एसएलआर र ६५ राउण्ड गोलीसहित विप्लव नेता संखुवासभाबाट पक्राउ

 असार १९, २०७६ बिहिबार १८:४२:४८ | सुमन तिमल्सिना
unn.prixa.net

प्रतिकात्माक तस्बिर

मोरङ – संखुवासभाको सिलिचोङ गाउँपालिका-१ऽ बाट हातहतियार र गोलीगठ्ठासहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ओखलढुंगा चिशंखुगढी गाउँपालिका-७ का नेत्रविक्रम चन्द नेतृत्वको नेकपा नेता निम दोर्जी तामाङ रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

तामाङसहितको टोलीले गएको असार १६ गते बिहान होयङ्ला भन्ने स्थानमा जिल्ला प्रहरी कार्यालय संखुसभाबाट गस्तीमा खटिएको प्रहरी टोलीलाई लक्षित गरी गोली चलाएको थियो ।

प्रहरीले आत्मरक्षाको लागि जवाफी फायर गर्दै खोज्ने क्रममा असार १७ गते तामाङलाई १ थान एसएलआर, ६५ राउण्ड गोली, १ थान म्यागजिन, १३ थान खोका तथा एलएमजी राइफलको २० राउण्ड गोलीसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले विस्फोटन गराउन प्रयोग गरिने रातो रंगको ३४ फिट लामो डेडकर्ड र मेमोरी कार्डसहितको मोवाइल पनि बरामद गरिएको जनाएको छ । पक्राउ परेको दुई दिनपछि बिहीबार उनलाई सार्वजनिक गरिएको हो । 

प्रहरीले उनको साथबाट स्लिपिङ ब्याग १ थान, पछाडि भिर्ने कालो रंगको झोला १ थान, कार्लमाक्स व्यक्तित्व र कृतित्व लेखेको किताब १ थान, खाली डायरी १ थान पनि बरामद गरिएको जनाएको छ ।

हतियारसहित पक्राउ परेका निम दोर्जी तामाङलाई जिल्ला प्रहरी कार्यालय संखुवासभामा राखेर अनुसन्धान भैरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।  

अन्तिम अपडेट: फागुन २९, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया