दैलेखमा पेट्रोलियम पदार्थकाे अन्वेषण सुरु

 असार १६, २०७६ सोमबार २०:३३:१२ | अमर सुनार
unn.prixa.net

दैलेख – दैलेखमा सोमबारदेखि पेट्रोलियम पदार्थको अन्वेषण सुरु भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले सोमबार दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषणको शुभारम्भ गर्नु भएको हो । 

कार्यक्रममा मन्त्री यादवले नेपालका सम्भावना देखिएका १० ठाउँमध्ये प्राविधिक हिसाबले बढी आशावादी भएकाले दैलेखलाई केन्द्रित गरी पेट्रोलियम पदार्थ अन्वेषण थालिएको जानकारी दिनुभयो । 

अन्वेषण प्रक्रियाबारे खानी तथा भूगर्व विभागका महानिर्देशक सोमनाथ सापकोटाले भन्नुभयो, ‘पहिलो चरणको १० महिनामा गरिने अन्वेषणमा कति गहिराइमा पेट्रोलियम पदार्थ छ भन्ने पत्ता लाग्छ । दोश्रो १० महिनामा उत्खनन् गरेर कति निस्कन सक्छ ?  त्यो व्यापारिक रुपमा गर्न सकिन्छ वा सकिन्न भन्ने निक्र्यौैल गरेर सरकारलाई प्राविधिक प्रतिवेदन दिइन्छ ।’ 

तत्कालीन उद्योग मन्त्री सोमप्रसाद पाण्डेको पहलमा २०७३ वैशाखमा चिनियाँ सरकारी निकाय जियोलोजिकल डिपार्टमेण्टले गरेको २ महिना लामो अध्ययनपछि दैलेखमा सिलिण्डरमा भर्न मिल्ने मिथेन ग्यास भएको पुष्टि भएको थियो ।  

पहिलो चरणमा गरिने प्राविधिक अन्वेषण र त्यसपछि जमिनमुनि तेलको भण्डार क्षमता सम्भाव्यता र परीक्षण उत्खनन् समेत गरी ३ वर्षसम्म काम गर्न तान खुयान नेतृत्वको १५ सदस्यीय चिनियाँ टोलीले काम गर्ने बताइएको छ ।

अहिले निरन्तर बलिरहेको दैलेखको श्रीस्थान ज्वाला र नाभिस्थानको अलावा २०३४ को असारमा पहिरोले ज्वाला बल्न छोडेको पादुकास्थान समेतमा अन्वेषणको काम हुने प्राविधिक टोलीले जनाएको छ । 

सदरमुकाम दैलेख बजारबाट श्रीस्थान ११ किलोमिटर, नाभिस्थान १४ किलोमिटर दूरीमा रहेको छ । पादुकास्थान सदरमुकामबाट २७ किलोमिटर दूरीमा पर्दछ । 
अन्वेषण्का लागि जमिन ड्रिल गर्ने उपकरण पुर्‍याउन १२ पाँग्रे ट्रक जान सक्ने सडक आवश्यक पर्नेछ । तर अहिले त्यहाँ मिनी बस आवागमन गर्न सक्ने कच्ची सडक मात्र भएकोले सडकको स्तर सुधार्न चिनियाँ टोलीले आग्रह गरेको छ । 

सडक सुधार्न जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेमबहादुर थापाको आग्रहपछि यसका लागि अर्को वर्ष बजेट व्यवस्था गरिने कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले वचन दिनु भएको छ ।

नेपालमै निरन्तर प्राकृतिक रुपमा सदिऔंदेखि बल्दै आएको ज्वालालाई मन्दिरभित्र पुज्ने धार्मिक स्थलको रुपमा विकास हुँदै आएको श्रीस्थान र नाभिस्थान क्षेत्रमा धार्मिक आस्थालाई ठेस नपुर्‍याई पेट्रोलियम पदार्थ उत्खनन् गर्न यहाँका पुजारी, महन्त र स्थानीयहरुले आग्रह गरेका छन् ।   

अन्तिम अपडेट: चैत ४, २०८०

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया