‘डर’ फिल्ममा काम गरेपछि शाहरुख र सन्नी देवलबीच १६ वर्ष बाेलचाल बन्द

 असार ३, २०७६ मंगलबार १९:३६:४० | उज्यालो सहकर्मी
unn.prixa.net

सन्नी देवल, शाहरुख खान र जुही चावला अभिनित फिल्म ‘डर’ एक समयको हिट फिल्म हो र आज पनि यस फिल्मलाई बलिउडका सदावहार फिल्ममध्येको एक मानिन्छ ।

यस फिल्मले अभिनेता शाहरुख खानको करियरलाई नयाँ उचाइमा पुर्‍याएकाे थियो तर यही फिल्म शाहरुख र सन्नीबीचको झगडाको कारण बनेको थियो । फिल्म ‘डर’ पछि सन्नी देवल शाहरुख खानसँग १६ वर्षसम्म बोलचाल नै गरेनन्। 

सन्नी देवलले यस विषयमा अहिले फेरि एक पटक मिडियामा बयान दिएका छन् । सन्नी देवललाई एक टेलिभिजन कार्यक्रममा  १६ वर्षसम्म शाहरुख खानसँग किन बोलचाल बन्द गर्नुभयो भनेर सोधिएको प्रश्नमा उनले भने, ‘मैले बोल्न बन्द गरेकाे हाेइन, वास्तवमा मैले आफूलाई त्यस्ता व्यक्तिहरुबाट टाढा राखेको हुँ । यदि कहिल्यै भेट नै भएन भने त्यहाँ बोलचाल हुने कुरा नै भएन ।’ 

सन्नीले अगाडि भने, फिल्ममा दर्शकले मलाई मन पराएका थिए, शाहरुखलाई पनि मन पराएका थिए । दर्शकले हिरोलाई भन्दा बढी खलनायकलाई महत्व दिएपछि मलाइ समस्या भयाे । म फिल्ममा सधैँ खुल्ला हृदयले मानिसहरुमाथि विश्वास गरेर काम गर्छु । तर दुर्भाग्यवश केही यस्ता मानिस र अभिनेताहरु छन् जो यसरी काम गर्दैनन् । सायद उनीहरु यत्तिकै स्टारडम चाहन्छन ।’ 

वास्तवमा त्यस समयमा अभिनेता सन्नी देवल निकै ठूला स्टार थिए । यसै कारण यश चोपडाले उनलाई नै ‘डर’ फिल्मका २ वटा पात्र राहुल मेहरा र सुनील मल्होत्राको भूमिका मध्यबाट एकलाई रोज्न भनेका थिए । सन्नी देवललाई सुनील मल्होत्राको सकारात्मक भूमिका सही हुने लाग्याे र त्यही भूमिका रोजे ।शाहरुख खानले राहुल मेहराको भूमिका पाए ।

यस अघिको एक अन्तरवार्ताको क्रममा पनि सन्नीले भनेका थिए, ‘जब ‘डर’ फिल्म बनाइँदै थियो त्यसबेला मलाई यस फिल्ममा हिरोलाई भन्दा खलनायकलाई धेरै दमदार रुपमा देखाइनेछ भनेर भनिएको थिएन । म आफ्नो फिल्मको बारेमा पहिले नै निर्देशकसँग सबै कुराको जानकारी लिने गर्छु । तर जब मलाई फिल्मको अन्त्य यसरी हुदैछ भनेर थाहा भयो, म आफुलाई दिइएको धोकाका कारण हैरान भएको थिएँ । म सँग झुटाे बोलिएको थियो । यसै कारण मैले त्यसपछि यशराजसँग साथ काम गर्नै छोडिदिएँ ।’

‘डर’ फिल्मको छायांकनको क्रममा शाहरुख खानले सन्नी देवललाई चक्कु प्रहार गर्नुपर्ने थियो । फिल्मको स्क्रिप्टमा पनि यही कुरा लेखिएको थियो । तर फिल्मको त्याे दृश्यलाई लिएर सनी देवल र यश चोपडाबीच लामै बहस चलेको थियो । सन्नी देवलका अनुसार फिल्ममा उनको भूमिका एक फिट कमाण्डोको थियो, त्यसैले उनी एउटा फिट कमाण्डोलाई साधारण केटोले चक्कु प्रहार गर्न सक्छ भन्नु ठिक नभएकाे तर्क राखेका थिए ।

तर निर्देशक यश चोपडाले त्यो दृश्य गर्नैपर्ने भनेपछि पछि छाया‍ंंकन गरिएको थियो । त्यो दृश्य छायांकन गर्ने क्रममा सन्नी देवलले रिसाउँदै आफ्नै पाइन्ट च्यातेका थिए । याे घटनाको खुलासा पनि सन्नी देवल आफैँले गरेका हुन् ।

साइकोलोजिकल थ्रिलर प्रेम कहानीमा आधारित फिल्म ‘डर’ मा शाहरुख खान निकै नै जिद्दी र पागल प्रेमीको भूमिकामा छन् । जसले फिल्मकी अभिनेत्री जुही चावलालाई पाउनका लागि कलेज पढ्दादेखि उनको प्रेमी (सन्नी देवल) सँग विवाह भइसक्दा पनि पछ्याउने गर्छन् । अभिनेता सन्नी देवल एक समझदार र असल श्रीमानका साथै कमाण्डो अफिसरको भूमिकामा छन् । 

 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया