प्रहरी भ्यान दुर्घटना हुँदा दुई जनाकाे ज्यान गयाे, आठ जना घाइते

 असार १०, २०७६ मंगलबार १९:७:१९ | उज्यालो सहकर्मी

रौतहट - थुनुवा लिएर चन्द्रपुरबाट गौरतर्फ आउँदै गरेको प्रहरीको भ्यान मंगलबार दिउसो दुर्घटना हुँदा दुई जना थुनुवाको मृत्यु भएको छ भने प्रहरी सहित ८ जना घाइते भएका छन् ।

थुनावा लिएर म्याद थप गराउन हिँडेकाे प्रहरी भ्यान गौर-चन्द्रपुर सडकखण्डको बालचनपुर नजिक दुर्घटना हुँदा दुई जना थुनुवाको मृत्यु भएकाे हाे ।

दुर्घटनामा चन्द्रपुर नगरपालिका-४ का २० वर्षीय मुकेश भन्ने निर्मल साह तथा सुनसरी इनरुवा-१ बस्ने ४० वर्षीय रमेशकुमार चौधरीकाे गम्भीर घाइते भएर उपचारको लागि विरगञ्ज लैजाँदा बाटोमै ज्यान गएकाे भएको प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका प्रहरी जवानद्वय हरिकिशोर चौधरी र अजय यादवलाई उपचारको लागि विरगञ्ज पठाइएको छ ।

नम्बर प्लेट नभएकाे प्रहरी भ्यान चलाइरहेका प्रहरी सहायक निरीक्षक दिपेश चौलागाईँ, प्रहरी हवलदारद्वय उमेश यादव र विनोद मण्डल तथा जवान संजिव कार्की तथा थुनुवा कुमार गेलाल र टेकबहादुर तामाङ सामान्य घाइते भएकाले चन्द्रपुर अस्पतालमा उपचार भइरहेको रौतहट प्रहरीका एसपी भुपेन्द्रबहादुर खत्रीले बताउनुभयाे ।

घटनाबारे प्रहरीले गम्भीर भएर अनुसन्धान गरिरहेको बताउँदै एसपी खत्रीले ग‍एकाे हप्ता थप गरिएको समय सकिन लाग्दा जिल्ला सरकारी वकिलको कार्यालयमा म्याद थप गर्न ल्याउने क्रममा उक्त दुर्घटना भएको जानकारी दिनुभयाे ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया