‘भू-माफिया’ले जग्गा कब्जा गरेकाे भन्दै सरकारी कार्यालयमा तालाबन्दी

 असार १४, २०७६ शनिबार १४:५८:२३ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – बरहथवा नगरपालिकाकाे हजारियामा ६ बिघा १४ कठ्ठा जग्जा ‘भू-माफिया’ले कब्जा गरेपछि त्यसको विरोधमा स्थानीय बासिन्दाले चार वटा सरकारी कार्यालयमा तालाबन्दी गरेका छन् । 

जग्गा कब्जाको विरोधमा स्थानीयले बरहथवाको नगरपालिका कार्यालय, मालपोत कार्यालय नापी कार्यालय र बरहथवा नगरपालिका-४ को कार्यालयमा तालाबन्दी गरेका हुन् । बरहथवा नगरपालिका-४ का वडाध्यक्ष लखन्द्र महतोले स्थानीय जागदेव महतोलाई सरकारी स्वामित्वको जग्गा पास गरेपछि स्थानीय आन्दोलित भएका हुन् । 

स्थानीयले महतोलाई सिफारिस गरेको सर्वजनिक जग्गाको दर्ता खारेज नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । हजारियाको खैराख गाउँमा रहेको ६ बिघा १४ कठ्ठा  जग्गा स्थानीयले वर्षौदेखि जोतभोग गर्दै आएको र अहिले एकाएक अर्कोको नाममा लालपुर्जा बनेपछि त्यसको विरुद्धमा स्थानीयले तालाबन्दी गरेको बरहथवा नगरपालिका-२ का वडा अध्यक्ष यज्ञबहादुर खड्काले जानकारी दिनुभयो । 

सार्वजनिक जग्गालाई व्यक्तिको नाममा सिफारिस गर्नेलाई तत्काल कारबाही गर्नुपर्ने वडा-४ का स्थानीय कुल बहादुर कार्कीले बताउनुभयो । पहिलेको हजारिया गाविस ७ र हालको बरहथवा नगरपालिका ४ खैरामा रहेको सार्वजनिक जग्गा स्थानीय जनप्रतिनिधि, मालपोत कार्यालय, नापी कार्यालय र वडा-४ कार्यालयको मिलोमतोमा भू-माफियाहरुको नाममा जग्गा दर्ता गरिएको स्थानीयले दावी गरेका छन् । 

विसं २०६२ मा किता नं. ३२८ र ३१४ को जग्गा जगदेव महतोको नाममा लालपुर्जा बनिसकेकाले त्यसमा आफ्नो कुनै संलग्नता नरहेको र आफूले खारेज गर्न पनि नसक्ने मालपोत कार्यालय बरहथवाका प्रमुख बिन्देश्वर महतोले बताउनुभयो । त्यस्तै वडा-४ का अध्यक्ष लखेन्द्र महतोले जगदेव महतोलाइ कुनै किसिमको जग्गासम्बन्धी सिफारिस नगरेको दावी गर्नुभयो।

अन्तिम अपडेट: चैत १४, २०८०

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया