‘९ नम्बरलाई ६९ नम्बर बनाएर गोल्ड मेडल लिने संस्कृति के संस्कृति हो ?’

 असार ९, २०७६ सोमबार १४:७:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सत्तारढ दलकै सांसदले शिक्षा क्षेत्रमा देखिएको विकृति विसंगतिबारे  शिक्षा मन्त्रालयको धारणा माग गरेका छन् । 

प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै सत्तारुढ दल नेकपाका सांसद अग्निप्रसाद सापकोटाले शिक्षा क्षेत्रमा देखिएका विसंगति र विकृतिबारे शिक्षा मन्त्रालयको धारणा माग गर्नुभएको हो । त्रिभुवन विश्वविद्यालयले ९ नम्बरलाई ६९ नम्बर बनाएर गोल्ड मेडल दिलाएको विषय उल्लेख गर्दे उहाँले शिक्षामा लामो समयदेखि देखिँदै आएको विकृति र विसंगतिलाई शिक्षा मन्त्रालयले कसरी अध्ययन गरिरहेको छ भनी प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘९ नम्बरलाई ६९ नम्बर बनाएर गोल्ड मेडल लिने संस्कृति के संस्कृति हो ? आज यस्तो बनेको छ नेपालमा सबै कुरा पैसाले घुमाइरहेको छ । सर्टिफिकेट किन्न पाइन्छ । र भू माफियादेखि विचौलियाहरुले कब्जामा लिन सक्छन् । हरेक सकारात्मक कुराभित्र भयानक ठूलो रणनीति हुन्छ । यो रणनीतिको बारेमा शिक्षा मन्त्रालयले कति गम्भीरतापूर्वक अध्ययन गरेको छ । आजसम्मका सबै विकृति र विसंगतिको बारेमा शिक्षा मन्त्रालयले के गरिरहेको छ ? उसको दृष्टिकोण स्पष्ट पारियोस् ।’

सञ्चार माध्यममा त्रिभुवन विश्वविद्यालयले ९ नम्बर आएका परीक्षार्थीलाई ६९ नम्बर बनाएर गोल्ड मेडल दिएको समाचार प्रकाशित भएको थियो ।केही समयदेखि त्रिभुवन विश्वविद्यालयका अनियमितता र बेथितिबारे निरन्तर समाचार प्रकाशित भैरहेका छन् । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया