‘श्रीमान विदेशबाट रित्तो हात फर्किए पनि केही गरौंला भन्ने आँट छ’

 असार १२, २०७६ बिहिबार १७:१५:३१ | मेरो कथा मेरो भोगाई

ज्ञानमाया राई/मोरङ, लेटाङ ।

धेरैको सपना हुन्छ विदेशमा गएर कमाउने । त्यसैले मन नमान्दा नमान्दै श्रीमानलाई सपनाको देश पठाउनुपर्ने हुन्छ । विदेश पुगेर श्रीमानले कमाए त ठिकै हो । तर कमाएनन्, समस्यामा परे भने श्रीमतीलाई घरमा ऋणमाथि पीर थपिन्छ । 

म त्यस्तै एक परदेशीकी श्रीमती हुँ । मेरो श्रीमान् ६ वर्षअघि साउदी जानुभयो । छरछिमेकदेखि साथीसम्म विदेश नजाने कोही थिएनन् । भारतमा गाडी चलाइरहेका मेरो श्रीमानले पनि अरु नै देश जाने रहर गर्नुभयो । भारतको काम छाडेर नेपाल आउनुभयो । 

गाउँकै एकजना एजेण्टले विदेश पठाउने मेलोमेसो मिलाइदिन्छु भने । होला भन्ने लाग्यो । कहिले के भन्या छ, कहिले के भन्या छ । काठमाण्डौ पनि धैरे पटक धाउनुभयो मेरो श्रीमान् । विदेश जानुअघि नै एक÷डेढ लाख रुपैयाँ त सकियो होला । 

६ पटक त मेडिकल मात्रै गरायो । त्यसपछि बल्ल साउदी उडायो । ड्राइभरको काममा भनेर पठाएको, तर उता पुगेपछि काम लगाइदिए छन् लेबरको । ऋण त छँदै थियो भनेअनुसारको काम र दाम नभएपछि अब पीर पनि थपियो । 

मैले श्रीमानलाई तपाईँले जे काम पाउनुभएको छ त्यो राम्रोसँग गर्नुस् भनेर भनेँ । उहाँलाई सम्झाएँ । पीर नगर्नुस्, काम गर्नुस् आरामले भनेर । तर उहाँले यहाँबाट के के सोचेर जानुभएको थियो, त्यस्तो नहुँदा चिन्ता धेरै लिनुभयो । 

मैले घर चलाएँ । कुखुरा पालेँ । बाख्रा पालेँ । घरव्यहार यसरी नै चलाएँ । उहाँ ६ वर्ष बस्नुभयो, साउदीमा । तर केही भएन । न ऋण तिरियो, न पीर सकियो ।

केही नभएपछि उहाँ फर्किएर आउनुभयो । अहिले त ढुक्क भएको छ । ऋण छ । खेतिपाती र आफ्नो केही पनि छैन । मुन्टो लुकाउने बास पनि आफ्नो छैन हाम्रो ।

तर पनि आफ्नो मान्छे साथैमा हुँदा त केही गरौंला भन्ने आँट आउँदो रहेछ । विदेशमा कमाएर घरबारी जोडौंला त भन्नु परेन, तर पनि अझैं केही गरौंला भन्ने आँट छ। 
जस्तो होस् जे होस् अब त श्रीमान् विदेश पठाउन्नँ । एक दिन त हाम्रो पनि दिन आउला नि । पृथ्वी गोलो छ सबैको एक दिन पालो आउँछ भन्छन् । म मेरो पालोको प्रतीक्षामा छु । 

अन्तिम अपडेट: असार २५, २०७६

1 Comments

  • Mekh rai

    June 27, 2019, 9:30 p.m.

    अबश्य पनि एकदिन आउनेछ चेली

  •  0 Reply

तपाईको प्रतिक्रिया