३० रुपैयाँमै विशेषज्ञ स्वास्थ्य सेवा

 असार ९, २०७६ सोमबार ८:४१:५४ | सीताराम ओझा
unn.prixa.net

कैलाली - सामान्यतयाः कुनै अस्पताल वा मेडिकलमा स्वास्थ्य जाँच गराउन जानुपर्‍यो भने चार सय रुपैयाँको पर्चा काट्नैपर्छ । त्यसपछि मात्रै चिकित्सकले स्वास्थ्य जाँच गर्छन् । 

तर कैलालीको अत्तरियामा रहेको सामुदायिक अस्पतालले भने ३० रुपैयाँमै विशेषज्ञ स्वास्थ्य सेवा दिइरहेको छ । २०७१ सालमा कैलालीको अत्तरियामा स्थापना भएको सुदूरपश्चिमाञ्चल सामुदायिक अस्पतालले सस्तोमा गुणस्तरीय स्वास्थ्य सेवा दिईरहेको हो । 

विपन्न तथा दूरदराजका बिरामीले स्वास्थ्यमा सहजै पहुँच होस् भनेर अस्पतालले ३० रुपैयाँमै विशेषज्ञ सेवा उपलब्ध गराएको हो । २०७१ सालमा सरकारले उपलब्ध गराएको १ करोड ५० लाख र सामुदायिक स्तरबाट ८० लाख गरी झण्डै २ करोड ३० लाखको लगानीमा अस्पताल स्थापना गरिएको थियो । 

यो अस्पताल सुदूरपश्चिम प्रदेशको प्रवेशद्वारमै पर्छ । बिपन्न, असहाय तथा दूरदराजका नागरिकलाई सस्तो र सहज रुपमा सेवा दिने उद्देश्यले खोलीएको अस्पतालले त्यही बमोजिम अहिले सेवा दिइरहेको सञ्चालक आनन्द भट्टले जानकारी दिनुभयो । 

‘३० रुपैँयाको टिकट काटेपछि स्वास्थ्य जाँच गर्न पाईन्छ,’ उहाँले भन्नुभयो, विपन्न समुदायका नागरिकले सामान्य स्वास्थ्य जाँचका लागि पनि ५ सय रुपैँया शुल्क तिरेर लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।’ 

अस्पतालले आकस्मिक सेवा, शल्यक्रिया कक्ष, प्याथोलोजी, एक्सरे, इन्डोस्कोपी, भिडियो एक्सरे, इसीजी सेवा प्रदान गर्दै आएको छ भने अस्पतालको आफ्नै फार्मेसी समेत रहेको छ । केही दिनभित्रै सघन उपचार कक्ष आईसियु समेत सुरु गर्ने तयारीमा रहेको सञ्चालक भट्टले बताउनुभयो । एम्बुलेन्स सेवा समेत अस्पतालले दिदै आएको छ ।  

अस्पतालको शुल्क र सेवा राम्रो हुँदा हुँदै पनि बिरामीको चाप भने धेरै छैन । अस्पतालका डाक्टर बिसम्बरराज जोशीले विभिन्न समयमा आयोजना हुने स्वास्थ्य शिविर मार्फत ७० बर्षमाथिका बिरामीका लागि निशुल्क उपचारको व्यवस्था गरेको जानकारी दिनुभयो । 

नाफा आर्जन गर्ने उद्देश्य नभई बिरामीको सेवाका लागि अस्पताल सञ्चालनमा ल्याएकाले सरकारी सरह सुविधा दिइरहेको सञ्चालक भट्टले दाबी गर्नुभयो । 

अन्तिम अपडेट: चैत २, २०८०

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया