किर्ते गरी बैंकमा ठगी गर्ने २६ जनाविरुद्ध कारबाहीको फैसला

 असार १७, २०७६ मंगलबार ८:२२:५९ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – कृषि विकास बैंक, ताप्लेजुङ शाखाबाट विभिन्न समयमा किर्ते कागजपत्र बनाइ ऋण लिने २६ जनालाई जिल्ला अदालत ताप्लेजुङले दोषी ठहर गरेको छ । 

जिल्ला अदालतले सरकारी कागजात कीर्ते बनाई बैंकबाट ऋण लिने तत्कालीन शाखा प्रमुख गणेश खतिवडा लगायत  २६ जनालाई दोषी ठहर गरेको हो । किर्ते कागज बनाइ जिल्लाका विभिन्न ठाउँका भिरपाखालाई प्लटिङ जग्गा देखाउँदै शाखाका प्रमुख खतिवडाको मिलेमतोमा कर्जा प्रवाह भएको पाइएको छ ।

तत्कालीन प्रमुख खतिवडालगायत यो मुद्दामा दोषी ठहर भएका २६ जनालाई  एक वर्ष कैद र ऋणको २५ प्रतिशत विगो तिर्नुपर्ने फैसला जिल्ला न्यायाधीश कृपासुर कार्कीको एकल इजलासले गरेको हो । 

जिल्ला न्यायाधीश कृपासुर कार्कीका अनुसार बैंकका तत्कालीन शाखा प्रमुख गणेश खतिवडा, लेखापाल हरिशंखर न्यौपाने, कर्मचारी भिमप्रसाद आचार्य र जग्गाधनी पद्माकुमारी नुगोलाई मुख्य दोषी ठहर गरिएको छ ।

अन्य सबैलाई एक वर्ष कैद र विगोको २५ प्रतिशत फैसला गरेको छ । अदालतले मुख्य दोषी ठहर गरेका प्रमुख खतिवडा, न्यौपाने, आचार्य र नुगोलाई भने प्रत्येकको २० प्रतिवादीको विगोको २५ प्रतिशत जरिवाना ठहर्ने फैसला गरेको न्यायाधीश कार्कीले बताउनुभयो । अन्य सबैलाई एक वर्ष कैद तोकेको छ ।

अदातलले ललितकुमारी गुरुङ र श्याम श्रेष्ठलाई १२ लाख विगोमा २५ प्रतिशत ठहर गरेको छ ।  यस्तै, प्रतिवादी यमुना शिवालाई १४ लाख २५ हजार, मनिषा सुब्बालाई ६ लाख, नारायणसिंह बोखिमलाई ९ लाख, बमबहादुर र दूर्गा लिम्बूलाई १३ लाख २५ हजार, तारादेवी बोगटीलाई १९ लाख ५० हजार, विनु थुलुङ लिम्बूलाई ८ लाखको २५ प्रतिशत विगो ठहर्ने फैसला गरेका छ ।

त्यस्तै सरिता लिम्बू र गौमती लिम्बूलाई १०—१० लाख, प्रमिला गुरुङलाई १५ लाख, मैया थापालाई १२ लाख, शान्ता काङवा, अनिता जोगी, राममाया बेघा, अरुण कार्की र सुनिता लिम्बूलाई ८—८ लाख र इन्दिरा खबासलाई २४ लाखको २५ प्रतिशत बिगो सजाय सुनाइएको छ ।

यसैगरी सुमित्रा लिम्बूलाई ६ लाख संगिता मादेनलाई ३० लाख, रमेशकुमार राईलाई १८ लाखको २५ प्रतिशत बिगोको सजाय सुनाएको श्रेस्तेदार केदार गौतमले बताउनुभयो । अदालतले कृषि विकास बैङ्कका सहायक ललित राई र लेखनदास सुरेन्द्र तबेबुङलाई भने सफाइ दिएको छ । मुद्धामा पदमकुमारी कर्जा प्रवाहमा मिलेमतो गरेर हिनामिना गराउने मुख्य आरोपी ठहर भएको छ । उनले कर्मचारीको मिलेमतोमा जग्गा किनेबेच गर्ने गराउने बहानामा कागजी रुपमा जग्गा बैंकमा राखेर ऋण हिनामिना गर्ने गराउने गरेकी थिइन् ।

उनीहरूले मालपोत कार्यालय ताप्लेजुङबाट रजिस्ट्रेसन पासपछि जग्गा कीर्ते गरेका थिए । मालपोतमा २५ हजार रुपैयाँमा रजिस्ट्रेसन गरेको जग्गा बैंकमा बुझाएको लिखत धनीपूर्जामा भने ५ लाख २५ हजारको बनाइएको थियो । ६ वटा जग्गामा अगाडि ५ थपेर ५ लाख २५ हजार बनाएर कीर्ते गरिएको ठहर भएको छ । त्यस्तै २० हजारमा लिखत पास गरेको जग्गामा अगाडि अंक थपेर १० लाख २० हजार बनाइएको पाइएको छ ।

शाखा प्रबन्धक खतिवडालाई १० लाखसम्मको ऋण स्वीकृत गर्ने अधिकार अनुसार यी सबै कारोबार तत्कालीन प्रबन्धक खतिवडाले गरेको बैंकले जनाएको छ । २०७२ असार २७ देखि २०७३ साल कात्तिक ३० गतेसम्म यसरी कारोबार भएको देखिएको थियो ।

फुङलिङ नगरपालिका–८ सहितका विभिन्न ठाउँमा भिरको जग्गालाई कागजमा प्लटिङ बनाइ जग्गा धरौटी राखेर कर्जा प्रवाह गरी बैंक ठगी प्रकरणमा तत्कालीन प्रबन्धक गणेश खतिवडासहित २६ जनाविरुद्ध ३८ वटा मुद्दा दायर गरिएको  थियो ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया