नारायणगढ–मुग्लिन सडकखण्डकाे नाै ठाउँमा पहिरोको उच्च जोखिम

 असार १०, २०७६ मंगलबार १५:३२:३ | राधेश्याम खतिवडा
unn.prixa.net

राधेश्याम खतिवडा - नारायणगढ-मुग्लिन सडकखण्डकाे नाै ठाउँमा पहिरोको उच्च जोखिम रहेको छ ।

वर्षासँगै नारायणगढ-मुग्लिन सडकको यात्रामा पहिरोले अवरोध गर्ने गरेको छ । सडक निर्माणको काम सकिए पनि पहिरोको जोखिम भने अझै कायम छ । पहिरो नियन्त्रणका लागि ठेक्का सम्झाैता समयमा हुन नसक्दा समस्या देखिएको हाे । 

शनिबार दिनभरको वर्षापछि जलविरे क्षेत्रमा गएको पहिरोले झण्डै डेढ घण्टा सडक अवरोध भयो । निर्माण सम्पन्न भएर हस्तान्तरणका लागि तयारी रहेको यस सडकखण्डमा पहिराे नियन्त्रणका लागि ठेक्का आह्वान गरी सडक विभागले निर्माण कम्पनीको छनोट समेत गरिसकेको तर सम्झौता भने हुन नसकेकाे हाे । यसै कारण याे वर्ष पनि याे सडकखण्डमा पहिरोको कारण यात्रुले दुख पाउने देखिएको छ ।

पाहाड काटेर बनाएको सडकमा बर्खायाममा समयमा पहिरोले दुःख दिन सक्ने भएकोले जोखिममा रहेको पहिरो नियन्त्रणका लागि काम गर्न ठेक्का लगाउने कामको अन्तीम चरणमा पुगेपनि ठेक्का सम्झौता समयमा हुन नसक्दा यो बर्षाको समयमा पहिरोको सास्ती व्यहोर्नुपर्ने अवस्था देखिएको छ । 

३३ दशमलव २ किलोमिटर दुरी रहेको सडकमध्ये १७ दशमलव १ किलोमिटर सडक विस्तारका लागि भित्ता पहाड काटिएको थियो । सडक निर्माणको काम सकिएपनि पहिरोको चिन्ता अझै कायम छ । नारायणगढ देखि मुग्लिन सम्मको सडकखण्डको ९ स्थानमा पहिरोको उच्च जोखिम मानिएको छ । 

सडकखण्डको १७ किलो र २६ किलोमा पर्ने  तल्लो भागमा पहिरोको जोखिम रहेको छ । सडकखण्डको माथिल्लो भाग अन्तर्गत कालिखोला, तोपेखोला, चारकिलो, जलविरे, घुमाउने गाइघाट क्षेत्र जोखिममा रहेको छ । सडक विभाग विकास साहयता महाशाखाले सडकखण्डमा पहिरो नियन्त्रण गर्नका तल्लो क्षेत्र र माथिल्लो क्षेत्रकालागि २ वटा ठेक्का दिन लागेको महाशाखाका प्रमुख अर्जुनजंग थापाले बताउनुभयो ।
 
केही समयमै ठेक्दार छनौट भइसक्ने बताउदै उहाँले असार १५ गते देखि मंसिर मसान्तसम्म काम गर्ने समय अवधी रहने जानकारी दिनुभयो । सडकखण्डको तल्लो क्षेत्रमा पहिरो नियन्त्रण गर्नका लागि ६ करोड र माथिल्लो क्षेत्रमा पहिरो नियन्त्रणको काम गर्न १३ करोडको लागतमा ठेक्का लगाइने थापाले जानकारी दिनुभयो । 

सडक क्षेत्रमा चट्टान, साना ढुंगा तथा माटोका ढिस्काहरु  खस्न सक्नेगरी ७ ठाउँ जोखिम रहेकाे बताउँदै आयोजना इन्जिनियर शिव खनालले सडकखण्डको तल्लो भागमा पर्ने १६ किलो र २६ किलो भन्ने ठाउँ जोखिम रहेको बताउनुभयो ।

तत्कालको लागि आवतजावतमा असर पर्ने गरी जोखिम नदेखिए पनि ती ठाउँमा नियन्त्रणको काम हुन आवश्यक देखएकोे बताउनुभयो । तोपेखोला र चारकिलो क्षेत्रमा अहिले पनि जोखिम देखिएको उहाँले बताउनुभयो । 

गएका वर्षमा जस्तो पहिरोको उच्च जोखिम नभए पनि केही ठाउँमा संवेदनशील हुनुपर्ने भएकोले याे वर्ष पनि काम हुने बताउनुभयो । जोखिम कम गर्न दुई वटा ढुंगा जोड्ने ढिस्को मिलाउने, भित्तोमा कुलो बनाएर पानी तर्काउने नाला बनाउने  काम हुने छ ।

अघिल्लाे वर्ष पनि सडकखण्डमा चट्टान झर्न नदिने संरचना बनाउने, सिमेन्ट जोडले फालेर जमाउने, ग्याभिन जाली लगाएर पहिरो रोक्ने काम भएको खनालले बताउनुभयो । 

विभिन्न ठाउँमा पाइप ढुङ्गा खाेपेर भिरकाे अर्को ढुङ्गामा अड्याउने र भिरबाट ढुङ्गा, माटो झर्न नदिन ड्रिल गरेर जाली अड्याउने काम गरिएको जानकारी दिँदै खनालले पहिरो नियन्त्रणकै लागि आयोजनाको सुरुवात देखि नै बायो इञ्जिनियरिङको समेत काम गरेको बताउनुभयो  ।  

सडककाे चाैडाइ नारायणगढबाट १६ किलोमिटरसम्म ११ मिटर चौडा र त्यसपछि मुग्लिनसम्म नौ मिटर बनाइएको छ । 


 

अन्तिम अपडेट: चैत १५, २०८०

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया