४५ लागिन् भारतीय अभिनेत्री करिश्मा कपूर

 असार १०, २०७६ मंगलबार १७:२८:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

९० को दशककी सुपरहिट अभिनेत्री करिश्मा कपूरको आज ४५औं जन्मदिन हो ।

अभिनेता रणधिर कपूर र अभिनेत्री बबिता कपूरकी जेठी छोरीको रुपमा करिश्माको जन्म जून २५, सन् १९७४ मा भारतको मुम्बइमा भएको थियो । करिश्मा कपूरको एक जमानामा बलिउडमा चौतर्फी चर्चा हुने गथ्र्यो । उनी कपूर खानदानकी छोरी भए पनि बलिउडमा स्थापित हुनका लागि करिश्माले निकै संघर्ष गर्नुपरेको थियो ।

करिश्माले बलिउड डेब्यू गर्दा उनी केवल १५ वर्षकी मात्रै थिइन् । अभिनयकै लागि करिश्माले पढाई छोडिदिएकी थिइन् । सन् १९९१ मा उनको पहिलो फिल्म ‘प्रेम कैदी’ रिलिज भएको थियो । यस फिल्ममा उनले दक्षिण भारतीय अभिनेता हरीश कमारुँग अभिनय गरेकी थिइन् ।

करिश्मा कपूरले बलिउडमा डेब्यू गरेसँगै उनको अनुहारलाई लिएर खिल्ली उडाइएको थियो । कोहीले उनलाई लेडी रणधीर कपूर (करिश्माका बुवा) त कोहीले उनलाई केटाको जस्तै अनुहार भएकी अभिनेत्री भनेर खिल्ली उडाएका थिए । त्यसपछि आमिर खान र करिश्मा कपूर अभिनित फिल्म ‘राजा हिन्दुस्तानी’ त्यस समयको निकै नै सुपरहट फिल्म बन्यो ।

याे फिल्मले करिश्मा कपूरलाई सुपरस्टार कलाकारको रुपमा स्थापित गराएको थियो । यो फिल्मको लागि करिश्मा कपूर पहिलो रोजाइमा भने थिइनन् । करिश्मा भन्दा अघि यो फिल्म अभिनेत्री ऐश्वर्या रायलाई अफर भएको थियो । तर ऐश्वर्याले आफ्नो पढाइको कारण देखाउँदै अस्वीकार गरेपछि करिश्मा कपूरले याे फिल्म पाएकी थिइन् । 

फिल्म ‘राजा हिन्दुस्तानी’ करिश्मा कपूरको करियरको सबैभन्दा हिट फिल्म बन्यो । यस फिल्ममा करिश्मा कपूरको अभिनयका साथै उनको मेकओभर पछिको लुक पनि दर्शकले निकै मन पराए । यस फिल्मबाट करिश्मा कपूरले उत्कृष्ट अभिनेत्रीको अवार्ड पनि पाएकी थिइन् । ‘राजा हिन्दुस्तानी’ ले करिश्मालाई रातारात स्टार बनाइदिएको थियो । त्यपछि निर्माता निर्देशकहरु करिश्मालाई साइन गर्नका लागि उनका अघिपछि लाग्न थालेको थिए ।

सन् १९९७ मा करिश्मा अभिनित फिल्महरु एकपछि अर्को गर्दै सुपरहिट भए । ‘जुडवा, हिरो नम्बर-१ र दिल तो पागल हे’ ले बक्सअफिसमा तहल्का नै मच्चाएका थिए । फिल्म ‘दिल तो पागल हे’ बाट करिश्मा कपूरलाई राष्ट्रिय पुरस्कारबाट सम्मानित गरिएको थियो । 

सन् २००१ मा करिश्मा कपूर र अमिताभ बच्चनका छोरा अभिषेक बच्चनको इन्गेजमेन्ट भएको थियो । तर पछि पारिवारिक असमझदारीका कारण करिश्मा र अभिषेकको इन्गेजमेन्ट ताेडिएको थियो । करिश्माको नाम अर्का अभिनेता अजय देवगनसँग पनि जोडिएको थियो । अजयको नाम त्यस समयमा बलिउडका नम्बर १ अभिनेताको रुपमा गनिन्थ्यो । अजय त्यसबेला करिश्मा कपूरमात्र नभइ रविना टण्डनपनि डेट गरिरहेका थिए । 

सन् २००३ मा करिश्माको विवाह व्यापारी सञ्जय कपूरसँग भयो तर त्यो विवाह धेरै समय टिक्न सकेन । सन् २०१६ मा करिश्माले सञ्जय कपूरसँग सम्बन्ध विच्छेद गरिन् । करिश्मा र सञ्जयका एक छोरा र एक छोरी छन । 

करिश्माले सन् २०१२ मा विक्रम भट्टको फिल्म ‘डेन्जरस इश्क’ मार्फत बलिउडमा कमब्याक गरेकी थिइन् जुन बक्स अफिसमा खासै चल्न सकेन । अहिले बलिउडबाट टाढा रहेकी करिश्मा सोशल मिडियामा भने सक्रिय छिन् । करिश्मा छिट्टै नै वेब सिरिज ‘मेन्टलहुड’ मार्फत दर्शकमाझ फर्कँदैछिन् । 
 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया