राजकुमारी हया, जसले दिएको पीडामा कविता लेखिरहेका छन् दुबईका शासक

 असार २०, २०७६ शुक्रबार १०:८:१६ | एजेन्सी
unn.prixa.net

‘अब मेरो साथमा रहन तिमिलाई कुनै अधिकार छैन, मलाई केही फरक पर्दैन तिमी मर या बाँच ।’
‘अब भन्न केही बाँकी रहेन । तिम्रो यो प्राणघातक मौनताले मलाई तनाव दिएको छ । ’

यी पंक्ति कुनै सायर वा कविले लेखेका होइनन् । यस पंक्तिका सिर्जनाकार हुन् दुबईका शासक शेख मोहम्मद अल मकतूम । जसकी श्रीमती राजकुमारी हया बिन्त अल हुसैन दुबई छोडेर लण्डन गएकी छिन् ।

संयुक्त अरब इमिरेट्सको शाही परिवारमा यस्तो हुनु आफैँमा अचम्म लाग्दो घटना हो । राजकुमारी अहिले सेन्ट्रल लण्डनको कुनै ठाउँमा बसेको बताइएको छ । राजकुमारी हया घोडसवारीमा भाग लिने गर्थिन् तर यो वर्ष भएको रोयल एस्कटमा उनी उपस्थित भइनन् ।

राजकुमारी हया आफ्नो ज्यानको खतरा महसुस गरिरहेको बीबीसी स्रोतले उल्लेख गरेको छ । यसको कारण उनी आफ्ना श्रीमानविरुद्ध कानुनी लडाईं लड्ने तयारीमा थिइन् ।

कुन देशकी हुन् राजकुमारी हया ?

राजकुमारी हयाको जन्म सन् १९७४ मे महिनामा भएको हो । उनका पिता जोर्डनका राजा हुसैन थिए । उनकी आमाको नाम आलिया अल–हुसैन हो । राजकुमारी हया तीन वर्षको हुँदा नै उनकी आमाको हेलिकप्टर दुर्घटनामा ज्यान गयो । 

राजकुमारी हयाले आफ्नो बाल्यकाल ब्रिटेनमा बिताएकी हुन् । उनले अक्सफोर्ड युनिभर्सिटीबाट राजनीति, दर्शन र अर्थशास्त्रको अध्ययन पूरा गरेकी छिन् । उनले पुराना केही अन्तर्वार्तामा आफू बाजलाई पाल्न र ठूला मेशिनको प्रयोगमा रुची राख्ने गरेको बताएकी छिन् । यसबाहेक उनले आफू जोर्डनमा ठूलो ट्रक चलाउने लाइसेन्स पाउने एकमात्र महिला भएको दाबी पनि गरेकी छिन् ।

घोडसवारीमा राजकुमारी हया

जब उनी २० वर्षकी भइन् तब उनले घोडसवारीलाई आफ्नो करियरको रुपमा छानेकी थिइन् । घोडसवारीमा राजकुमारी हयाले सन् २००० को ओलम्पिक खेलमा जोर्डनको प्रतिनिधित्व पनि गरेकी थिइन् । उनी उक्त ओलम्पिक खेलमा आफ्नो देशको ध्वाजावाहक पनि थिइन् ।

सन् २००४ को अप्रिल १० मा राजकुमारी हयाले दुबईका शासक र संयुक्त अबर इमिरेट्सका उपराष्ट्रपति एवं प्रधानमन्त्री शेख मोहम्मदसँग विवाह गरिन् । त्यतिबेला राजकुमारी ३० वर्षकी थिइन् । शेख मोहम्मद ५३ वर्षका थिए । राजकुमारी हया शेख मोहम्मदकी छैटौँ श्रीमती थिइन् । उनको विभिन्न श्रीमतीबाट २३ जना सन्तान भएको बताइने गरिएको छ ।

राजकुमारी जस्तै शेख मोहम्मद पनि घोडाको पारखी थिए । उनी गो–डोल्फिन नामको घोडाको तबेलाका मालिक पनि थिए । यी दुईको विवाह अम्मानमा भएको थियो ।

राजकुमारी हया शेख मोहम्मद को साथमा

विवाहपछि राजकुमारी हयाले थुप्रै पटक शेख मोहम्मदसँगको आफ्नो सम्बन्धबारे जानकारी दिँदै आफू अत्यधिक खुशी भएको बताएकी थिइन् । इमिरेट्स वुमेन म्यागजिनको २०१६ को अंकमा राजकुमारी हयाले शेख मोहम्मदबारे भनेकी थिइन्, ‘उनले जे गर्छन् त्यो अद्भूत हुन्छ । म हरेक दिन भगवानलाई धन्यवाद अर्पण गर्छु म उनको यति नजिक छु ।’

किन आयो सम्बन्धमा खटपट ?

गएको वर्ष शेख मोहम्मदकी जेठी छोरी शेखा लतिफा देशबाट भाग्ने कोसिस गरिन् । यहीँबाट राजकुमारी हया र शेख मोहम्मदबीचको सम्बन्धमा पनि खटपट सुरु हुन थाल्यो ।  एउटा भिडियोमा ३३ वर्षकी राजकुमारी शेखा लतिफाले उनको परिवारमा कसैलाई पनि स्वतन्त्रता नभएको र आफूलाई मनपर्ने कुरा गर्ने अधिकार नभएको बताइकी थिइन् । जुन भिडियो संसारभर फैलिएको थियो ।

त्यतिबेला शेखा लतिफा समुद्रको बाटो हुँदै संयुक्त अरब इमिरेट्सबाट भाग्न सफल भएको मिडिया रिपोर्टमा प्रकाशित भए । भाग्नमा उनलाई फ्रान्सेली एक नागरिकले सहयोग गरेको बताइएको थियो । भारतको समुद्री सीमा नजिकैको सेनाले उनलाई रोकेर पुनः दुबई पठाएका थिए । 

शेखा लतिफा

डिसेम्बरमा उनको आयरल्याण्डका पूर्व राष्ट्रपति मेरी रोबिनसनसँग बसिरहेको तस्बिर सार्वजनिक भयो । दुबईको प्रशासनले घर छोडेर भागेकी शेखा लतिफा अन्य देशमा उत्पीडनको शिकार हुने भन्दै दुबईमा नै सुरक्षित राखिएको बताएको थियो ।

यही घटनापछि र उनका श्रीमान र परिवारका सदस्यले उनीमाथि दवाब बढाउन थाले । अवस्था कस्तोसम्म भयो भने उनी आफूलाई दुबईमा असुरक्षित महशुस गर्न थालिन् ।

सम्बन्धविच्छेदको तयारी

शेख मोहम्मदले अहिलेसम्म राजकुमारी हयाले दुबई छोडेको कुनै आधिकारिक बयान दिएका छैनन् । उनले १० जूनमा इन्स्टाग्राममा एउटा धोकासम्बन्धी कविता लेखेका थिए ।

यतिमात्रे होइन शेख मोहम्मदको आफ्नो नामको एउटा वेब साइट छ जसमा उनी धेरैजसो कविता लेखिरहन्छन् ।

टाइम्स अफ लण्डनको एक रिपोर्ट अनुसार राजकुमारी हयासँग उनका ११ र सात वर्षका दुई सन्तान पनि भागेका छन् । यी बच्चाहरुको नाम शेख जायद र शेखा अल जलिला बताइएको छ ।

शाही परिवारको एक नजिकको स्रोतले बीबीसीलाई दिएको जानकारी अनुसार राजकुमारी हया ब्रिटेनमा राजनीतिक शरण लिने कोसिस गरिरहेकी छिन् । साथै उनी शेख मोहम्मदसँग सम्बन्धविच्छेद लिने तयारीमा पनि छिन् ।

अहिले शेख मोहम्मद लगातार कविता लेखिरहेका छन् । उनले केही समय अघिमात्रै लेखेका छन् :

‘मलाई एउटा पीडा भएको छ जुन कुनै औषधिले निको हुँदैन,
कसैबाट पनि यसको उपचार छैन ।’

– बीबीसी हिन्दीबाट

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया