प्रदेश ३ का मुख्यमन्त्री पौडेल र चीनकाे गान्सु प्रान्तका गभर्नर रेन्जियनबीच भेटवार्ता

 असार २०, २०७६ शुक्रबार १६:२३:२२ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल र चीनको गान्सु प्रान्तका गभर्नर ताङ रेन्जियनबीच भेटवार्ता भएको छ । 

गभर्नर रेन्जियनको निमन्त्रणमा पाँच दिने चीन भ्रमणका क्रममा गान्सु प्रान्त पुग्नु भएका मुख्यमन्त्री पौडेल र गभर्नरबीच बिहीबार साँझ दुई प्रदेशबीच विभिन्न विषयमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिएकाे छ । 

भेटवार्ताका क्रममा मुख्यमन्त्री पौडेलले चीनको विकासबाट नेपाल प्रभावित भएको भन्दै चीनका प्रविधिहरु नेपालमा पनि प्रयोग गर्न आग्रह गर्नुभयो । उहाँले चीन र नेपालबीच पनि धेरै समानता रहेकोले कृषि, पर्यटन, औद्योगिक विकासमा पनि नेपाललाई सँगै लैजान लगानी भित्र्याउन ३ नम्बर प्रदेश तयार रहेको धारणा राख्नुभयो । 

यसैगरी आधुनिक कृषि प्रणाली, औद्योगिक पार्कको विषयको छलफल पनि सकारात्मक रहेको मुख्यमन्त्रीका स्वकीय सचिव अनुप पौडेलले जानकारी दिनुभयो ।

प्रदेश ३ ले लिएको विद्युतीय सवारी प्राथमिकताको विषयमा पनि गान्सु प्रान्तले चासो देखाएको छ । चीनको गान्सुमा पनि ९० प्रतिशत सवारी साधन विद्युतीय नै रहेको बताउँदै गभर्नर रेन्जियनले नेपालको ३ नम्बर प्रदेशमा पनि १० वर्षभित्र लागू गर्न सकिने बताउनुभयो । 

छलफलका क्रममा गभर्नर रेन्जियाङले ३ नम्बर प्रदेशमा लगानीसहित आधुनिक कृषि प्रणालीमा सहयोग गर्ने र अन्य क्षेत्रमा पनि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको सचिव पौडेलले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया