को हुन् प्रहरीसँगको भिडन्तमा मारिएका विप्लव नेता कुमार पौडेल ?

 असार ५, २०७६ बिहिबार २०:३४:४९ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – सर्लाहीको लालबन्दीमा प्रहरीसँगको भिडन्तमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला इञ्चार्ज कुमार पौडेल मारिएका छन् । 

लालबन्दी नगरपालिका–१, लखनदेवी जंगलबाट २ वटा मोटरसाइकलमा सिन्धुलीतर्फ जाँदै गरेका ४ जनाले प्रहरीमाथि गोली चलाएको र जवाफी कारबाहीमा सर्लाहीका जिल्ला इञ्चार्ज कुमार पौडेलको ज्यान गएको नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोख्रेलले उज्यालोलाई जानकारी दिनुभयो । अरु ३  जना भने भागेका छन् ।

मृतक पौडलको साथबाट प्रहरीलाई गोली हानिएको सिक्स एमएमको रिभल्भर बरामद भएको छ भने झोलामा थ्री नट थ्री राइफल, गोली, कटुवा पेस्तोल पनि भेटिएको प्रवक्ता पोख्रेलले जानकारी दिनुभयो । 

विप्लवका कार्यकर्ताले प्रयोग गरेको ना २२ प ६४ नम्बरको निलो रंगको १५० सीसीको पल्सर र अनटेस्ट एफजेड मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ । अहिले थप प्रहरी परिचालन गरेर भागेका ३ जनाको खोजी भैरहेको छ । 

को हुन कुमार पौडेल ?

साविक सर्लाही ढुंग्रेखोला गाविस हाल बाग्मती नगरपालिका–२, धरहरा घर भएका ४७ वर्षीय कुमार पौडेल मावि स्तरको पढाइ सकेपछि २०५० सालतिर सर्लाहीको कालिञ्जोर गाविसमा प्रविधिक सहायकमा सरकारी सेवा प्रवेश गरेका थिए ।

उनी २०५२–५३ साल तिर त्यहाँबाट सरुवा भएर साविकको ढुंग्रेखोला गाविस घरनजिकै जागिर खान आइपुगे । सुरुका दिनमा नेपाली कांग्रेससँग नजिक रहेका उनी पछि नेकपा एमालेको युवा संगठनमा रहेर झण्डै ८ वर्ष काम गरे । त्यसपछि पौडेल २०६४ सालमा चुरेभावर पार्टीका जिल्ला अध्यक्ष बनेका थिए ।

चुरे भावर पार्टीभित्र विवाद हुन थालेपछि उनी पार्टी छोडेर २०६६ सालमा  नेकपा माओवादीमा प्रवेश गरेका हुन् । उनलाई नेकपा माओवादीमा प्रवेश गराउन पूर्व प्रधानमन्त्री तथा तत्कालीन वरिष्ठ नेता बाबुराम भट्टराई र सचिव सीपी गजुरेल सर्लाही आइपुगेका थिए ।

उनले मओवादीमा रहेर झण्डै चार वर्ष काम गरे । त्यसपछि एकीकृत नेकपा माओवादीमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मोहन वैद्य ‘किरण’ बीचको पार्टी फुटेपछि उनी वैद्यमा गएका थिए । 

दोस्रो संविधान सभाको चुनावमा वैद्य समूहमा रहेर उनले चुनाव बहिष्कारमा ठूलो भूमिका निर्वाह गरेका थिए । त्यसपछि उनी वैद्य र विप्लवबीचको पार्टी फुटेपछि विप्लव नेतृत्वको नेकपामा गएका थिए । २०७४ सालमा सिन्धुलीको कमाण्ड सम्हालेका पौडेल पछिल्लो समय सर्लाही इञ्चार्ज बनेका थिए ।
 

अन्तिम अपडेट: चैत १३, २०८०

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

2 Comments

  • Gaurav

    June 24, 2019, 9:25 a.m.

    विप्लब माउबादीमा लागे पछि ज्यान गयो भनेर रोईकराई गर्न जरुरी छैन

  •  0 Reply
  • kamal budha

    June 21, 2019, 5:12 p.m.

    झोलामा थ्री नट थ्री राइफल कसरी अटाउछ ? समाचार लेख्ने पत्रकारले यति न्युतम ज्ञान राख्नुपर्यो । जानिएन भने जान्नेलाई सोध्नुपर्यो । त्यो पनि सकिएन भने गुगल गर्नुपर्यो । अहिलेको जमानाना यस्तो कन्टेन लेखेर मिडियाको बद्नाम नगरौ । सम्पादकले पनि ख्याल गर्नुपर्यो ।

  •  0 Reply

तपाईको प्रतिक्रिया