एसईई नतिजा सार्वजनिक : ५० जनाको परीक्षा रद्द, नतिजा चित्त नबुझे पुनर्योग गर्न पाइने

 असार १२, २०७६ बिहिबार १८:३७:७ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७५ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजा बिहीबार सार्वजनिक गरेको छ । 

कार्यालयले यसवर्षदेखि पहिलो पटक संघीय संरचनाको स्वरुपअनुसार गत चैत १० गतेदेखि २१ गतेसम्म साधारण तथा प्राविधिक धारतर्फ सञ्चालन गरेको एसईई परीक्षाको नतिजा परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज ग्रेडिङ प्रणाली अनुसार सार्वजनिक गरेको हो । 

यस वर्षको परीक्षामा नियमित समूहको साधारणतर्फ चार लाख ४९ हजार ६४२ र प्राबिधिक धार तर्फको ९ हजार ६३३ जना गरि कूल चार लाख ५९ हजार २७५ परीक्षार्थी सहभागी भएको पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको छ । 

सार्वजनिक भएको नतिजाअनुसार नियमिततर्फ १६ हजार ८८२ विद्यार्थीले जीपीए ३.६० देखि ४ (ए प्लस), ४८ हजार ९६० विद्यार्थीले जीपीए ३.२० देखि ३.६० (ए), ६० हजार ७०६ जना विद्यार्थीले जीपीए २.८० देखि ३.२० (बी प्लस), ९४ हजार ११० विद्यार्थीले जीपीए २.४० देखि २.८० (बी), ९७ हजार २९९ विद्यार्थीले जीपीए २.०० देखि २.४० (सी प्लस), ९५ हजार २०९ विद्यार्थीले १.६० देखि २.०० (सी) ल्याउन सफल भएका छन् । 

यसैगरि  ४३ हजार ८४० विद्यार्थीले १.२० देखि १.६० (डी प्लस), ४ हजार ४२९ विद्यार्थीले ०.८० देखि १.२० (डी) ल्याएको परीक्षा नियन्त्रक  विष्णुप्रसाद अधिकारीले जानकारी दिनुभयो । आठ हजार २०७ विद्यार्थी विभिन्न कारणले नतिजा सार्वजनिक नभएको उहाँले जानकारी दिनुभयो । 

यता प्राविधिक धारतर्फ ६९८ विद्यार्थीले ‘ए प्लस’, २ हजार १७७ विद्यार्थीले ‘ए’, ३ हजार ३५ विद्यार्थीले ‘बी प्लस’, २ हजार ४५४ विद्यार्थीले ‘बी’, ९०८ विद्यार्थीले ‘सी प्लस’, ९८ विद्यार्थीले ‘सी’, १ विद्यार्थीले ‘डी प्लस’ ल्याउन सफल भएका छन् । प्राविधिक धारतर्फ २६२ परीक्षार्थीको परीक्षा सार्वजनिक गरिएको छैन । 

परीक्षा नियन्त्रकका अनुसार साधारण र प्राविधिकतर्फ ४ लाख ७५ हजार ३ परीक्षार्थीले परीक्षामा आवेदन दिए पनि परीक्षामा ४ लाख ५९ हजार २७५ परीक्षार्थीले परीक्षा दिएका थिए । नियमित र प्राबिधिक तर्फ गरि कूल ८ हजार ४६९ परीक्षार्थीको नतिजा सार्वजनिक नगरिएको उहाँले जानकारी दिनुभयो । 

त्यसैगरी परीक्षाको मर्यादाविपरीत कार्य गर्ने १ जना र गलत विवरण भरी आवेदन दिने १ जना गरी कूल २ जना परीक्षार्थीको सबै विषय र ४८ जनाको विषय रद्ध गरी कूल ५० जना परीक्षार्थीको परीक्षा रद्ध गरिएको छ । 

विगतका वर्षहरुमा एकै पटक आंशिक परीक्षाको नतिजा सार्वजनिक गर्ने गरे पनि कार्यालयले यस वर्ष भने आंशिक परीक्षाको नतिजा सार्वजनिक गर्न सकेन । पत्रकार सम्मेलनमा परीक्षा नियन्त्रक अधिकारीले जति सक्दो छिटो आंशिक परीक्षाको नतिजा सार्वजनिक गर्ने जानकारी दिनुभयो । 

पुनर्याेगको व्यवस्था 

कार्यालयले आफूले प्राप्त गरेको कुनै विषयको नतिजा चित्त नबुझेमा सम्बन्धित परीक्षार्थीले पुनर्योग गर्न सक्ने व्यवस्था गरेको छ । विद्यार्थीले प्रतिविषय ५०० रुपैयाँ र आवश्यक विवरणसहित परीक्षा नियन्त्रण कार्यालय वा प्रदेश शिक्षा निर्देशनालय वा जिल्लास्थित शिक्षा विभाग तथा समन्वय इकाईमा नतिजा प्रकाशन भएको मितिले १५ दिनभित्र निवदेन दिन सक्ने व्यवस्था गरेको परीक्षा नियन्त्रक अधिकारीले जानकारी दिनुभयो ।

पुनर्योगका लागि निवदेन कार्यालयको वेबसाइट www.see.gov.np र www.neb.gov.np  बाट डाउनलोड गर्न सक्ने व्यवस्था गरेको छ । 

पूरक अर्थात ग्रेडवृद्धि  

पूरक अर्थात ग्रेडवृद्धि परीक्षाको हकमा भने सैद्धान्तिक विषयतर्फ बढीमा दुई विषयसम्म सि वा सि भन्दा तल्लो ग्रेड प्राप्त गरेको वा परीक्षामा दुई विषयसम्म अनुपस्थित भएको वा २ विषयसम्म ग्रेड नखुलेको विषयमा परीक्षार्थीले पूरक अर्थात ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउँने व्यबस्था गरेको छ ।

गत वर्ष नतिजा प्रकाशित भएकै दिन पूरक परीक्षाको तालिका सार्वजनिक गर्ने गरे पनि यसवर्ष भने केही समयपछि तालिका सार्वजनिक गर्ने भएको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

एसईई परीक्षाकाे नतिजा सार्वजनिक: यसरी हेर्न सकिन्छ

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया