दुई वर्षभित्रमा मालपोत कार्यालयका ढड्डा र पुराना लिखतहरु ‘डिजिटलाइज्ड’ हुन्छ : प्रधानमन्त्री ओली

 असार ४, २०७६ बुधबार १४:१०:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले भूमि व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन सुरु गरिएको बताउनुभएको छ ।

कलंकीमा बुधबार नमुना मालपोत कार्यालय घोषणा कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विकास र सेवाको काममा प्रविधिको प्रयोग गरेर जनतालाई छिटो र छरितो सेवा दिइने बताउनुभयो । 

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अब मालापोतमा मात्र होइन, शिक्षा र स्वास्थ्यका क्षेत्रमा पनि प्रविधिको प्रयोग गरेर छिटो, छरितो र गुणस्तरीय सेवा प्रदान गरिनेछ,’ । प्रधानमन्त्री ओलीले अबको दुई वर्षभित्रमा देशका सबै मालपोत कार्यालयका ढड्डाहरु, पुराना लिखतहरु ‘डिजिटलाइज्ड’ भइसक्ने बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले प्रविधिको प्रयोगले थोरै जनशक्तिबाट धेरै काम लिन सकिने, उत्पादन र उत्पादकत्व वृद्धि गरिने र सबै काम पारदर्शी हुनेमा जोड दिनुभयो । 

‘नेपाललाई आधुनिक दिशातर्फ अघि बढाउनका लागि प्रविधिको ठूलो भूमिका छ । 'समृद्ध नेपाल, सुखी नेपाली'को सफल बनाउन पनि प्रविधिमैत्री भएर काम गर्नुपर्दछ,’ ओलीले भन्नुभयो ।  
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया