भूम्यामा झुम्यो रुकुमको मुसीकोट

 असार ५, २०७६ बिहिबार १८:८:३ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – एक महिनादेखि भूम्यामा झुमेको छ रुकुम पश्चिमस्थित मुसीकोटमा रहेको शहीद मैदान । चारैतर्फबाट दर्शकबाट घेरिएको मैदानका बीचमा लस्करै नाच्ने गाउने महिला पुरुषको ताँती ।

गोलाकार नाचको बीचबाट घन्काइने बाजागाजा र गीत, त्यही संगीतमा थपिने महिला पुरुषको स्वरलहरी । चोली, गादा, लुङ्गी र पछ्यौरामा सजिएका महिला र चौबन्दी चोली, इस्टकोट, भांग्रा, पटुका, खादीमा सजिएरका पुरुषहरुको नाचगानले विशेष बनिरहेको मगर समदायको ठूलो पर्व भूम्या । 

महिनादिनसम्म पूजाआजा, बाजागाजा र नाचगानसहित मुसिकोटमा मनाइएको मगर समुदायको ठूलो पर्व भूम्या अर्थात् बल पूजाको आज अन्तिम दिन रहेको छ । भूम्याको अवसरमा गएको आइतबारदेखि दैनिक रुपमा शहीद मैदानमा धुमधामका साथ चलिरहेको नाचगान पनि समापन हुँदैछ ।

बर्सेनि यही शहीद मैदानमा रुकुम पश्चिमका मगर समुदाय नाचगान गर्दै भुम्या मनाउँछन् । रुकुम पश्चिममा मात्र नभएर रुकुम पूर्वका विभिन्न स्थानमा यहाँका मगर समुदायले धुमधामका साथ भूम्या पर्व मनाउने गर्दछन् । 

रुकुम पश्चिमको मुसिकोट र रुकुम पूर्वको विभिन्न गाउँमा गएको शनिबारदेखि विधिवत रुपमा धारधुप गरी लेकमा फूल टिपी लेकबाट गाउँमा झरेर, भेडाको बली दिएर धुमधामका साथ नाचगान गरेर यो पर्व मनाइएको हो ।  

भूमि देवतालाई धारधुप हालेर भुमे नाचको आरम्भ गरिएको पुथा उत्तरगंगा गाउँपालिका वडा नं. १० रुकुम पूर्वका ओमकार बुढाले बताउनुभयो । बुढाका अनुसार, अर्नी पानी र सगुनबोकेर लेक जानेहरूले ल्याएको रंगीविरंगी फूल सबैलाई शिरमा लगाइदिएर अग्रजको आशीर्वाद थाप्छन् । फूलले काली देवताको सगुनको रुपमा टिप्ने र ग्रहण गर्ने गरिन्छ । 

वर्षातको समयमा बाढी पहिरो नझरोस्, बालीनाली खोलाले नबगाओस्, खेतबारीको कटान नहोस्, जनधनको क्षति नहोस्, बालीनाली सप्रियोस् भन्ने जनविश्वासका साथ बल पूजा अर्थात भूम्या पर्व मनाइने गरिन्छ । महिना दिन अघिबाट पूजापाठ र नाचगानसँगै मनाइरहेको भूम्या पर्व अर्थात बल पूजा आज सकिँदैछ । 

जेठ १ गते सामान्य विधि गरेर बल पूजा नाचको शुभारम्भ गरिएको थियो । त्यसपछि यसरी नाच्दा देउता खुशी हुने र अनिष्ट हुनबाट जोगिने जनविश्वास छ । जेठ १ पछिका हरेक शनिबार र जेठ मसान्तको दिनदेखि असार ५ गतेसम्म हरेक दिन मगर समुदायहरु नाचगानसहित पर्व मनाउने गर्दछन् । 

जेठ मसान्तको दिन लेकको देउता अर्थात् पन्थ्यौलीको पूजाआजा गर्न पन्थ (लेक) पुग्ने गर्दछन् । त्यहाँ पुगेर पन्थ्यौली देउतालाई धार, धूप, ध्वजा, अक्षताले पुजिन्छ । पूजासँगै भेडाको बलिदिने प्रचलनसमेत लुकुमका निमबहादुर पुनले बताउनुभयो । 

आज अधिकांश स्थानमा भान्सापात, भोज भतेर, दानदक्षिणा गरेर भूम्या पर्वको नाचगान समापन गरिने गरिन्छ । 
 

अन्तिम अपडेट: फागुन २८, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया