ईञ्जिनियर बन्ने लक्ष्य बोकेका सन्तोषको पानी व्यापार

 असार ३, २०७६ मंगलबार १३:२८:४७ | बेदानन्द जाेशी

काठमाण्डौ – ‘पानी लिनुहोस् पानी, चिसो पानी..... ।’ दुईवटै हातमा चार/पाँचओटा पानीका बोत्तल बोकेका सन्तोष कँडेल सुकेधारा नजिकैको शंखपार्कभित्र छिर्नुभयो । शंखपार्क भित्र जान पैसा तिर्नुपर्दैन । 

पार्कभित्र सानो पसल पनि छ । त्यहाँ आउनेजाने मानिस त्यही पसलबाट पानी किन्छन् । बाहिरको मान्छेले यसरी पानी बेचे आफ्नो व्यापार नहुने भन्दै भित्रका पसलले सन्तोषलाई सितिमिती पानी बेच्न दिंदैनन् । तर सन्तोषले पानी बेचेरै छाड्नुहुन्छ ।

हातमा पानीका बोतल । पिठ्युँमा झोला । मुखमा मास्क । अग्लो पातलो कद । रामेछापका सन्तोष  काठमाण्डौको प्रायः कोटेश्वरदेखि नयाँबसपार्कको सडक र पार्कतिर भेटिनुहुन्छ ।

बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म पानी बेच्नुहुन्छ । दिनभरीको सडकको धुलोधुवाँले भरिएको शरीर र गोजीभरी पानी बेचेको पैसा बोकेर साँझ डेरा फर्किनुहुन्छ । त्यसपछि नुहाएर खाना खाएपछि सन्तोष पलेंटी कसेर पढ्न थाल्नुहुन्छ । भन्नुहुन्छ, ‘म त बिहानभन्दा राति नै पढेको बढी बुझ्छु , कहिलेकाहीँ त रातभरी पनि पढ्छु ।’

घरबाट ल्याएको पैसाले काठमाण्डौमा बसेर पढ्नको लागि नधान्ने भएकाले सन्तोषलाई केही गर्नैपर्छ भन्ने लाग्यो । काम पनि खोज्नुभयो । तर भनेजस्तो काम कतै नपाइने र पाइएको काम पनि चित्तबुझ्दो नभएपछि उहाँको मनमा अब आफैले केही गर्नुपर्छ भन्ने सोच पलायो ।

त्यसपछि सुरु भयो सडकमा व्यापारको काम । उहाँ पानी सँगसँगै मौसम अनुसार व्यापार पनि गर्नुहुन्छ, कहिले बदाम, काँक्रा त कहिले आइसक्रिम ।

खाने मुखलाई जुँगाले छेक्दैन भनेझैं दिनभरी यसरी काम गरेर पनि सन्तोषले क्याम्पस पढिरहनुभएको छ । बिहान ६ बजेदेखि १० बजेसम्म क्याम्पस छ । त्यसपछि उहाँको आफ्नै व्यापार सुरु हुन्छ । 

काम गर्न थालेको दुई वर्ष जति भयो । यो बीचमा उहाँले धेरैलाई पानी बेचिसक्नुभयो । उहाँ प्रायःजसो बस रोकिने ठाउँमा, पार्कतिर र कहिलेकाहीँ बसभित्रै गएर पनि पानी बेच्नुहुन्छ । 

पानी बेच्ने क्रममा थरिथरिका मान्छे भेटिन्छन् । कतिपयले सन्तोषको कामको तारिफ पनि गर्छन् । यस्तो भर्खरैको युवाले पानी बेचेको देखेर ५, १० रुपैयाँ बढी दिएर पनि पनि पानी किन्छन् । कसैले कस्तो महँगो भनेर किन्दैनन् ।

दैनिक थरिथरिका मान्छेसँग भेट हुँदा रमाइलो हुने उहाँ बताउनुहुन्छ । पार्कतिर आफूजस्तै उमेरका केटाकेटीहरु बसेको ठाउँमा पनि पानीका बोत्तल लिएर पुग्नुहुन्छ। 

कहिलेकाहीँ उनीहरुले यति हेण्डसम मान्छेले पनि किन यस्तो काम गरेको भनेर सोध्छन् । यस्तोमा उहाँको जवाफ हुन्छ, ‘हेण्डसम भएर मात्र खान पुग्छ र ?’

काम गर्दा रमाइला नराम्रा क्षणहरु आइरहन्छन् । सन्तोषलाई पनि कयौँपटक यस्ता घटना झेल्नुपर्यो । पानी बेच्न बसभित्र जाँदा बसका सहचालकसँग त कतिपट बाझाबाझ पनि भयो । त्यसपछि उहाँले बसभित्र पानी बेच्नै छाड्नुभयो ।

‘पहिले पहिले बसभित्रै गएर पनि पानी बेचिन्थ्यो, तर सहचालकले गाली गर्ने, कतिपटक त  बाझाबाझ पर्यो’, उहाँले काम गर्दाको दुखेसो पोख्नुभयो, ‘यति सानो काम गर्न लाग्दा पनि कति धेरै लफडा हुने के, यस्तो काम गर्नेलाई त सहचालकले पनि हेप्ने ।’

देशमा कामको सम्मान नभएको देख्दा सन्तोषको मन कुँडिन्छ । उहाँ भन्नुहुन्छ, ‘काम सानो ठूलो भन्ने हुन्छ र ? न आफू गर्छन् न त अरुले गरेको देखिसहन्छन् ।’

२४ वर्षीय सन्तोष पानी बेच्ने काम मात्र गर्नुहुन्न, साथमा पढाइ पनि गर्नुहुन्छ । विज्ञान विषय लिएर पशुपती बहुमुखी क्याम्पसमा स्नातक प्रथम वर्ष अध्ययन गरिरहनुभएका सन्तोषको भविष्यमा इञ्जिनियर बन्ने रहर छ ।

यति ठूलो लक्ष्य बोकेको मान्छेले काम र पढाईको समय कसरी मिलाउन  सक्छ होला भन्ने धेरैलाई लाग्छ । उहाँ भन्नुहुन्छ, ‘म त राति ४, ५ घण्टा त सधैँ पढ्छु, त्यति पढे पुगिहाल्छ ।’

हातमा पानीका बोत्तल र काँधमा जिम्मेवारी बोकेर उहाँ दिनभरी काठमाण्डौका सडकमा तिर्खाएका बटुवालाई पानी बेच्नमा व्यस्त हुनुहुन्छ ।

‘भाग्यभन्दा मेहनतलाई विश्वास गर्छु । पहिला दुःख गरे पो पछि सुख हुन्छ’, उहाँ भन्नुहुन्छ । 

सन्तोषलाई कतिसम्म आफू यो काम गर्छु भन्ने त थाहा छैन । तर अन्त राम्रो काम नपाउँदासम्म यही काम गरिरहने उहाँको सोच छ । 

कामबाट राम्रै कमाइ

बिहान ६ बजेदेखि १० बजेसम्म क्याम्पस छ । क्याम्पसबाट फर्केर उहाँ पानी बेच्न हिँड्नुहुन्छ । पानी बेचेर दैनिक ८ सयदेखि १२ सय रुपैयाँसम्म कमाइ गर्नुहुन्छ ।

उहाँ पानीसँगै काँक्रा, जाडोको बेला बदाम र तितौरा पनि बेच्नुहुन्छ । वैसाख, जेठमा गर्मी हुने भएकाले पानी  बढी बिक्री हुने उहाँ बताउनुहुन्छ । ‘दैनिक १०० बोत्तल पानी बेच्छु’, उहाँले भन्नुभयो, ‘यति पानी नबेचेर त म घर फर्किन मनै लाग्दैन ।’

उहाँ कार्टुनको हिसाबले पानी खरिद गर्नुहुन्छ । एक कार्टुन पानी किन्दा एक बोत्तलको १२ रुपैयाँ जति पर्छ । त्यसलाई उहाँ २० रुपैयाँमा बेच्नुहुन्छ । दिनमा सय बोत्तल बेचेमा उहाँको कमाइ आठसय रुपैयाँ पुग्छ ।

‘कहिलेकाहीँ त डेढ, दुईसय बोत्तल पनि बिक्री हुन्छ’, उहाँले गर्वका साथ भन्नुभयो, ‘यति बेच्न सकेपछि दैनिक १६ सय रुपैयाँ जति पनि कमाइन्छ ।’ 

व्यापारको तरिका

पानी कसरी किन्ने भनेर उहाँले नयाँ जुक्ति लगाउनुभएको छ । उहाँले पानी बेच्ने क्षेत्र भनेको कोटश्वरदेखि नयाँ बसपार्कसम्म हो । सधैँ यही रुटमा पानी बेच्नुहुन्छ । 

कोटेश्वर, गौशाला, चावहिल, चक्रपथ, सामाखुसी, गोंगबु र बसपार्क चोकमा उहाँले सधैँ पानी किन्ने पसल छन् । पसलवालासँग राम्रै सम्बन्ध छ । 

उहाँ सधैँ तिनै पसलहरुबाट पानीका कार्टुन किन्नुहुन्छ । त्यो क्षेत्रमा जानुभन्दा अगाडि एकपटक पसलेलाई फोन गरेर आफू त्यहाँ आइरहेको जानकारी दिनुहुन्छ र पानीलाई फ्रिजमा राख्न लगाउनुहुन्छ । 

‘यस्तो गर्मी छ, यस्तोमा चिसो पानी भनेपछि बाटोमा हिँड्नेहरुले किनीहाल्छन्, पसलमा गएर किन्ने हो भने फ्रिजमा राखेको पानीको २५ रुपैयाँ पर्छ’, उहाँले मुस्कुराउँदै भन्नुभयो, ‘कसैलाई पानी पिउन मन लागिरहेको हुन्छ, आफ्नै अगाडि चिसो पानी पाएपछि त किनिहाल्छन् नि ।’ 

विदेश हैन, आफ्नै देशमा केही गर्ने सोच

सन्तोषले अहिलेसम्म विदेश जाने सोच्नुभएको छैन । विदेशभन्दा आफ्नै देशमा केही गर्नुपर्छ, उता गर्ने दुःख यतै गरे विदेश जानु नपर्ने उहाँको भनाइ छ । 

‘विदेश गएर हामी एकैछिनमा हाकिम बन्ने होइन, त्यही भएर उता गर्ने काम यतै गर्नुपर्छ’, उहाँ भन्नुहुन्छ, ‘म त मेरो साथीहरुलाई पनि विदेश नजाउ भनेर सल्लाह दिन्छु ।’

विदेशमा गएर जुठाभाँडा मस्काउनुभन्दा स्वदेशमै केही गर्न सकिंदैन र ?, उहाँ प्रश्न गर्नुहुन्छ । सरकारले विद्यार्थीको लागि पढाइसँगै कामको व्यवस्था गरिदिए राम्रो हुने उहाँ बताउनुहुन्छ । 

‘विद्यार्थीको लागि मात्रै भनेर सरकारले दैनिक केही घण्टा काम गर्न मिल्ने गरेर रोजगारको व्यवस्था गरिदिए हुने थियो’, उहाँले भन्नुभयो । उहाँ दाइ, भाइ र बुवासँगै मित्रपार्कमा बस्नुहुन्छ । भाइ पढ्दैछ । दाइ काठमाण्डौमै काम गर्नुहुन्छ । बुवा थर्मसमा चिया बोकेर बेच्ने काम गर्नुहुन्छ । 

‘बुवाले पनि धेरै पहिलेदेखि थर्मसमा चियो बोकेर बेच्दै आउनुभएको छ, उहाँले पनि यसरी चिया बेचेर महिनाको ४० हजार रुपैयाँ जति कमाउनुहुन्छ’, सन्तोषले काम सानो ठूलो हुँदैन भन्ने कुरा बुवाबाटै सिक्नुभयो । भन्नुहुन्छ, ‘बुवाले पनि यस्तै काम गरिराखेकोले आफूलाई पनि काम गर्न कुनै अप्ठ्यारो लाग्दैन ।’


 

अन्तिम अपडेट: असोज २७, २०७६

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया