ताली र गालीपछि खाली भएको रंगशाला अब के होला ?

 असार ९, २०७६ सोमबार १२:३१:४८ | राधेश्याम खतिवडा
unn.prixa.net

जब चितवनमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रगंशाला बन्ने अभियान सुरु भयो, ताली बजाएर स्वागत गर्नेहरु ज्यादा भए । गौरवको अयोजनाको रुपमा यो अन्तर्राष्ट्रिय स्तरको संरचना चितवनमा बनिरहँदा विशेषगरी चितवनवासीमा खुशीको लहर छाएको थियो । निर्माणको जिम्मा लिएको धुर्मुस सुन्तली फाउण्डेसनलाई ताली बजाएर स्वागत गर्ने धेरै थिए ।

चितवनमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रगंशाला बन्ने चर्चा भएसँगै यसको पक्ष र विपक्षमा बहस पनि सुरु भयो । यसलाई अवसरको रुपमा लिएर जसरी पनि चितवनमा यो संरचना बनाउन आवश्यक रहेको तर्क सहितको सहयोगमा एक पक्ष लाग्यो । तर यति ठूलो गौरवको आयोजना व्यक्तिको नाममा रहेको फाउण्डेसनलाई जिम्मा लगाइनु गलत भयो भन्नेहरु पनि थिए ।

सिताराम कट्टेल र कुञ्जना घिमिरे रंगशाला निर्माण स्थलमा पुग्दा एक किलोमिटर अगाडिदेखि कलश, घडा र स्थानीयको स्वागतले एक प्रकारको तरंग पनि ल्यायो । काम सुरु भयो । बेला मौकामा फाउण्डेशनले मिडियामार्फत आफ्ना अभियानहरु सार्वजनिक पनि गर्‍यो । काम अगाडि बढ्दै गयो । पाएको जग्गाको छेकबार पनि भयो । आवश्यक सामग्री जुटाउने काम अगाडि बढ्यो । केही संरचनाकाको जग बसेपछि ठूलै तामझामका साथ शिलान्यास गर्ने तयारीमा फाउण्डेशन जुटेको थियो । त्यसैको तयारीमा फाउण्डेशनमार्फत दैनिक एक सयभन्दा बढी मजदुरले काम गर्दै आएका थिए । 

रंगशाला निर्माण हुने क्षेत्रलाई तारबार लगाएर घेर्ने क्रममा स्थानीयबासिन्दाले डोजर लगाएर बार भत्काएपछि एक्कासी अवस्था बिग्रियो । गएको जेठ १५ गते रंगशालाको पश्चिमपट्टि सडक बिस्तारका लागि भन्दै फाउण्डेसनले गरेको जस्तापाता सहितको बार स्थानीयले भत्काएपछि समस्या उत्पन्न भएको थियो । देश र विदेशमा रहेकाहरुले गलत काम भएको भन्दै आक्रोश पोखे । तर स्थानीयले भने आफूहरुको सडक बिस्तार सम्वन्धी मागमा महानगर चुपचाप बस्दा जटिल  स्थिति आएको बताएका छन् । बार भत्काएको आरोपमा स्थानीय प्रशासनले १८ जनालाई गिरफ्तार गरी सार्वजनिक मुद्दा चलाएको थियो । सहमतिपछि उनीहरु छुटे पनि मुद्दा चालु अवस्थामा नै छ ।

जसले डोजर लगाएर भत्काए, उनीहरु अहिले आफै निर्माणको अभियानमा लागेका छन् । गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालामा डोजर लगाइ बार भत्काएको आरोपमा गिरफ्तार भएका आरोपीहरुले आफूहरु रंगशाला निर्माणमा लागि परेको बताएका छन् । उनीहरुले डोजर लगाउनु दुःखद घटना भएको स्वीकारेका छन् ।

जब घटना भयो, फाउण्डेशनकी कुञ्जना घिमिरे(सुन्तली)ले गरेको गालीले एक प्रकारको तरंग सृजना गरेको छ । एकातिर धुर्मुस रुने, अर्कोतिर सुन्तलीले गाली गर्ने, यो माहोलपछि खाली भएको रंगशाला अब के हुन्छ भन्ने आमचासोको विषय बनेको छ । सुरुमा ताली, त्यसपछि गाली र अहिले निर्माण रोकिएर खाली बसेको रंगशालाको निर्माणको काम फेरि सुरु होला या रोकिएला धेरैका लागि जिज्ञासाको विषय बनेको छ । 

यतिखेर रंगशाला निर्माणको काम ठप्प छ । निर्माणस्थल सुनसान छ । निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालाको काम रोकिएको २५ दिन पुग्यो । रोकिएको काम फेरि सञ्चालन गर्न आग्रह भए पनि निर्माणकर्ता धुर्मुश सुन्तली फाउण्डेसनले अझै काम थालेको छैन । रंगशालामा डोजर लगाएपछि स्थानीय प्रशासन, राजनीतिक दल, भरतपुर महानगरपालिकाको बैठकले काम पुन सुरु गर्न आग्रह गरेको थियो । 

तर, धुर्मुस सुन्तली भने वातावरण धमिलिएको र घटनाले ठूलो चोट पुगेको भन्दै चितवन छाडेर काठमाण्डौ गएका छन् । गौरवको आयोजना अब बन्ला कि नबन्ला ? अब के होला ? जनस्तरमा व्यापक चर्चा छ । 

सर्वत्र चासो बढिरहेको बेला टेलिफोन सम्पर्कमा सिताराम कट्टेल (धुर्मुस)ले रंगशाला बने चितवनमा नै बन्ने, नबने अन्त कतै पनि नबन्ने बताए । फाउण्डेशनको अभियानमा क्रिकेट रंगशाला बने चितवनमै बन्छ, तर चितवनबाट हात झिक्नुपर्ने अवस्था आएमा आफूहरुले अन्यत्र कतै पनि क्रिकेट रंगशाला बनाउने अभियान नथाल्ने उनको भनाइ छ । 

निर्माण फेरि सुरु भएको सन्देश दिन घटनाको केही दिनपछि प्रहरी, जनप्रतिनिधि, केही स्थानीय र अभियन्ताहरुको सहभागितामा भत्काइएको बार उठाइएको थियो । त्यसपछि पनि फाउण्डेशनले कामलाई निरन्तरता दिएन । रंगशालामा डोजर लगाएको आरोपितहरु पनि जेठ २६ गते छुटेलगत्तै केही दिन भत्काएको संरचना उठाउन र अरु सहयोगमा सामेल भए । तर पनि फाउण्डेशनले तत्काल काम गर्ने वातावरण नभएको भन्दै काम नै रोकिदिएका छन् । 

रंगशालामा डोजर लगाएको घटना अन्तर्राष्ट्रिय स्तरमा नकारात्मक रुपमा फैलिएकोले र यसले सहयोग उठाउन समस्या भइरहेको फाउण्डेसनले बताएको छ । सहयोगी मनहरु चिन्तित र दुखित भएकाले रकम संकलनमा समस्या भइरहेको फाउण्डेशनको भनाइ छ ।  फिल्डमा काम रोकिए पनि डीपीआर निर्माणको काम जारी रहेको बताइएको छ ।  निर्माण सहजताका लागि महानगरमै सम्पर्क कार्यालय पनि स्थापना गरिएको छ । 

रंगशाला निर्माणका मुख्य अभियन्ता फाउण्डेशनका अध्यक्ष कट्टेल रंगशाला निर्माणको वातारण बनेपछि चितवन आउने बताउनहुन्छ । आफूलाई आउनुहोस्, बनाउनुहोस् भन्ने क्रम बढे पनि वातावरण बिग्रिएको र सहयोगी मनहरुको मन दुःखेका कारण अहिले तत्काल आउने अवस्था भने नरहेको उहाँको बुझाइ छ । 

भरतपुर महानगरकी मेयर रेणु दाहालले रंगशाला निर्माणका मुख्य अभियन्ता धुर्मुश सुन्तली छिट्टै चितवन आउने र काम फेरि सुरु हुने बताउनुहुन्छ । स्थगित भएको काम फेरि सुरु गर्न जिल्लामा गठन भएको सहयोग समितिको अनौपचारिक बैठक पनि बसेको छ । बाहिर हल्ला भए जस्तो असहज परिस्थिति नभएको उहाँको तर्क छ । समयमै काम सक्नका लागि कहीँ कतैबाट पनि अवरोध नहुने वातावरण बनाउन सुरक्षाका लागि  रंगशालामा प्रहरी नायव निरीक्षकको कमाण्डमा टोली नै खटाइएको छ ।

चितवनको भरतपुर महानगरपालिकास्थित कृषि तथा वन विश्वविद्यालय परिसरभित्रको शान्ति चोकमा रहेको २० बिघा ६ कठ्ठा क्षेत्रफलमा रहेको जमिनमा २५ हजार दर्शक क्षमताको अत्याधुनिक सुविधासम्पन्न रंगशाला बनाउने लक्ष्य छ ।  विश्वस्तरीय प्याराफिटमा बसेर खेल हेर्न सकिने यो रंगशालामा चारवटा ढोका हुनेछ । १३५ मिटर ब्यासमा बन्ने रंगशालामा देश विदेशबाट आउने विशिष्ट व्यक्तिका लागि विशेष लबिको व्यवस्था हुनेछ ।

अन्तर्राष्ट्रिय मापदण्डमा बन्ने यो रंगशाला आफ्नैपन झल्कने नेपाली नागरिकको सहयोगबाट बनेको विश्वकै नमूना र जनस्तरबाट निर्माण भएको पहिलो रंगशाला हुनेछ । रंगशालामा क्रिकेटबाहेक फुटबल, भलिबल, बास्केटबल, ब्याडमिन्टन, तेक्वान्दो, डन्डी बियो, स्विमिङलगायतको खेल खेल्न सकिने संरचना पनि बन्ने लक्ष्य राखिएको छ । 

नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा खेलको क्षेत्रमा फरक पहिचान बनाउने, खोलाडीहरुमा उत्साह थपिने र यो गौरवको आयोजना भएकाले यो वा त्यो नभनी सबैले साथ सहयोग गरेर रोकिएको काम सुरु हुन आवश्यक छ । यसका लागि सबैभन्दा पहिला चितवनमा गठन भएको सहयोग समिति धेरै सक्रिय हुनुपर्छ ।

यदि यो क्रिकेट रंगशालाको काम यही कारणले रोकिने हो भने चितवनलाई विकास विरोधीको आरोप लाग्न सक्छ । त्यसैले तालीले स्वागत गरिएको यो अभियान गालीले केही समय खाली भएको भए पनि अब यो घटनाक्रमबाट सिकेर सबै मिली क्रिकेट रंगशाला निर्माणमा जुटौँ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया