सुन्दरबजारका ५ ठूला खानेपानी आयोजनाको पानीमा ‘इकोलाइ’ जीवाणु भेटियो

 असार १३, २०७६ शुक्रबार २०:१९:८ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – सुन्दरबजार नगरपालिकाभित्र रहेका पाँच ठूला खानेपानी आयोजनाबाट वितरण भइरहेको पानीमा ‘इकोलाइ’ ब्याक्टेरिया भेटिएको छ ।

सुन्दरबजार नगरपालिका स्वास्थ्य शाखाले नगरपालिकाभित्र पर्ने सुन्दरबजार नगरपालिका-१, कुन्छामा रहेको भाँगु खानेपानी आयोजना, वडा नं-२, परेवाडाँडामा रहेको दारेगौँडा खानेपानी आयोजना, वडा नं ६ र ७ का नागरिकले उपयोग गर्दै आएको सुन्दरबजार खानेपानी आयोजना र वडा नं ६, खत्रीठाँटीमा रहेको ढोडेसिंंह खानेपानी आयोजनाबाट वितरण भइरहेको खानेपानीको नमूना परीक्षण सबैमा इकाेलाइको मात्रा ज्यादा देखिएको सुन्दरबजार नगरपालिका स्वास्थ्य शाखाका हेल्थ असिस्टेण्ट उमाकान्त न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार धेरै उपभोक्ताले पिउँदै आएका यी ठूला पाँच खानेपानीका आयोजनाका मुहान र ट्यांकीबाट वितरण भएको पहिलो धाराको पानी संकलन गरी परिक्षणका लागि स्वास्थ्य कार्यालय लमजुङमा पठाइएको थियो ।

संकलित पानीको ल्याव परीक्षणबाट प्राप्त रिपोर्टअनुसार लसुने खोला खानोपनी आयोजनाको मुहानको पानीमा इकोलाइको मात्रा १८, ट्यांकीबाट वितरण भएको पहिलो धाराको पानीमा इकोलाइको मात्रा ३९, सुन्दरबजार खानेपानी आयोजनाको मुहानको पानीमा इकोलाइको मात्रा १२०, पहिलो धाराको पानीमा  इकोलाइको मात्रा १ सय ५३, दारेगौँडा खानेपानी आयोजनाको मुहानको पानीमा १८०, धाराको पानीमा ३ सय बढि इकोलाइको मात्रा भेटिएको छ ।

यसैगरी, भाँगु खानेपानी आयोजनाको मुहानको पानीमा १५, धाराको पानीमा ४८ र ढोडेसिंंह खानेपानी आयोजनाको मुहानको पानीमा ५० र धाराको पानीमा २ सयभन्दा बढि इकोलाइको मात्रा भेटिएको छ ।

स्वास्थ्य शाखाका अनुसार पानीमा इकोलाइ ब्याक्टेरियाको मात्रा शून्य हुनुपर्छ । इकोलाइ भएको पानी पिउँदा झाडापखला हैजा लाग्न सक्छ ।

सुन्दरबजार नगरपालिका स्वास्थ्य शाखाका सह–संयोजक निर्मल अधिकारीले ती खानेपानी आयोजनाले मुहानका साथै ट्यांकी सरसफाइमा ध्यान दिनुका साथै ट्यांकीमा आवश्यकताअनुसार पोटासको प्रयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।

उपभोक्ताले पनि पानी उमालेर, छानेर, सोडिस प्रविधिका साथै क्लोरिन हालेर प्रयाेग गर्न शाखाका प्रमुख रामेश्वर सेढाइँले अनुरोध गर्नुभएको छ ।

‘प्राप्त रिपोर्ट सहित पानीको शुद्धीकरण गरी वितरण गर्नका लागि सम्वन्धित खानेपानी आयोजनालाई पत्र लेखि पठाइनेछ,’ शाखाले भनेको छ, ‘पानीको मुहान र ट्यांकी सरसफाइमा जुट्न खानेपानी आयोजनालाई अनुरोध गर्दछौँ । पानी शुद्धीकरण पिउन उपभोक्तालाई पनि अनुरोध गर्दछौँ ।’

पानीको ल्याब परीक्षण कार्यमा सुन्दरबजार अस्पतालका ल्याब टेक्निसियन अधिकृत ज्ञानबहादुर सेढाइँ र स्वास्थ्य कार्यालय लमजुङका ल्याब टेक्निसियन निरोजकुमार श्रेष्ठ खटिनुभएको थियो ।

 

अन्तिम अपडेट: चैत १३, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया