन्दोलनलाई सरकारले नदेखेको तथा जायज आवाजलाई नसुनेको दोषारोपण गर्दा प्रयोग भएका शब्दहरुबाट पर्न गएको पीडाका निमित्त क्षमा याचना गर्दछु । फरक क्षमता भएका व्यक्ति वा समूहलाई पीडा पुर्याउने मेरो कुनै आशय कदापि हुन नसक्ने यथार्थ समेत अनुरोध गर्दछु ।’
 

 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया