हावाहुरी पीडितको घर निर्माणमा युवा सक्रिय

 असार ४, २०७६ बुधबार १०:२२:१६ | सीताराम ओझा
unn.prixa.net

कैलाली – कैलाली र कञ्चनपुरमा विनाशकारी हावाहुरी आएको दुई हप्ता भैसक्दा समेत पीडितले राहत पाउन सकेका छैनन् । स्थानीय, प्रदेश र संघीय सरकारले आवश्यकता अनुसार राहत दिन नसकेपछि विभिन्न राजनीतिक दलमा आवद्ध युवा सक्रिय भएका छन् । उनीहरु पीडितको घर बनाउने काममा जुटेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठनका नेता कार्यकर्ता पुनर्निर्माणमा जुटेको एक हप्ता भैसकेको छ । हुरी प्रभावित क्षेत्रमै गएर उनीहरुले क्षति भएका घर टहरा निर्माणदेखि विभिन्न सहयोग गरिरहेका छन् । २५ जना विद्यार्थी नेताहरुले धनगढी उपमहानगरपालिका–१२ जुगेडाको सी, बी गाउँलगायत विभिन्न क्षेत्रका अति विपन्न वर्ग एवम् आर्थिक स्थिति निकै कमजोर भएका व्यक्तिको घर निर्माण गरिरहेका छन् । 

उनीहरुले आफैँ लगानी जुटाएर तीनवटा घर बनाइसकेका छन् । यस्तै २२ वटा घर मर्मत गरिएको छ । ‘प्रदेश सरकारलाई ध्यानाकर्षण गराउँदा पनि केही नभएपछि आफैं सहयोगमा लागेका हौँ’ युवा संघका केन्द्रीय सदस्य विनय शाहले भन्नुभयो, ‘सत्तापक्षको भ्रातृ संगठन भएकाले पनि सरकारलाई उदाहरण देखाउनका लागि पुननिर्माणको काम गरिरहेका छाँं । हामी फेरि पनि भन्न चाहन्छौँ कि स्थानीय, प्रदेश र संघीय सरकारको यसमा ध्यान पुगोस् ।’

नेपाली कांग्रेस निकटको नेविसंघ पनि पुनर्निर्माणमा लागेको छ । नेविसंघका नेता तथा कार्यकर्ताले ४ वटा घर निर्माण सकेका छन् । क्षति भएका १२ वटा घर मर्मत गरेर पीडितलाई बस्ने जोहो मिलाएका छन् । पुनर्निर्माणको काम अझै केही दिन गर्ने नेविसंघका नेताहरु बताउँछन् ।

‘वडा वडामा गएर पुनर्निर्माण र मर्मतको काममा लागिरहेका छौँ । अरुलाई पनि सहयोग गर्न तयार छौं’ नेविसंघका कार्यवहाक अध्यक्ष भेष बमले भन्नुभयो, ‘खानेपानीको व्यवस्था गर्ने सरकारको दायित्व हो । सरकारलाई चुनौती दिन चाहन्छौं कि अब सरकार भएको अनुभूति यहाँका नागरिकले कहिले पाउने ?’ 

विवेकशील साझाका युवाहरु पनि पुनर्निर्माणको काममा जुटेका छन् । विवेकशील साझा कैलालीको अभियान विभागको अगुवाईमा भैरहेको पुनर्निर्माण अभियानमा ८ वटा घर निर्माण गरिसकिएको छ । पहिलो चरणमा १० वटा पूर्ण रुपमा क्षति भएका घर बनाउने लक्ष्य रहेको विवेकशील साझाले जनाएको छ ।

 

‘कहीँ कतै सरकारको उपस्थिति देखेनौं । पीडितको अवस्था झन् झन दयनीय बन्दै गएको देख्दा उनीहरुका लागि केही गर्नुपर्छ भनेर नै युवाहरुको टोली बनाएर लागिरहेका छौँ’ विवेकशील साझा कैलालीको अभियान विभागका संयोजक चुन्नु केसीले भन्नुभयो, ‘प्रचण्ड गर्मीमा पनि कोहीसँग सहयोग नलिएर आफ्नै सदस्यबाट सक्दो सहयोग उठाएर युवाहरुलाई श्रमदान गर्न लगाएर लागिरहेका छौं । यो सामाजिक अभियानमा लाग्न हामी सबै युवाहरुलाई पनि अनुरोध गर्न चाहन्छौं ।’

कैलालीमा पुनर्निर्माण कामको सुरुवात रोटरी क्लब अफ धनगढीले गरेको थियो । हावाहुरी आएको दोस्रो दिन नै धनगढीको वडा नम्बर १५ को कनरीमा रोटरीले ८६ वटा जस्तापाता किनेर घर बनाउने काममा सहयोग गरेको थियो । त्यसपछि विभिन्न सञ्चारकर्मीहरुको समूह, सञ्चार गृह, उद्योगी व्यवसायीहरु पनि हावाहुरी पीडितको घाउमा मलम लगाउन सक्रियताका साथ लागिरहेका छन् ।

गएको जेठ २३ गते राती आएको हावाहुरीले कैलालीमा मात्रै ७ हजार ८४४ जना प्रभावित भएका छन् । २ हजार २१६ घरमा पूर्ण क्षति पु¥याएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार हावाहुरीले कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र कैलारी गाउँपालिकामा सबैभन्दा बढी क्षति पुर्‍याएको छ । 
 

अन्तिम अपडेट: चैत १५, २०८०

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया