म्याग्दीमा गोरुबिनै रोपाइँ गरेर मनाइयो राष्ट्रिय धान दिवस (फोटोफिचर)

 असार १५, २०७६ आइतबार २०:२३:२६ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – असार महिना भन्नेबित्तिकै हामी हलगोरु, हली–बाँउसे र रोपारहरु (खेताल्नी)लाई सम्झिन्छौँ । धेरै खेत हुनेले दुई तीन हलगोरु र खेतालाहरु बोलाएर खेत रोपाइँ गर्छन् । थोरै हुनेले पनि एक हलगोरुले जोतेरै भए पनि रोपाइँ गर्ने गरेका छन् । 

तर, म्याग्दीमा आइतबार राष्ट्रिय धान दिवसको दिन हलगोरुबिनै खेत रोपाइँ गरेर दिवस मनाइएको छ । खेत जोत्न भनेर गरामा पुगेका हली–बाउँसे र रोपाइँ महोत्सवका अतिथिहरुले गोरु नभेटेपछि एकैछिन् अलमल्ल परे । रोपाइँ महोत्सवको आयोजकले गोरुभन्दा पनि ट्याक्टरले खेत जोतेर धान रोप्ने तयारी पो गरेका रहेछन् । 

पछि ट्याक्टर भेट्टाएपछि कार्यक्रमका अतिथिले एकैछिन खेत जोत्न भ्याए । असार १५ को दिनलाई राष्ट्रिय धान दिवसका साथै दही–चिउरा खाने दिनका रुपमा पनि मान्ने गरिन्छ । यसै दिनलाई सरकारले राष्ट्रिय धान दिवसका रुपमा पनि मनाउने गरेको छ । असार महिना गाउँघरमा खासगरी ‘मानो खाएर मुरी उब्जाउने’ दिनका रुपमा चिनिन्छ । हरेक वर्ष असार १५ मा रोपाईं महोत्सव गरेर दिवस मनाइन्छ ।  

यस वर्षको नारा ‘धान खेतीमा प्रविधि र यान्त्रीकरण, चामल आयातमा न्यूनीकरण’ भन्ने तय गरिएको छ । राष्ट्रिय धान दिवस–२०७६ को दिन आइतबार कृषि ज्ञान केन्द्र म्याग्दी र महारानी कृषक समूहको संयुक्त आयोजनामा रोपाइँ महोत्सव आयोजना गरी दिवस मनाइयो । बेनी नगरपालिका–५, पुलाचौरमा रहेकाे कुँडुलेमा धान रोपाइँ कार्यक्रम आयोजना गरेर दिवस मनाइएको हो ।

एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दीको सबै ठाउँमा रोपाइँ महोत्सव आयोजना गरेर दिवस मनाइएको छ । 

कार्यक्रममा गण्डकी प्रदेशका सांसद विनोद केसी र पूर्व सभासद गोविन्द पौडेलले ट्याक्टरले खेत जोत्नुका साथै धान रोप्नुभएको थियो । धान दिवसको अवसरमा स्थानीय कृषकहरुले पञ्चेबाजाको धुनमा असारे गीत गाएका थिए । धान रोप्नुका साथै खेतमै कृषकहरुले नाचगान गरे । धान रोप्नका लागि खेतमा पुगेका कृषक र अतिथिहरुले एकापसमा हिलो छ्यापेर रमाइलो समेत गरेका थिए । 

पछिल्लो समय म्याग्दीका गाउँगाउँमा हलगोरु देखिन छाडेका छन् । अधिकांश कृषकहरुले गोरु पाल्न छाडेर मिनी टेलर हलो (ट्याक्टर)को प्रयोग गर्दै आइरहेका छन् । कृषकहरुमा प्रविधि र यान्त्रिकरणको प्रयोगमार्फत पहुँच बढाएर व्यावसायिक बनाउने उद्देश्यसहित रोपाईं महोत्सवमा समेत हलगोरु भन्दा ट्याक्टरको प्रयोग गरिएको महारानी कृषक समूहका सदस्य अमर बानियाँले बताउनुभयो । 

यसवर्ष समयमै पर्याप्त पानी नपरेका कारण हिमाली जिल्ला म्याग्दीमा मध्य असार बितिसक्दा पनि हालसम्म झण्डै १५ प्रतिशत मात्रै खेत रोपाईं भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लाको कृल खेतीयोग्य जमिनमध्ये ३ हजार ८ सय ९८ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया