हलो जोत्दै डाक्टर भट्टराई भन्नुहुन्छ-किसानको पीरमर्का बुझ्न खेतमा पसेको हुँ

 असार १५, २०७६ आइतबार १६:३४:४८ | किरण लोहनी
unn.prixa.net

तस्बिर: डाक्टर भट्टराईकाे ट्विटरबाट

गोरखा - पालुङटार नगरपालिका वडा नम्बर १, खोप्लाङको जोर्तीचौतारा । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले बाल्यकालमा गाई बाख्रा चराउने फाँट । बाल्यकाल र किशोरावस्थामा गोठालो र अरु घरायसी काममा बा आमालाई सघाउने भट्टराईसँग धान रोपाइँमा सहभागी भएको, दिनभर बाउसे गरेको र साँझ पटुकामा खाजा थापेर खाँदै खाँदै घरतर्फ लागेको गहिरो अनुभव छैन ।

आक्कलझुक्कल रोपाइँमा खेताला बनेका भट्टराई बढ्दो उमेरमा भने आफूले खाइखेली गरेको पुख्र्यौली खलोमा खेताला बनेर पुग्नुभयाे । खेताला पनि बाउसे मात्रै होइन, हलो जोतेर माटो हिल्याउनुभयाे, अनि केहीबेर बाउसे पनि गर्नुभयाे ।

धान दिवसको छेको पारेर देशका धेरै ठाउँमा नेतादेखि अन्य सेलिब्रिटिहरुले यसैगरी रोपाइँ गरे । दिनभर खटेर खेतालाकै रुपमा रोपाइँमा सहभागी हुन समय, सिप र शारीरिक अवस्थालगायतका कारणले सम्भव हुने कुरो पनि भएन । तर टुप्लुक्क खेतमा पुगेका मन्त्री, सांसद, नेता र कलाकारले फोटो खिचेर सामाजिक सञ्जालमा राख्न भने भ्याए ।

धेरैजसोले यसलाई नौटंकीको भनिरहेका बेला पूर्वप्रधानमन्त्री भट्टराईले भने आफू नौटंकी गर्नकै लागि खेतमा नपुगेको दावी गर्नुभयो । उसो भए किन त? पूरा एकदिन पनि होइन, एकछिनका लागि धान रोपाइँमा जानुभएको छ? धान रोपाइँमा झण्डै डेढ घण्टा बिताएर निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको अनुगमनमा निस्किएका भट्टराईलाई टेलिफोन गरि हामीले शुरुमा यही जिज्ञासा राख्यौं ।  

धान दिवसको दिनमात्रै खेतमा पस्ने पसेका नेताहरुलाई धेरैजसोले नौटंकी गरेको भन्छन् ? तपाइँलाई त्यस्तो लाग्दैन ?

हो, जाे जो नौटंकी गर्नकै लागि त्यसो गर्छ, उसलाई त्यस्तो आरोप लाग्नु स्वाभाविक हो । म त किसानको छोरो, कृषि कर्ममा जोडिँदै अघि बढेको हो । मलाई चाहिँ आफूले त्यस्तो गरेजस्तो लाग्दैन । 

कति समयपछि खेतमा पस्नुभयो?

म गत साल पनि दरौंदी फाँटको जरेवर फाँटमा भएको रोपाइँमा आएको थिएँ । यो साल रोपाइँ भएको ठाऊँ मेरो पुख्र्यौली थलो पनि हो । म यही ठाऊँमा जन्मे हुर्केको हो । एकदम रमाइलो वातावरणमा धान दिवस मनाइयो ।

तर यो खाली रमाइलो र फोटो खिच्नकै लागि मात्रै भन्दा पनि हाम्रो देशमा कृषि जसरी अधोगतितिर गैरहेको, आम जनताको रोजगार र जीविकोपार्जनको क्षेत्र कृषिको विकास चाहिँ जसरी हुनुपर्ने हो त्यसरी नभैरहेकोले त्यसो भएको हुनाले म आफैँ पनि गाऊँलेहरुबीच सहभागी भएर कृषिको अवस्था बुझ्ने र परम्परागत खेती प्रणालीलाई कसरी आधुनिकीकरण गर्ने, गाउँमै कसरी रोजगारी सिर्जना गर्नेबारे बुझ्न र जनतालाई कृषिमा अभिप्रेरणा गर्ने मनसायले रोपाइँमा सहभागी भएको हुँ । 

 

पुर्ख्याैली थलोमा पुगेर धान रोपाइँमा सहभागी भैरहँदा बाल्यकालको धान रोपाइँको सम्झना आयो कि ? 

हो नि, पुराना दिनको सम्झना आयो, धेरै पुराना साथीहरुलाई खेतमै भेट्न पाइयो । गाऊँका बा आमाहरु भेटिनुभयो । ८०-९० वर्षका बा आमा पनि आउनुभयो । पहिले त म बढजसो गोठालोकै काम गर्थें, बा आमा रोपाइँ र अन्य खेतीपातीको काम गर्नुहुन्थ्यो । हामी पढ्ने लुईंटेल स्कुलमा हप्ताको दुई दिन शनिबार र आइतबार बिदा हुन्थ्यो । त्यसो भएको हुनाले बा आमालाई घरको अरु काम सघाएर उहाँहरुलाई पालो दिन काम नै बढी गर्थ्याैँ, कहिलेकाहीँ चाहिँ रोपाइँ र खेताला आदि काममा सहभागी हुन्थ्यौं ।

किसानका अभिमत बुझ्न र उहाँहरुलाई उत्प्रेरित गर्न रोपाइँ कार्यक्रममा पुगेको भन्नुभयो, धान रोपाइँ लगायतका सन्दर्भमा चाहिँ किसानका दुख के पाउनुभयो ? 

आज म जुन ठाउँमा पुगें, त्यहाँ दुईथरि कुरा देखियो । केहीले आधुनिक तवरमा व्यावसायिक र बहुआयामिक ढंगले खेतीपातिी गरेको पनि पाइन्छ । जहाँ रोपाइँ भयो, त्यहाँ चाहिँ अलि परम्परागत ढंगले धान रोपाइँ गरिएको देखियो । यसबाट मैले के अनुभूति गरें भने हामीले परम्परागत तरिकाले निर्वाहमूखी खेतीपाती गरेर मात्रै हुँदैन । जबसम्म कृषिलाई उत्पादनमूलक बनाउन सकिँदैन यसले मुनाफा र रोजगारी राम्रोसँग दिँदैन । विस्तारै यसलाई ब्यवसायिकरण गर्ने, आधुनिक ढंगले खेतीपाति गर्ने र वजारको सुनिश्चितता गर्ने खालको प्रणालीको विकास गर्नैपर्छ भन्ने मलाई अनुभुति भयो । 

यसपालीको धान दिवसको नारामा पनि कृषिको यान्त्रीकरणका कुरामा जोड दिएर चामलको आयातलाई न्यूनीकरण गर्ने भन्ने रहेछ, त्यसका लागि अरु के गर्नुपर्ला ?

कृषिको यान्त्रिकरण, आधुनिकीकरण र व्यवसायिकरण नगरेसम्म कृषि उत्पादनमूलक बन्न सक्दैन । कृषिको संसारभरिको नियम के भने कृषि, उद्योग र सेवा क्षेत्रको अर्थशास्त्रले के भन्छ भने उत्तिकै लगानी गर्दा पनि कृषिमा भन्दा उद्योग र सेवाक्षेत्रको उत्पादकत्व बढी हुन्छ । त्यसैले कृषिले कहिल्यै पनि उद्योग र सेवा क्षेत्रसँग कहिल्यै पनि प्रतिस्पर्धा गर्न सक्दैनँ ।

सानो परिमाणमा गर्ने उत्पादनले पनि ठूलो क्षेत्रको उत्पादनसँग प्रतिसपर्धा गर्न सक्दैन । त्यसैले कृषि क्षेत्रमा राज्यले जहिले पनि राज्यले समर्थन दिनुपर्छ । विकसित देशहरु युरोप र अमेरिकाले पनि कृषिमा अनुदान दिएर सहयोग गर्छन् ।

हाम्रो देशमा त्यो प्रकृतिको अभियान चल्न सकेको छैन । म प्रधानमन्त्री र अर्थमन्त्री रहँदा मैले कृषि क्षेत्रमा अनुदान दिने प्रक्रिया शुरु गरेको थिएँ, जबकि पहिलेको कांग्रेसको सरकारले वर्ल्ड बैंकको लहैलहैमा लागेर मल लगायतमा दिएको अनुदान बन्द गरेको थियो ।

म अर्थमन्त्री हुँदा त्यसलाई मैले सुरु गरें र पछि म प्रधानमन्त्री हुँदा कृषिमा कर्जा प्रवाह गर्दा सरकारले पाँच प्रतिशत अनुदान दिने प्रणाली पनि शुरु भएको थियो । तर त्यतिले मात्रै पुग्दैन । राज्यले कृषिमा अनुदान र सहुलियत दिनेमात्रै होइन, संरचनात्मक सुधार गर्ने दिशामा कदम चाल्नुपर्छ ।   
 
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया