बालविवाह गराउने अभिभावकलाई जरिबाना

 असार १८, २०७६ बुधबार २०:२३:५६ | अमर सुनार
unn.prixa.net

दैलेख – पन्ध्र–पन्ध्र वर्षका बालक र बालिकालाई विवाह गराएको कसूरमा दैलेख जिल्ला अदालतले बुधबार दुइ जनालाई एक–एक हजार रुपैयाँ जरिबाना गरेको छ ।

जरिबाना तिराइनेमा केटाकी ठूली आमा नारायण नगरपालिका–८, ढकानेकी ३५ वर्षीया देबीकला नेपाली र दिदी १९ वर्षीया दुर्गा नेपाली रहेकाे बताइएकाे छ। 

जिल्ला न्यायाधीश सनतचन्द्र लवटको बाल इजलासले पीडित बालिकालाई पीडक पक्षले ३५ हजार रुपैंयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको अदालतका सूचना अधिकारी बिनोद आचार्यले जानकारी दिनुभयो । मुलुकी अपराध सहिंता २०७४ को दफा १७३ को उपदफा ३ बमोजिम बालविवाह गराइदिनेहरुलाई सजाय भएको हो । 

०७५ साउन १ गते ती बालबालिकालाई ५ दिन सँगै राखिदिएको भन्दै साउन ९ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा पीडित पक्षले उजुरी गरेको थियो । 
उजुरीका आधारमा अनुसन्धान गरी प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय मार्फत साउन ३१ गते दैलेख जिल्ला अदालतमा बालविवाह सम्बन्धी मुद्दा दर्ता गराएको थियो । त्यही दिन विवाह गराएको भनिएका अभिभावकलाई २ हजार धरौटी र बालबालिकाहरुलाई साधारण तारेकमा छाडिएको थियो ।

अभिभावको लहलहैमा बालविवाह गर्ने बालविवाह गर्न तयार भएको कसुरमा दुवै बालबालिकालाई २ महिना कैद तोकेर पनि आआफ्ना अभिभावकहरुलाई घरव्यवहारमा सहयोग गर्नुपर्ने सर्तमा अहिलेलाई सजाय स्थगन गरिएको छ ।

बालबालिकाले गरेको कसूरको प्रकृति र परिस्थितिलाई समेत हेरेर कानून अनुसार सजाय तोक्ने तर हाललाई कैद बस्नु नपर्ने गरी सजाय स्थगन गर्नसक्ने बालबालिकासम्बन्धी ऐन २०७५ को दफा ३६ को उपदफा (५)मा भएको व्यवस्था अनुसार बालविवाह गर्ने जोडीको सजाय स्थगन गरिएको अदालतले जानकारी दिएकाे छ । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया