प्रधानमन्त्री रोजगार कार्यक्रम : प्यूठानको झिम्रुकमा ढुंगे बगैँचा बन्दै, हरेक रुखको फेदमा चौतारी !

 असार १२, २०७६ बिहिबार १५:५०:३५ | उज्यालो सहकर्मी

प्यूठान – प्रधानमन्त्री रोजगार कार्यक्रमबाट विनियोजन भएको रकमले देशैभरि फरक–फरक काम भैरहेका छन् । कतै सडकका गाई व्यवस्थापन गर्ने, कतै बाँदर लखेट्ने अनि कतै स्कुलका बगैँचा सफा गर्ने काम भैरहेका छन् । 

यसै कार्यक्रमबाट प्यूठानको झिम्रुक गाउँपालिका वडा नम्बर ८ ले पनि अरुले भन्दा भिन्न काम गरिरहेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत ४ लाख रुपैयाँ बजेट पाएको झिम्रुक गाउँपालिका वडा नम्बर ८ ले इस्नादेवी सामुदायिक वनको इस्नाथानमा रक गार्डेन अर्थात ढुंगाको बगैँचा बनाइरहेको छ । 

वडा अध्यक्ष तुलस बस्नेत र इन्जिनियर नगेन्द्र आचार्यले परिकल्पनामा ढुंगे बगैँचा निर्माण भैरहेको हो । ढुंगे बगैँचा बनाउन दैनिक ६२ जना मजदुर खटिएका छन् । 

‘हामीले इस्नाथानका आकर्षक ढुंगालाई बगैँचाको स्वरुप दिन थालेका छौँ, इस्नाथानका हरेक रुखको फेँदीमा चौतारी निर्माण भैरहेको छ, हामीले सिमेन्ट र छड प्रयोग नगरी स्थानीय ढुंगाबाट विभिन्न आकर्षक संरचना बनाइरहेका छौँ’, वडाअध्यक्ष तुलस बस्नेतले उज्यालो अनलाइनसँग भन्नुभयो । 

प्रधानमन्त्री रोजगार कार्यक्रमको ३ लाख ढुंगे बगैँचा बनाउन खर्च भएको छ भने बाँकी १ लाख रुपैयाँबाट गोब्दी क्षेत्रमा ४५ जना मजदुर लगाएर सडकको नाली बनाउने काम भैरहेको छ ।

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया