दूतावासबाटै दुई पटकसम्म श्रम स्वीकृति लिन सकिने

 असार ४, २०७६ बुधबार १६:२४:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगार विभागले विदेशस्थित नेपाली दूतावासबाटै पुन: श्रम स्वीकृति लिन सकिने व्यवस्था मिलाउने भएकाे छ । विदेशमा रहेका नेपाली कामदारले सम्बन्धित देश हेर्ने कुटनीतिक नियोगबाट बढीमा दुई पटक श्रम स्वीकृति लिन सक्ने गरी तयारी भैरहेकाे विभाका महानिर्देशक भिष्मकुमार भुषालले जानकारी दिनुभयो । 

श्रम स्कीकृति लिनका लागि बुझाउनुपर्ने कल्याणकारी कोष र बिमा बापतको रकम अनलाइनबाट भुक्तानी गर्ने व्यवस्था मिलाउने विभागको तयारी छ ।यसभन्दा पहिले पुन: श्रम स्वीकृति लिनको लागि नेपालमै आउनुपर्ने बाध्यता थियो । नयाँ व्यवस्थाले विदेशमा गएका कामदारलाई सजिलो हुने विश्वास लिइएकाे छ ।

यस प्रयोजनका लागि कल्याणकारी कोषमा दाखिला गर्नुपर्ने रकम नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त अनलाइन सेवा प्रदायक कम्पनीबाट भुक्तानी गर्न सक्ने गरी विभागको अनलाइन प्रणालीबाट सफल परीक्षण भइसकेको छ ।

‘अनलाइनतर्फको परीक्षण गरिसकेको छ भने बिमातर्फको परीक्षण गर्न बाँकी छ’ महानिर्देशक भुषालले भन्नुभयो, ‘बिमा समिति र कुटनीतिक नियोगले स्वीकृति दिएपछि यो व्यवस्था पूर्ण रुपमा लागू गरिनेछ ।’

यो व्यवस्था लागू भइसकेपछि वैदेशिक रोजगारीमा जाने कामदारले बुझाउनुपर्ने बिमा वापतको रकम सबै बिमा कम्पनीबाट भुक्तानी गर्न सकिने गरी खुल्ला गरिनेछ । यसभन्दा पहिले सीमित बिमा कम्पनीमा मात्रै भुक्तानी गर्न मिल्ने व्यवस्था थियो ।

बिमा वापतको रकम अनलाइन भुक्तानी सेवा स्वीकृति लिएका सेवा प्रदायक कम्पनी जस्तै खल्ती, ई सेवा, प्रभु पे, कनेक्टर आईपीएस लगायतबाट गर्न सकिने छ ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

1 Comments

  • Subhash Chand

    June 19, 2019, 5:05 p.m.

    What is that please explain? I'm going to cruise ship Job to USA it's necessary?

  •  0 Reply

तपाईको प्रतिक्रिया