हेटौँडा उपमहानगरपालिकाको योजना: भ्यू टावरदेखि चक्रपथ निर्माणसम्म

 असार १५, २०७६ आइतबार १३:११:३४ | हरि हुमागाईं
unn.prixa.net

हेटौँडा – आगामी आर्थिक वर्ष २०७६/७७ का लागि हेटौँडा उपमहानगरपालिकाले विभिन्न योजनाहरु अघि सारेको छ । उपमहानगरपालिकाले पाँचौँ नगरसभाबाट महत्वपूर्ण योजना अघि सार्दै आगामी आर्थिक वर्षमा विभिन्न काम गर्ने योजना बनाएको छ । 

नगर क्षेत्रको यातायात व्यवस्थापनलाई सुरक्षित,भरपर्दो एवम् प्रभावकारी बनाउन व्यवस्थित बस टर्मिनल भवन निर्माण कार्यको थालनी गरिने उपमहानगरपालिकाले अघि सारेकाे योजनामा बताइएको छ । 

त्यस्तै स्थानीय पर्यटनको प्रवर्द्धन गर्दै नगरको आर्थिक समृद्धिमा टेवा पुर्‍याउन आगामी आर्थिक वर्षमा हेटौँडाको मुख्य बजार क्षेत्रमा आधुनिक सुविधायुक्त 'भ्यू टावर' निर्माण कार्यको प्रारम्भ गरिने हेटौँडा उपमहानगरपालिकाका नगर प्रमुख हरिबहादुर महतले बताउनुभयो ।    

साइकल ट्रयाक निर्माण

साइकल यात्रीहरुको सुरक्षालाई ध्यानमा राख्दै उपमहानगरपालिकाभित्र साइकल ट्रयाक निर्माण गर्ने उपमहानगरकाे योजना छ । ‘हेटौँडामा पछिल्लो समय साइकल यात्रीहरु बढ्दै गएकाले साइकल चलाउनका लागि ट्रयाक निर्माण गर्न लागिएको हो,’ प्रमुख महतले भन्नुभयो ।

त्यस्तै उपमहानगरपालिकाबाट सञ्चालन गरिने विकास निर्माणसम्बन्धी योजनाहरुमा प्रयोग हुने निर्माण सामाग्रीहरुको गुणस्तर सुनिश्चित गर्न आधुनिक प्रविधिमैत्री ल्याब टेष्ट स्थापनाको योजना पनि अगाडि ल्याइएको छ । 

बस पार्कलाई थप व्यवस्थित गरिने

भरपर्दो र सुरक्षित यातायात सञ्चालन गर्न हेटौँडा-१० मा सञ्चालनमा रहेको बस पार्कलाई थप व्यवस्थित गरिने भएको छ । हेटौँडा बजारबाट पूर्वी क्षेत्र जाने सवारीसाधनका लागि उपयुक्त स्थानमा बसपार्क निर्माणका लागि सम्भाव्यता अध्ययनको कार्य प्रारम्भ गरिने तयारी गरिरहेका नगर प्रमुख महतले बताउनुभयो ।    

चालु आर्थिक वर्षबाट निर्माण सुरु भएको कर्रा करिडोर निर्माण आयोजनालाई विस्तृत परियोजना प्रस्ताव तयार गरी आगामी वर्ष पनि निरन्तरता दिइने उपमहानगरपालिकाको लक्ष्य छ । उपमहानगरपालिकाको टीसीएन क्षेत्रमा रहेको जग्गामा नगरपालिका भवन निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन तयार गरी निर्माण कार्य अगाडि बढाइने भएको छ । 

हेटौँडामा चक्रपथ निर्माणको तयारी 

हर्नामाडी, हटिया, चुरिया माई हुँदै पदमपोखरी जोड्ने ६३ किलोमिटर लामो चक्रपथको स्तरीकरण गरी १२ महिना नै सञ्चालनयोग्य बनाउन सङ्घीय तथा प्रदेश सरकारसँग आवश्यक समन्वय गरी निर्माण कार्य प्रारम्भ गरिने भएको छ । चक्रपथका कारण नगरवासीको आर्थिक तथा सामाजिक रुपान्तरणमा फाइदा पुग्ने महताले बताउनुभयो । 

सङ्घीय तथा प्रादेशिक सरकारसँगको समन्वय र सहकार्यमा नगर क्षेत्रको भूमिलाई व्यवस्थित गरी अनियन्त्रित र अव्यवस्थित सहरीकरणलाई रोक्न भू-उपयोग नीति, नगर यातायात गुरुयोजना, योजना तथा भवन निर्माण मापदण्ड एवम् कार्यविधिलाई समयसापेक्ष परिमार्जन गरिने तयारी छ ।

नगरक्षेत्रभित्र रहेका ऐलानी, पर्ती तथा सार्वजनिक जग्गा र सम्पदाहरुको संरक्षण गरेर अभिलेख व्यवस्थापन गरिने महानगरपालिकाले आगामी आर्थिक वर्षमा समेटेको छ । 

चिसापानीमा एकीकृत जग्गा विकास कार्यक्रम 

हेटौँडा-१६ मा रहेको चिसापानी क्षेत्रमा एकीकृत जग्गा विकाससम्बन्धी कार्यक्रम आगामी आर्थिक वर्षभित्रै प्रारम्भ गर्ने गरी सङ्घीय तथा प्रदेश सरकारसँग समन्वय गरिने भएको छ । साथै अन्य वडाहरुमा सम्भाव्यता अध्ययन गरी कार्य प्रारम्भ गरिने आगामी आर्थिक वर्षको कार्यक्रममा समेटिएको छ । 

त्यस्तै आधुनिक सभ्यताको मानक नै सुविधायुक्त र व्यवस्थित सहर भएकोले विकासको यथार्थस्वरुप सहरी पूर्वाधारबाटै प्रतिबिम्बित हुने यथार्थतालाई बोध गर्दै यो कार्यक्रम ल्याउन लागिएको हो । 

भूकम्प पीडितको बस्ती स्थानान्तरण गरिने

हेटौँडा-१५ को चिप्लेटी बाँसघारी क्षेत्रमा विनाशकारी भूकम्पबाट प्रभावित भएको बासिन्दालाई उपयुक्त स्थानमा स्थानान्तरण गरिने योजना अगाडि सारिएको छ ।

भूकम्पबाट जमिन चिराचिरा परी पानीको मुहान सुक्दा बस्न योग्य नरहेकोले प्रदेश सरकारको सहयोगमा नगरको उपयुक्त स्थानमा बस्ती स्थानान्तरण गरिने हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख मिनाकुमारी लामाले बताउनुभयो । 

जोखिमपूर्ण आवागमन गर्नुपर्ने बाध्यतालाई अन्त्य गर्न आगामी वर्षभित्रै नगरक्षेत्रभित्र सञ्चालनमा रहेका जीर्ण काठेपुलहरुको विस्थापन गर्ने कार्य सम्पन्न गरिनेछ । यसैगरी विगतमा थालनी गरिएका जग्गा विकाससम्बन्धी परियोजनाहरुको अधुरा पूर्वाधार निर्माणका कामहरुलाई क्रमशः कार्यान्वयन गरिने तयारी रहेको उपप्रमुख लामाले बताउनुभयो । त्यस्तै पहिलेका विभिन्न वडाहरुमा सुरु गरिएका भूमिगत सिँचाइसम्बन्धी आयोजनाहरुको बाँकी पूर्वाधार निर्माण कार्यलाई प्राथमिकता दिइनेछ । 

नगरभित्रका सार्वजनिक हुन बाँकी रहेका सडकहरुमा परेका जग्गालाई सार्वजनिक गर्ने कार्यलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिइने उपप्रमुख लामाले भन्नुभयो । सङ्घीय सरकारको सहकार्य र समन्वयमा गौरीटार रंगशालाको थप पूर्वाधार निर्माणका लागि पहल गरिने बताइएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया