फिर्ता भयो गुठी विधेयक, राेकिएन आन्दोलन (फोटोसहित)

 असार ४, २०७६ बुधबार १२:१८:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चर्को दबाबपछि सरकारले गुठी विधेयक फिर्ता लिए पनि काठमाण्डौमा विभिन्न माग राख्दै गुठी विधेयकविरुद्ध प्रदर्शन सुरु भएको छ । 

राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिलगायतका संघर्ष समितिले खबरदारी सभाको आयोजना गरेको हुन् । खबरदारी सभामा ‘होसियार ! मौनता हाम्रो सभ्यता हो, बाध्यता होइन’, ‘गुठी विधेयक खारेज गर’ लगायतका नारासहित खबरदारी सभा आयोजना भैरहेको छ । खबरदारी सभामा विभिन्न दलहरुका नेता तथा काठमाण्डौ उपत्यकाका जनप्रतिनिधिसमेतको उपस्थिति रहेको छ ।

मंगलबार पत्रकार सम्मेलन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले पत्रकार सम्मेलन गरेर सरकारले विधेयक फिर्ता लिएको जानकारी दिए पनि गुठीयारहरुको नेतृत्वमा माइतीघर मण्डलामा खबरदारी सभा आयोजना गरिएको छ ।

खबरदारी सभामा भूमि व्यवस्था मन्त्री पद्मा अर्याल र प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिले आफूहरुलाई ठेस पुर्‍याएकाे भन्दै विरोध भएको छ । उपत्यकाका विभिन्न ठाउँबाट परम्परागत भेषभुषा र नेपाली झण्डा बोकेर प्रदर्शनकारी सडकमा ओर्लिएका छन् । 

नेपालको संविधानको धारा २९० अनुसार गुठीको मूलभूत मान्यता अनुरुप राजगुठी, सार्वजनिक गुठी र निजी गुठीलाई व्यवस्थित गर्न भन्दै सरकारले वैशाख १६ गते राष्ट्रियसभामा विधेयक पेस गरेको थियो । 

सरोकारवाला निकायको चर्को दबाबपछि सरकारले गुठीसम्बन्धी विधेयक फिर्ता लिने निर्णय गरेको हो । धर्म संस्कृति परम्परा, सम्पदा नास हुने भन्दै विधेयकको विरुद्धमा काठमाण्डौ उपत्यकाका नेवार समुदाय आन्दोलित बनेका छन् । 

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डौ उपत्यकामा पार्टीबाट निर्वाचित जनप्रतिनिधिसँग पनि विधेयकका सम्बन्धमा परामर्श गर्नु भएको थियो । आफ्नै पार्टीका सांसदहरुले पनि विधेयक फिर्ता लिनुपर्ने आवाज उठाएपछि सरकार विधेयक फिर्ता लिन बाध्य बनेको हो ।
 

 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया