वैदेशिक रोजगारीमा अनिवार्य सीप प्रमाणीकरणको व्यवस्था तत्काल कार्यान्वयन नहुने

 असार १२, २०७६ बिहिबार १२:०:२७ | उज्यालो सहकर्मी

काठमाण्डौ – असार १५ देखि विदेश जाने यूवाको अनिवार्य सीप प्रमाणीकरण गरिने व्यवस्था तत्काललाई कार्यान्वयन नहुने भएको छ । 

प्राविधिक तयारी नपुगेकाले सीप प्रमाणीकरण तत्काललाई कार्यान्वयन नगरिने वैदेशिक रोजगार विभागका महानिर्देशक भिष्मकुमार भूसालले जानकारी दिनुभयो ।

‘विभागले आफ्नो हिसाबले तयारी पूरा गर्‍यो, तर तालिम प्रदायक संस्था र जाँच गर्ने निकायबीच समन्वय गराउन बाँकी छ, यो काम सकिएपछि यो व्यवस्था लागू हुन्छ,’ महानिर्देशक भूसालले भन्नुभयो । 

उपत्यका बाहिर पनि तालिम प्रदायक संस्थाको व्यवस्था गर्नका लागि तालिम आवेदन माग गरिएको र आवेदनका आधारमा कागजपत्र पुगेकालाई सूचीकृत गर्ने काम भइरहेको पनि उहाँले जानकारी दिनुभयो । 

तालिमका लागि १५४ वटा संस्थाले आवेदन दिएका र छनोटको प्रक्रिया चलिरहेको पनि उहाँले बताउनुभयो ।

‘तालिम नै नदिइ त यो व्यवस्था लागू गर्न मिलेन, तालिम दिने नया संस्थाहरु पनि थप्दै व्यवस्थित रुपमा यो व्यवस्था लागू गरिन्छ,’ महानिर्देशक भूसालले भन्नुभयो ।

हाउस वायरिङ तथा इलेक्ट्रिसियन, वेटर, कुक, सेक्युरिटी गार्ड, मेसन, स्टिल फिक्चर्स, हाउस किपिङ तथा क्लिनर, स्काफोल्डिङ, सटरिङ कार्पेन्टर, पेन्टर, गार्मेन्ट तथा टेलरिङ र प्लम्बिङको काम गर्न जाने कामदारले अनिवार्य रुपमा सीप सिकेको प्रमाणपत्र पेश गर्न पर्ने व्यवस्था लागू गर्न लागिएको थियो । 

वैदेशिक रोजगारीमा जानेमध्ये धेरै कामदार अदक्ष भएका कारण असुरक्षा बढी हुने गरेको छ ।

विभागको तथ्याँकअनुसार गएको महिना मात्रै २६ हजार ८२५ जना पुरुष र १ हजार ७२५ जना महिला गरी २८ हजार ५५० जना अदक्ष कामदार विदेशिएका छन् ।

यसरी विदेश जानेमा उच्च सीप भएका कामदारको संख्या भने निकै कम छ । वैशाखमा जम्मा १७ जना मात्रै उच्च सीप भएका कामदार विदेश छन् ।

यस्ता कामदार सामान्य मजदुर, हेल्पर, मेसन, निर्माण, सरसफाइ लगायत श्रम गर्न बाध्य छन् । सीप तथा दक्षता आवश्यक नहुने यस्ता क्षेत्रमा असुरक्षा बढी हुने गर्छ।
 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया